मेलबर्न। डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले बुधबार अस्ट्रेलियन ओपनमा कठिन जित निकालेका छन् । सर्बियाली खेलाडीले अमेरिाका फ्रान्सेस टिफोएले प्रस्तुत गरेको कडा चुनौतीलाई ६–३, ६–७ (३/७), ७–६ (७/२) र ६–३ ले पन्छाए र तेस्रो चरण पुगे । खेलपछि जोकोभिचले निकै कडा संघर्षपछि मात्र जित प्राप्त भएको स्वीकारे ।
तर २३ पल्टका ग्रान्ड स्लाम विजेता सेरेना विलियम्सले अस्ट्रेलियन ओपनमा आफ्नो यात्रा बुधबार पनि कायम राखिन् र अगाडि बढिन् । पुरुषतर्फ यूएस ओपन च्याम्पियन डोमिनिक थिएमले पनि तेस्रो चरणको यात्रा तय गरे र यसमा पनि उनको जित सजिलो रह्यो । अमेरिकी ३९ वर्षीया खेलाडी सेरेनाले तेस्रो चरणमा प्रवेशका लागि निता स्टोजानोभिचलाई ६–३ र ६–० ले हराइन् ।
उनकी दिदी भेनस विलियम्स भने त्यति धेरै भाग्यमानी रहिनन् र इटालीकी क्वालिफायर सारा इरानीसँग सिधा सेटमा ६–१ र ६–० ले पराजित भइन् । यस्तै अभाग्यशाली खेलाडीमा पेट्रा केभिटोभा पनि रहिन् । उनी तीन सेट चलेको खेलमा पराजित भइन् । दुई पल्टका ग्रान्ड स्लाम विजेतालाई सोरोना क्रिस्टियाले ६–४, १–६ र ६–१ ले पराजित गरिन् ।
पुरुषतर्फ पनि तीन पल्टका ग्रान्ड स्लाम विजेता स्टान वावरिन्का पनि प्रतियोगिताको दोस्रो चरणबाट बाहिरिएकी छिन् । गत वर्ष क्वाटरफाइनलसम्मको यात्रा तय गरेका ३५ वर्षीय स्विस खेलाडी वावरिन्का मार्टिन फुस्कोभिचसँग ७–५, ६–१, ४–६, २–६ र ७–६ (११/९) ले पराजित भएका हुन् । यस्तै तेस्रो वरीयताका थिएमले जर्मनीका डोमिनिक कोफरलाई ६–४, ६–० र ६–२ ले पराजित गरे । एजेन्सी