जनादेश नेपाल, काठमाण्डौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाले संबैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संबैधानिक परिषदले गरेको सिफारिस फिर्ता पठाएकोमा गम्भीर आपत्ति जनाएका छन् ।
सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष तिमिल्सिनाले सभामुखको अधिकारक्षेत्र र पत्रमा प्रयोग भएको व्यहोराप्रति आपत्ति जनाएका छन् । संघीय संसद अन्तरगत दुई सदन रहेको र दुवै सदनका पदाधिकारीको हैसियत बराबर रहेकाले प्रतिनिधिसभाका सभामुखले मात्रै एकल ढंगले निर्णय गर्न नमिल्ने उनको तर्क थियो । उनले सभामुखको एकल निर्णयले संघीय संसदको अर्को सदन राष्ट्रियसभाको गरिमामा प्रहार भएको बताए ।
उनले भने– ‘संघीय संसद तथा सो अन्तर्गतका समितिको व्यवस्थापन, सञ्चालन समेतको व्यवस्था गर्ने अधिकार प्रतिनिधिसभाका सभामुखमा निहित भएको भन्ने व्यहोराले दुई सदनात्मक संघीय व्यवस्थापिका सम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, माथिल्लो सदन राष्ट्रियसभाको भूमिका र गरिमामा प्रहार भएको छ ।’