तनहुँमा छ चितुवाको मृत्यु, आठको उद्धार | Education Patra

तनहुँमा छ चितुवाको मृत्यु, आठको उद्धार


तनहुँ, रासस :

डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष ०७६/७७ मा तनहुँका विभिन्न स्थानमा गरी एक बच्चासहित छ चितुवाको मृत्यु भएको जनाएको छ ।

सो अवधिमा आठ चितुवाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक चितुवा मृत फेला परेको तथा भानु नगरपालिकामा पाँच, बन्दिपुर नगरपालिकामा दुई र व्यास नगरपालिकामा एक गरी आठ चितुवाको उद्धार गरी मणिमुकुन्द सेन पार्क, चितवन राष्ट्रिय निकुञ्ज, पचभैया प्राणी उद्यानलगायतका स्थानमा पठाइएको छ ।

त्यसैगरी चार वटा रतुवा मृग र एक अजिङ्गरको जीवितै उद्धार गरि वनमा लगेर छाडिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । भिमाद नगरपालिकामा दुई, देवघाट र व्यासनगरपालिकामा एक÷एक रतुवा मृग तथा बन्दिपुरमा एक अजिङ्गर फेला परेकोले उद्धार गरी सुरक्षित स्थानमा छाडिएको कार्यालयका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणमा ६ को मृत्यु तनहुँका विभिन्न क्षेत्रमा चितुवाको आक्रमणमा परी छ बालबालिकाको मृत्यु भएको छ । सबैभन्दा धेरै भानु नगरपालिकामा तीन, आँबुखैरेनी, बन्दिपुर र शुक्लागण्डकीमा एक÷एक गरी छ जनाको मृत्यु भएको हो ।

चितुवाको आक्रमणमा परी एक पुरुष र एक महिला गरी दुई जना घाइते भएकोले उपचारपश्चात उनीहरु घर फर्किसकेका छन् ।

नेपाल सरकारले चितुवाबाट मृतकका परिवारलाई रु १० लाखका दरले र घाइतेलाई रु दुई लाखका दरले राहत वितरण गरेको वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।

चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिको संयुक्त प्रयासमा १६ वटा परम्परागत खोर निर्माण गरी पासो थापिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली ल्याएर उक्त पराम्परागत खोर निर्माण गरिएको हो । चितुवा संरक्षणले पर्यावरण सन्तुलन राख्न मद्दत पुग्ने हुँदा एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्नु मात्रै समस्याको समाधान नभएको बरालले जानकारी दिनुभयो ।

वनमा चितुवाका लागि आवश्यक आहार नभएपछि मानव बस्तीमा पसेर क्षति गर्ने गरेकोले चितुवाको आहार प्रजातिका खानेकुराको व्यवस्था गर्दै चितुवाको संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।

चितुवाबाट धेरै धनजनको क्षति भएको जिल्लाको भानु नगरपालिका क्षेत्रका ४२ हेक्टर जमीनमा ३६ वटा विन्दुमा सिसी क्यामेरा जडान गरी चितुवा गणना गर्ने कार्ययोजना रहेको उहाँले बताउनुभयो ।

५९ पशुधनको क्षति डिभिजन वन कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा चितुवा आक्रमणबाट ४८ वटा घटनामा ५९ पशुधनको क्षति भएको छ । भेडा/बाख्रा ३६, गाई आठ, सुगुँर/बँगुर छ र भैँसी दुईको क्षति भएको हो ।

पशु क्षतिमा परेका परिवारलाई रु दुई लाख १८ हजार ५०० राहत वितरण गरिएको प्रमुख बरालले जानकारी दिनुभयो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्