एजेन्सी । बार्सिलोनाका लागि यस सिजनको अन्त्य अझै भएको छैन । च्याम्पियन्स लिगको राउन्ड अफ १६ को दोस्रो लेग खेल्न बाँकी रहेको क्याटलान टोलीले अर्को सिजनको लागि खेलाडी तयारी भने सुरु गरिसकेको छ ।
बार्सिलोनाले इन्टर मिलानका फरवार्ड लौटारो मार्टिनेजलाई अनुबन्ध गर्ने आफ्नो मुख्य योजनाका रुपमा अगाडि सारेको छ । तर त्यसका लागि बार्सिलोनाले आवश्यक रकम जोहो गर्न आफ्नो टोलीमा हाल रहेका खेलाडी बेच्नुपर्ने हुन्छ । क्लबको योजनामा नरहेका धेरै खेलाडीले अर्को सिजन अन्यत्र जानुपर्ने छ ।
हाल क्लबमा भएका खेलाडी मात्र नभएर अन्य क्लबबाट लोनमा खेलिरहेका खेलाडी पनि बेच्न बार्सिलोनाले तयारी गरिरहेको छ । बार्सिलोनाले हाल बेच्न तयारी गरेका खेलाडीबाट मात्र छुट्टै टिम समेत निर्माण गर्न सकिनेछ । बार्सिलोनाले आफ्नो योजनामा रहेका खेलाडी अनुबन्ध गर्न खेलाडी साटफेर सहितको प्रस्ताव पनि अगाडी सार्न सक्नेछ ।
ब्राजिलियन गोलरक्षक नेटो अर्को सिजन क्लबको जर्सीमा नदेखिने सम्भावना छ । यस्तै डिफेन्डर नेल्सन सेमेडो, स्यामुएल उम्टिटी र जुनिअर फिर्पोसँगै लोनमा साल्केबाट खेलिरहेका जान-क्लेर टोबिडो पनि विक्री सुचिमा रहेका छन् । भेट्रान मिडफिल्डरद्वय इभान राकिटिच र आर्टुरो भिडालसँगै कार्लेस अलेना र राफिन्हा अलकान्त्रापनि क्लब छाड्ने सम्भावना छ ।
फरवार्ड मार्टिन ब्रेथवेट र ओस्मान डेम्बेले पनि क्लबको योजनामा रहेका छैनन् । हाल लोनमा बायर्नबाट खेलिरहेका फिलिपे कोउटिन्हो पनि क्लबमै रहने सम्भावना कम छ । ब्राजिलियन मिडफिल्डरलाई अनुबन्ध गर्न प्रिमियर लिगका ठूला क्लबहरुले पनि चासो देखाइरहेका छन् ।