कमरेड पुष्पलालप्रति हार्दिक श्रद्धाञ्जली ! | Education Patra

कमरेड पुष्पलालप्रति हार्दिक श्रद्धाञ्जली !


बन्ने कम्निस्ट र भन्ने कम्निस्ट

भागवत खनाल, पूर्वसहसचिवः नेपाल सरकार

दुई कक्षामा पढ्दाको कुरा हो । चार कक्षामा पढ्ने हरि दाइ ( पल्लाटोला हरिप्रसाद आचार्य , हाल दिवङ्गत ) ले मलाई “यता आउ त” भन्दै एकान्तमा लैजानुभयो । केही खानेकुरा होला भन्ने ठानेर पछि लागियो । उहाँले हात्तिमार कापीको पाना च्यातेर के के लेख्नुभयो । मैले केही नबुझे तापनी त्यो कागजले मलाई कम्युनिस्ट पार्टीको सदस्य बनायो । कागजको अन्तिममा “मासिक चन्दा रु दुई” उल्लेख भएको सम्झना छ । सायद हरि दाइले केही बुझ्नु भएको थियो कि !
हुर्कदै जांदा भूमिगत सङ्गठनमा आवद्ध कम्युनिस्टको सांकेतिक पत्रवाहक पनि बनियो ( बुझेर हैन , जा यो दिएर आ भनेको मानेको मात्र ) । कलेजमा राजनीतिशास्त्र मुख्य विषय छनौट गरिएछ ( अरुले फर्म भरिदिएको ) । सर्वप्रथम प्लेटोको साम्यवाद पढ्दा बडो आनन्द लाग्यो । प्लेटो भन्छन – समाजविकासको वाधा अज्ञान , निजी सम्पत्ति र निजी परिवार हो । उनी भन्छन – अज्ञान शिक्षाले मेटिन्छ । अभिभावक ( राजा , शासक ) र संरक्षक ( सेना) लाई निजी सम्पत्ति र परिवार राख्न दिइयो भने उनीहरु लोभी र स्वार्थी हुन्छन । उनले आदर्श राज्य र दार्शनिक राजाको कल्पना गरेका छन ।
कलेज जीवनको समयमा बुझेको – कम्युनिस्टहरुका अरु सबै कुरा राम्रा , तर साह्रै उत्तेजना , असहमतहरुप्रति असहनशीलता , आपसमै पोलापोल र लान्छना एवं गालीगलोजको अभ्यास देख्दा मलाई असहज महसुस भयो । त्यो असहजता अहिले पनि छ ।
आधुनिक साम्यवादका प्रणेता कार्लमार्क्स हुन । मार्क्स मानव इतिहासका अद्भुत व्यक्ति हुन । अहिले “मार्क्सवाद” भन्ने कतिले उनलाई पढेका होलान ? ज्ञात इतिहासमा समाजलाई जति जोडले मार्क्सले हल्लाएर छाडे अरु कसैले सकेको छैन । मार्क्सकै कारण बाठो पश्चिम युरोपले शोषण र उत्पीडनको बाटो छाडेर समयमै सामाजिक न्याय र समानताको बाटो समातिहाल्यो । मार्क्सले अड्कल गरेका देशमा क्रान्ति भएन ।
पुष्पलालले २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना गरे (उनी शहीद गङ्गालालका माइला भाइ हुन ) ।
नेपालमा आजको पचास पचपन्न वर्ष अघि “कम्युनिस्ट” एक रोमान्चक चिज भएर प्रादुर्भाव भयो । त्यही प्रवाहमा हालका प्रम केपी ओली लगायतको उदय भयो । मोहन चन्द्र , आरके , ओलीहरुले लामो र कठोर कारावास भोग्नुपर्यो ।
पुष्पलाल निक्खुर कम्युनिस्ट थिए । तर उनको कम्युनिस्ट जीवन प्रायः आरोप र लान्छना पाएरै बित्यो । धेरैका लागि “गद्दार” भए तापनि उनी एकलव्य कम्युनिस्ट थिए । उनी “भन्ने” मात्र नभई “बन्ने” कम्युनिस्ट थिए । आफूले अङ्गीकार गरेको सिद्धान्तप्रति उनको निष्ठा अटल थियो ।
अहिले कम्युनिस्टको बलियो सरकार छ । उदारवादी , लोकतान्त्रिक र समाजवादउन्मुख संविधानमा सहीछाप गरेर सत्तामा आएको व्यवहारवादी कम्युनिस्ट सरकारसङ्ग धेरैको भरोसा थियो (अहिले अलि कम भएको छ ) । समस्या उहाँहरु आफैभित्र छ । उहाँहरुले बाटो भेट्टाउन सक्नु भएको छैन । यो मार्गविहीनता अहिले सत्ता र शक्तिको तानातानमा सीमित भएको छ । बन्ने कम्युनिस्ट नभई भन्ने कम्युनिस्टको बिगबिगीलाई भरथेग गर्ने हैसियतमा कोही छैन ।
नेपालमा अझै पनि कम्युनिस्टको उपादेयता छ । तर अहिलेका कम्युनिस्टहरुले गैर कम्युनिस्ट पार्टीहरुलाई पनि सजिलो पारिदिए । “ए हेर है ! कम्युनिस्टहरु इमानजमानका पक्का हुन्छन , हामी पनि जनताको पक्षमा इमान्दारीसाथ खट्नुपर्छ” भन्नुपर्ने झन्झट छैन । अब त नाम र चुनाव चिन्हको ब्राण्ड मात्र बाँकी हुने हो कि भन्ने डर पो छ ।
जे होस सामाजिक न्याय र समानताको जगमा खडा भएको पार्टी आफ्नो जग थाम्न सफल भयो भने मात्र कमरेड पुष्पलालप्रति सच्चा सम्मान गरेको ठहरिने छ ।
" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्