प्रदेश नं २ : लगातारको वर्षाले जताततै जलाम्य, पशुवस्तुको बिजोग | Education Patra

प्रदेश नं २ : लगातारको वर्षाले जताततै जलाम्य, पशुवस्तुको बिजोग


महोत्तरी, ६ साउन (रासस) :

असार सकिँदै गर्दाको वर्षापछि मौसम उघ्रँदा छाएको खुशी महोत्तरीमा धेरै टिक्न सकेन । गत असार २४ गतेदेखि २९ गतेसम्मको लगातारको वर्षापछि मौसम सफा हुँदा छाएको खुशी एक साता नबित्दै आइतबारदेखि लगातार मुसलधारे पानी परिरहँदा यहाँका सर्वसाधारण कटान र डुबानको चिन्ताले पिरोलिएका छन् ।

असार अन्तिम साता परेको पानी सुक्न नपाउँदै आइतबारदेखि फेरि पर्न थालेको मुसलधारे पानीले महोत्तरीका मध्य र दक्षिणी क्षेत्रका गाउँ/नगर बस्ती जलमग्न छन् । धानको रोपो नदेखिने गरी पानीले गह्रा टन्न भरिएपछि किसानलाई रोपो गल्ने पिरोलो बढेको छ । पानीको उपयुक्त निकास नहुँदा सडक बाटाघाटा हिलाम्मे छन् ।

आइतबार बिहानदेखि पर्न थालेको पानी नरोकिँदा सबभन्दा बढी सकस पशुवस्तु चरनमा परेको छ । चरनक्षेत्र पानीले डुबेको र लगातारको वर्षाले वैकल्पिक आहार जुटाउन नसकिँदा गाईवस्तु गोठमा कराइरहेका सुनेर बस्नुपरेको पशुपालक किसान भङ्गाहा नगरपालिका–४ का कृष्ण दाहालले बताउनुभयो ।

“असार अन्तिम साताको पानी चरन क्षेत्रमा नसुक्दै फेरि मुसलधारे वर्षा भएको छ”, दाहालले गोठका भैँसीतिर देखाउँदै भन्नुभयो, “तिनको आङ् तन्काउन पनि एकछिन फुकाएर बाहिर डुलाउन पानीले दिएन ।” झरीमा आपूm खोलेफाँडो खाएर गुजारा काटे पनि पशुवस्तुको बिजोगले मन कुँड्याएको दाहाल बताउनुहुन्छ ।

लगातारको झरीले लहरे तरकारी बालीका बेला पहेँलिने, चुँडिने र गल्ने गरेका छन् । लागेका फल पनि नहुर्कँदै झरेका हुँदा बालीबाट थप उत्पादनको आस मरेको बर्दिवास–२ बुद्धचोकका तरकारी किसान फौदसिंह स्याङ्वाले बताउनुभयो । तरकारी खेतीमा पानीले सबैभन्दा बढी क्षति परवलमा गरेको छ ।

थाङ्रा नलगाइने यो खेतीमा अहिले पानीले बेला (लहरा) र चिचिला पहेँलिएर सुक्ने गरेको किसानले बताएका छन् । लगातारको वर्षाले यहाँका नदीमा बाढी उर्लेको छ । यद्यपि खतराको तहसम्म नपुगेको हुँदा बाढीबाट भने अहिले ठूलो क्षति नभएको जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको भनाइ छ ।

“असार निगल्दोको वर्षासँगैको बाढीले केही सडक र बाँध ठाउँठाउँमा भत्काएको थियो, तिनको मर्मत गरिएको छ”, कटुवालले भन्नुभयो, “वर्षा बढ्न सक्ने र यहाँका नदीमा आउने बाढीले क्षति गर्नसक्ने सम्भावना छ, यसको पूर्वसतर्कता सबैतिर अपनाइँदै छ ।” नदी तटका बस्तीमा सूचना प्रवाह र पूर्वसतर्कताका लागि सुरक्षाकर्मी परिचालित गरिएको कटुवालको भनाइ छ ।

असार निगल्दोको वर्षादेखि नै यहाँका जलेश्वर–रामगोपालपुर–बर्दिवास, बर्दिवास–रौजा–जलेश्वर, सम्सी–मनरा–जलेश्वर र सम्सी–रामगोपालपुर–लोहारपट्टी–जनकपुरसहितका सडकमा यातायातका साना साधन (जिप, मोटरसाइकल, साइकल, टेम्पु) चल्न नसक्ने भएका छन् । हिलाम्मे सडकले पैदलयात्रा पनि यहाँ सकसपूर्ण बनेको छ ।

यी सबै सडकमा स्तरोन्नतिका कामका लागि ठेक्का बन्दोबस्त भए पनि ती कम्पनी कानमा तेल हालेर सुतेका सर्वसाधारणको खरो टिप्पणी बढेको छ । “काम ओगट्ने आम चलन बढेको छ, खै नियमनकारी निकायले हेर्छन कि हेर्दैनन् ?” जलेश्वर–रामगोपालपुर–बर्दिवास सडकमा पर्ने औरहीका बासिन्दा बाबुप्रेम यदुवंशीले भन्नुभयो, “ठेक्का बन्दोबस्त भएको वर्ष नाघ्दा पनि काम फिट्टो सरेको छैन ।” यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी कटुवालले आपूm भर्खरै जिल्लाको जिम्मेवारीमा आएको हुँदा यहाँका कामबारे विभिन्न सरकारी निकाय, राजनीतिक दल र स्थानीय तहसँग समन्वय गरिरहेको बताउनुभयो ।

“सम्बद्ध सडक डिभिजन कार्यालय र सडक निर्माणको काम पाएका निर्माण कम्पनीसँग निरन्तर संवादमा छु”, कटुवालले भन्नुभयो, “मौसम अनुकूल हुनासाथ काम बढ्छ ।” गजेन्द्र नारायण औद्योगिक क्षेत्र जलमग्न राजविराज– लगातार दुई–तीन दिनदेखि परेको मुसलधारे वर्षाका कारण सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र जलमग्न भएको छ । लगातारको वर्षाका कारण विभिन्न नदी हँुदै बगेर आएको पानीको बहाव औद्योगिक क्षेत्रमा पसेपछि डुबान भएर जलमग्न भएको स्थानीय गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।

सप्तरीको रुपनी गाउँपालिकास्थित बस्बिटीमा पर्ने सो औद्योगिक क्षेत्र वरिपरि पानीको निकास हुननसक्दा जलमग्न भएको हो । औद्योगिक क्षेत्र डुबान हँुदा त्यसभित्र रहेका उद्योगमा समेत पानी पस्दा लाखौँ मूल्य बराबरको क्षति भएको औद्योगिक क्षेत्रले जनाएको छ । सरकारी उपेक्षाको मार खेप्दै आएका औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्दै आएकामा लगातारको वर्षाका कारण डुबान हुँदा केही उद्योगमा पानीसमेत पसेको उद्योगी व्यवसायीहरुले बताएका छन् ।

औद्योगिक क्षेत्रभित्र मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इण्डस्ट्रिज, कान्तिपुर प्लाष्टिक उद्योग र कोशी पोलिमर्स उद्योगलगायत सञ्चालमा छन् । औद्योगिक क्षेत्रको पूर्व र दक्षिण छेउबाट बग्ने पानीको बहाव थुनिएर पानी निकास नभएका कारण औद्योगिक क्षेत्र जलमग्न भएको स्थानीयवासीको भनाइ छ । यस्तै लगातार तीन दिनदेखि भइरहेको वर्षाले सप्तरीको दक्षिणी र पश्चिमी भेगका तिलाठी कोइलाडी र बलानबिहुल गाउँपालिकाका विभिन्न वडा डुबानमा परेका छन् ।

भलुवाहीखोलामा आएको बाढीले निकास नपाउँदा राजविराज नगरपालिका वडा नं १, २, ५, ६, ७, ८, १० र १५ का करिब १५० घर डुबानमा परेको जनाइएको छ । वर्षाका कारण पूर्वपश्चिम लोकमार्ग नै डुबानको चपेटामा सर्लाही– आइतबार र सोमबार परेको मुसलधारे वर्षाले जिल्लाको पूर्वपश्चिम लोकमार्ग क्षेत्रमा समेत डुबानको समस्या देखिएको छ । सर्वसाधारणले आफूखुशी बनाएको घरलगायत संरचना तथा पछिल्लो केही वर्षयता टोलटोलमा निकासबिना केही उचाइका साथ सडक कालोपत्रको काम भएकाले उत्तरी क्षेत्रमा समेत डुबानको समस्या निम्तिएको हो ।

आइतबार दिउँसोदेखि नै परेको अविरल वर्षाका कारण पूर्वपश्चिम लोकमार्ग क्षेत्र डुबानमा परेको छ भने सवारी साधन बाढी तथा डुबानको चपेटामा परेका छन् । वर्षाले उत्तरी क्षेत्रका लालबन्दी, नवलपुर, हरिवन, नयाँरोड, वाग्मतीलगायत स्थानमा समेत कतिपय घरहरु डुबानमा परेको स्थानीयवासीले गुनासो गरेका छन् ।

कतिपय ठाउँमा कालोपत्र सडकसहित संरचनामा पानीले क्षति पु¥याएको छ । हरेक वर्षायाममा सदरमुकाम मलङ्गवासहित दक्षिणी क्षेत्रका बजार एवं गाउँ जलमग्न हुने तथा वर्षाको पानीबाट समस्या झेल्दै आइरहेको भए पनि पछिल्लो दुई वर्षयता उत्तरी क्षेत्रमा समेत डुबानको समस्या देखिएको हो । विसं २०५० को अविरल वर्षामा समेत जलमग्न नभएका उत्तरी क्षेत्रका बजार गाउँ अहिले केही समय पानी पर्दा पनि डुबानको चपेटामा परेका छन् ।

निकासबिनाको विकासले डुबानको समस्या बढेको सामाजिक अभियानकर्मी रजनिकान्त झाले बताउनुभयो । “नाला, ह्युमपाइप, कल्भर्टजस्ता निकास नै नदिएर सडकको उचाइ बढाउँदै कालोपत्र गर्ने क्रम बढिरहेको छ, घरहरु जताततै निर्माण भएकाले पनि समस्या सिर्जना भएको छ”, झाले भन्नुभयो । आइतबार र सोमबारको अविरल वर्षाका कारण पूर्वपश्चिम लोकमार्गका केही लच्काहरुमा बाढी आउँदा सवारी साधन आवतजावतमा समेत समस्या भएको ट्राफिक प्रहरीले बताएको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्