जुम्लाको मार्सी चामल खाद्य कम्पनीमा ‘नेपाल फुड’ ब्राण्डबाट बिक्री | Education Patra

जुम्लाको मार्सी चामल खाद्य कम्पनीमा ‘नेपाल फुड’ ब्राण्डबाट बिक्री


जनादेश नेपाल, काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको मार्सी धानको चामललाई ब्रान्डिङ गरेको छ । कम्पनीले मार्सी चामललाई ‘नेपाल फुड’ ब्राण्ड गरी बिहीबारदेखि काठमाडौंमा बिक्री वितरण सुरु गरिसकेको छ । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २ सय ७० क्वीन्टल खरिद गरेर काठमाडौं उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्रीवितरण सुरु गरेको हो ।

मार्सी चामल तीन दिन अर्थात् आइतबारसम्म २ सय ६८ किलो बिक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए । उनकाअनुसार बिहीबार ९३ किलो, शुक्रबार १ सय ४४ किलो र आइतबार १ सय ३१ किलो चामल बिक्री भएको छ । उनले कम्पनीले यसअघि बिक्रीवितरण गर्दै आएको अन्य चामल जस्तै मार्सीको चामल बिक्री हुने अपेक्षा गरिएको बताए । खाद्य कम्पनीका काठमाडौं उपत्यकाका पाँच बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा सो चामल राखिएको छ ।

यसैगरी बन्दाबन्दीका समयबाट सुरु गरिएको अनलाइनमा समेत उक्त चामल राखिएको कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकिलो मार्सी चामल रु २ सय २५ मा बिक्री गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको कार्यक्रमभित्र रहेको जुम्लाको मार्सी धान खरीदको प्रक्रिया सुरु गरेको छ । धान खरिद प्राथमिक समितिले जुम्लाको मार्सी धान खरिद गर्न प्रतिकिलो रु १ सय २ र पैसा ५० तथा चामल प्रतिकिलो रु १ सय ६२ र पैसा ५० निर्धारण गरेको छ ।

धानको मूल्य निर्धारणका लागि कम्पनीले प्रत्येक वर्ष सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीका संयोजकत्वमा कृषिज्ञान केन्द्र, स्थानीय कृषक समन्वय समितिका प्रतिनिधिलगायतको समिति बनाएको छ । कम्पनीले हाल रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल, कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो र रहरको दाल बिक्री काउन्टर तथा अनलाइनमार्फत बिक्रीवितरण गर्दै आएको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्