काठमाडौँ — चिकित्सक तथा नागरिक अभियन्ता डा. गोविन्द केसीले तीन करोड नेपालीले रगत र पसिना बगाएर ल्याएको संविधानको हत्या गर्ने अधिकार कसैलाई नभएको बताएका छन् ।
तस्बिर : केशव थापा/कान्तिपुर
प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार काठमाडौंमा आयोजित ‘अहिंसात्मक नागरिक प्रदर्शन’ लाई सम्बोधन गर्दै डा. केसीले संविधानको हत्या गर्ने ‘तानाशाह’लाई सडकमा कसरी ल्याउनुपर्छ भन्ने कुरा नेपाली जनतालाई राम्रोसँग थाहा भएको बताए । ‘संविधानको हत्या गर्ने ती तानाशाहलाई सडकमा कसरी ल्याउनुपर्छ भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ,’ उनले भने ।
जनताकै करबाट तलबभत्ता खाए पनि अधिकांश पार्टीका नेताहरुले जनपक्षीय काम नगरेको डा. केसीको आरोप थियो । ‘जनताले आफ्नो छाक काटेर तिरेको करबाट तलबभत्ता खाने तर उनीहरु जनताका पक्षमा ऐनकानुन बनाउँदैनन्,’ उनले भने ।
त्यस्तै प्रधानमन्त्री ओलीले एकपछि अर्कोगरी नागरिक अधिकार खोस्ने काम गरेको पनि केसीले बताए । ‘नागरिक अधिकारहरु एकपछि अर्कोगरी ओली सरकारले खोसे । पहिले राजाले नागरिकको अधिकार खोसेका थिए । अहिले ओलीले खोसे,’ केसीले भने ।
कोरोना महामारीबाट निम्तिएका समस्यालाई सम्बोधन गर्नुपर्ने बेलामा पार्टीको आन्तरिक विवादका कारण ओलीले प्रतिनिधिसभा नै विघटन गरी असंवैधानिक कदम चालेको पनि केसीले बताए ।
‘कोरोनाको प्रभावले ज्यालामजदुरी गर्नेहरु भोकै बस्ने अवस्था छ । यस्तो बेलामा त कोरोनाको प्रभावबाट कसरी मुक्ति पाउने भन्ने विषयमा छलफल हुनुपर्ने हो ।अनावश्यक चुनाव अर्बौं खर्चेर चुनाव गर्नुभन्दा गाउँगाउँमा अस्पताल खोल्न सकिन्थ्यो । कोरोनाले भोकै परेका मजदुरहरुलाई हेर्न सकिन्थ्यो नि । जनता मरुन् बाँचुन् केही मतलब छैन । उनले असंवैधानिक कदम त चाले नै राज्यकोषको पनि दुरुपयोग गर्ने काम गरे,’ केसीले भने ।
डा. केसीले संविधानको रक्षा गर्नु जनताको कर्तव्य भएको उल्लेख गर्दै भने, ‘न्यायालय पनि जनताप्रति उत्तरदायी हुनुपर्छ । जनताप्रति ओली पनि जवाफदेही हुनुपर्छ । असंवैधानिक कदम फिर्ता लेउ, यदि फिर्ता लिँदैनौँ भने तिमी प्रधानमन्त्री त के सामान्य जनता हुन पनि योग्य छैनौँ ।’