म्यानमारमा भएको सैन्य ‘कू’को विश्वभर निन्दा | Education Patra

म्यानमारमा भएको सैन्य ‘कू’को विश्वभर निन्दा


जनादेश नेपाल, काठमाण्डौ । म्यानमारमा सेनाले गरेको ‘कू’ को विश्वभर निन्दा भएको छ । संयुक्त राष्ट्र संघ, अमेरिका, भारत लगायतका लोकतान्त्रिक मुलुकहरूले सेनालाई कदम सच्याउन आग्रह गरिरहेका छन् ।

प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई हिरासतमा लिई गरिएको ‘कू’को विरोध गर्दै अमेरिकाले निर्वाचनको नतिजामा असर पार्ने र प्रजातान्त्रिक परिवर्तनमा अवरोध सिर्जना गर्ने किसिमका जुनसुकै कार्यको विरोध गर्ने बताएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सबै सरकारी अधिकारीहरूको तत्काल रिहाइको माग गर्दै भनेका छन् ‘अमेरिका बर्माका नागरिकहरुको प्रजातन्त्र, स्वतन्त्रता, शान्ति र विकासको चाहनाको पक्षमा छ । सेनाले तत्काल आफ्नो कदम सच्याउनुपर्छ ।’

त्यस्तै, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले पनि म्यानमारमा भएको सैन्य ‘कू’प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनको प्रवक्ताले जारी गरेको विज्ञप्तिमा गुटेरसले सबै पक्षलाई प्रजातान्त्रिक मूल्यमान्यताको पालना गर्न आग्रह गरेका छन् ।

उनले गत निर्वाचनमा भएको नतिजा स्वीकार गर्न र निर्वाचनको विषयमा देखिएको विवादलाई स्थापित प्रणालीबाट सुधार गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघ म्यानमारका नागरिक र सरकारको शान्ति, दीर्घकालीन विकास, मानवीय कदम, मानव अधिकार र कानुन राजको प्राप्तिको पक्षमा रहेको उक्त विज्ञप्तिमा उल्लेख छ ।

अष्ट्रेलियाकी विदेशमन्त्री मेराइस पेनले म्यानमारको सेनालाई कानुनी राजको सम्मान गर्न आग्रह गरेकी छन् । उनले कानुनी प्रक्रियाबाट विवादको निरुपण गर्दै तत्काल मुलुकका नेताहरूको रिहाइको माग गरेकी छिन् । साथै, उनले नेताहरुलाई पक्राउ गर्ने सेनाको कदम गैरकानुनी रहेको बताएकी छिन् ।

भारतले पनि म्यानमारको घटनामा गम्भीर ध्यानाकर्षण भएको भन्दै कानुन र प्रजातान्त्रिक मान्यताको सम्मान गरिनुपर्ने बताएको छ । भारतीय विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले गम्भीर ध्यानाकर्षणका साथमा म्यानमारमा विकसित घटनालाई नियालिरहेका छौं ।’

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्