जनादेश नेपाल, काडमाण्डौ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ ।
सो क्रममा चिनियाँ विदेशमन्त्री वाङले नेपाललाई ५ लाख डोज कोरोना भ्याक्सिन नेपाललाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार टेलिफोन कुराकानीका क्रममा कोरोना भ्याक्सिन उपलब्ध गराउन चीनले नेपाललाई प्राथमिकतामा राखेको पनि विदेशी मन्त्री वाङले बताएका थिए ।
जबाफमा मन्त्री ज्ञवालीले चिनियाँ सरकारलाई धन्यवाद दिँदै वैश्विक माहामारी नियन्त्रणमा चीनले देखाएको चासो र सक्रियताको सरहाना गरेका थिए ।
सो क्रममा नेपाल र चीनबीच दुई पक्षीय चासोका विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
यसअघि चिनियाँ दूतावासले नेपाललाई अनुदानमा ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेकोमा विदेश मन्त्रीले ५ लाख दिने घोषणा गरेका हुन् ।
यसअघि नै भारतले नेपाललाई १० लाख खोप अनुदानमा दिएको थियो भने सो खोप अहिले स्वास्थ्यकर्मी लगायतलाई लगाउने क्रम जारी रहेको छ ।
यसैबीच कोभ्याक्स अन्तर्गतको २० लाख बढी डोज खोप समेत फागुन पहिलो साता नेपाल आइपुग्ने बताइएको छ ।