भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र बाढीमा परी ज्यान जाने व्यक्तिको संख्या ९६ पुगेको छ ।
यहाँ शुक्रबार थप तीन जनाको ज्यान गएपछि बाढीबाट यहाँका कम्तीमा पनि ९६ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस राज्यमा गएको हप्तादिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको थियो । अहिले पनि वर्षाको क्रम जारी नै छ ।
त्यस बाढीमा परी यस राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् । आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार यहाँ शुक्रबार बिहानसम्म ९३ जनाको ज्यान गएको र शुक्रबार राति थप तीन जनाको शव भेटिएको बताएको हो । यहाँका २७ लाख मानिस नराम्ररी प्रभावित भएका पनि सो विभागले जनाएको छ ।
उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ । तीमध्ये चार हजार भन्दा बढी मानिस घरबारबिहीन नै भएका छन् । आसाममा चार सयभन्दा बढी शिविर बनाएर विस्थापित भएका मानिसहरुलाई राखिएको बताइएको छ । रासस/एएनआई