एजेन्सी ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पुर्व खेलाडी मराउने फेलाइनीले ८ मिनेटको अन्तरमा हेडरबाटै ह्याट्रिक पूरा गरेपछि सान्दोङ लुनिङले चाइनिज सुपर लिग (सिएसएल) मा रोमाञ्चक जित निकालेको छ ।
सान्दोङ लुनिङले घरेलु टोली डालियन प्रोफेसनल एफसीमाथि ३–२ को रोमाञ्चक जित हात पारेको हो । ७९औं मिनेटसम्म १–० ले पछि परेको अवस्थामा बेल्जियमका पुर्व मिडफिल्डर फेलाइनीले दोस्रो हाफको अन्त्यतिर ह्याट्रिक पुरा गरेपछि खेल सान्दोङले आफ्नो पक्षमा पार्न सफल भएको हो ।
५७औं मिनेटमा जोसे सलोमोन रोन्डनको गोलबाट खेलमा पछि परेको सान्दोङले ७९औं मिनेटमा फेलाइनीको गोलबाट खेलमा फर्किएको थियो । ८३औं मिनेटमा फेलाइनीले व्यक्तिगत दोस्रो गोल गरेपछि सान्दोङले खेलमा २–१ को अग्रता लिन सफल भयो । ८६औं मिनेटमा फेलाइनीले ह्याट्रिक पुरा गरे ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मार्कुस ड्यानिल्सेनले गोल गरेपनि घरेलु टोलीको हार टार्न सकेन । फेलाइनी ११ वर्ष प्रिमियर लिगमा खेल्दै २०१९ फेब्रुअरीमा सान्दोङ लुनिङ पुगेका थिए । उनलाई २०२० को शुरुवातमा कोरोना पोजेटिभ देखिएको थियो ।