वरिष्ठ नेता पौडेलद्वारा राहत रकम हस्तान्तरण | Education Patra

वरिष्ठ नेता पौडेलद्वारा राहत रकम हस्तान्तरण


दमौली, रासस:

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिराबाट आफन्त गुमाएका तनहुँको व्यास नगरपालिका–९ माझफाँटका केशर थापालाई शुक्रबार राहत रकम प्रदान गर्नुभएको छ ।

श्रीमती, छोरा र बुहारीको पहिराबाट निधन भएपछि व्यास नगरपालिकाले थापालाई राहत रकम उपलब्ध गराएको हो । उक्त रकम वरिष्ठ नेता पौडेलले शुक्रबार पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत थापालाई हस्तान्तरण गर्नुभयो ।

पहिरामा पुरिएर घाइते ५० वर्षीय थापा गण्डकी मेडिकल कलेजमा उपचाररत हुनुहुन्छ । पहिरामा पुरिएर थापाका श्रीमती ४० वर्षीया कमला थापा, छोरा २४ वर्षीय मनोज, बुहारी २१ वर्षीया अञ्जना थापाको मृत्यु भएको थियो ।

कान्छा छोरा २० वर्षीय राजेश अझै बेपत्ता छन् । पहिराबाट ज्यान गुमाएकाका तीन जना मृतकको जनही रु ५० हजारका दरले रु एक लाख ५० हजार र घाइतेको उपचारका लागि रु २५ हजार गरी कूल रु एक लाख ७५ हजार वरिष्ठ नेता पौडेलले अस्पतालमा पुगी हस्तान्तरण गर्नुभएको हो ।

सो क्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष सुरेश थापालगायत सहभागी हुनुहुन्थ्यो । नगरपालिकाले पहिराबाट ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक रु ५० हजार र घाइतेको उपचारका लागि रु ४० हजारसम्म उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोही क्रममा वरिष्ठ नेता पौडेलले पहिराले पुरिएर घाइते ऋषिङ गाउँपालिका–८ भैँसीकिलेकी ६० वर्षीया ज्योतिमाया थापालाई पनि भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्