एजेन्सी । रियल म्याड्रिडले स्पेनिस ला लिगा उपाधि जित्दा उच्च प्रदर्शन गरेका कारण फ्रान्सेली फरवार्ड करीम बेन्जेमाको विषयले फ्रान्सेली पत्रिकामा स्थान पाएको छ ।
रियलले उपाधि जित्दा टोलीका सर्वाधिक गोलकर्ता रहेका बेन्जेमाले गोल मात्र गरेनन्, आक्रमणमा समन्वयकारी भूमिका पनि खेलेका थिए । उनी ला लिगाको उत्कृष्ट खेलाडीको दाबेदार पनि थिए । विगत ५ वर्षयता बेन्जेमा अनुशासन कारवाहीका कारण राष्ट्रिय टोलीमा छैनन् । तर उनको उच्च प्रदर्शनसँगै संचारमध्यममा उनी टोलीमा फर्कने हो की भन्ने विषयले स्थान पाएको छ ।
धेरैले फ्रान्सेली फुटबल टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्पस ब्यालोन डी’ओर र युरो स्थगित हुँदा आलोचनाबाट जोगिएको बताएका छन् । रियलबाट उनले गरेको प्रदर्शनका कारण पाँच वर्षयता बेन्जेमालाई टोलीमा बोलाउनु पर्ने अवस्था बनेको थियो । सन् २०१८ मा फ्रान्सेले विश्वकप उपाधि जितेको थियो । तर , त्यतिबेला बेन्जेमा टोलीको सदस्य बन्न पाएका थिएनन् ।
बालोन डि ओरका एक मुख्य दाबेदार विना फ्रान्सेली टोलीले युरोपियन च्यम्पियनसिप टोलीको घोषणा गर्न कठीन थियो । अझै पनि उनलाई टोलीमा नसमेट्ने हो भने विवाद बढ्ने सम्भावना छ । २०१५ को अक्टुबर यता बेन्जेमा फ्रान्सेली टोलीको सदस्य छैनन् ।
फ्रान्सेली जनताले समय समयमा बेन्जेमालाई टोलीमा समेट्नु पर्ने विषयलाई उठाउँदै आएका छन् । कतिपय सञ्चारमाध्यमले पनि उनको प्रदर्शनको चर्चा गर्दै टोलीमा बलाउनुपर्ने तर्क गरेका छन् । तर पनि फ्रान्सेली टोलीमा उनको भविष्यको फैसला भने प्रशिक्षकले नै गर्नुपर्ने हुन्छ ।
यति लामो समय भइसक्दा पनि बेन्जेमालाई माफी दिने वा मौका दिने विषयमा किन सोचिएको छैन भन्नेमा बेला बेला प्रश्न उठ्ने गरेको छ । बेन्जेमा त्यतिबेला राष्ट्रिय टोलीका सदस्य रहेका माथिएउ भालबुएनाको व्यक्तिगत भिडियो सार्वजनिक गरेको आरोपमा कारवाहीमा परेका थिए ।