काठमाडौँ । गलत क्रियाकलापमाथि जंगी अड्डा कडा रूपमा प्रस्तुत हुँदा उच्च सैनिक अधिकारीहरू धमाधम कारबाहीमा परिरहेका छन् । वैशाखयता मात्रै विभिन्न अभियोगमा ४७ जना उच्च सैनिक अधिकृत (अवकाशप्राप्त समेत गरी) माथि कारबाही भएको छ । यति धेरै संख्यामा उच्च सैनिक अधिकृत कारबाहीमा परेको यो पहिलोपटक हो ।
यही अवधिमा अनियमितता गरेबापत अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठले बिगो भर्नुपरेको छ भने सहायक रथीहरू सुरेन्द्रसिंह रावल चेन अफ कमान्ड नमान्दा, प्रयोगजंग राणा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा र पंकज कार्की यौन दुव्र्यवहारको अभियोगमा बर्खास्त भए ।
सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले सेनामा पद्धति र प्रणालीलाई स्थापित गर्ने प्रक्रियामा दण्ड र पुरस्कार उपकरण रहेको बताए । ‘केही विषयमा सेनामा अन्य स्थानमा जस्तै शून्य सहनशीलता छ भने अन्य विषयमा हामीले सैनिक ऐनअनुसार अनुशासन, आचरण र अनियमितता गर्नेलाई कारबाही गर्छौं,’ उनले भने । उनका अनुसार साना विषयमा विभागीय कारबाही गरिन्छ भने ठूला र संवेदनशील घटनालाई सैनिक अदालतले निचोडमा पुर्याउँछ ।
साढे दुई वर्षअघि प्रधानसेनापति भएलगत्तै पूर्णचन्द्र थापाले भ्रष्टाचार नियन्त्रण गर्ने भन्दै अनुगमन सेल खडा गरेका थिए । प्रधानसेनापतिको सिधै मातहतमा रहने उक्त सेलले सैनिक संगठनका कुनै पनि विभाग, वाहिनी, पृतना, गणलगायत कार्यालयमा गएर सिधै छड्के गर्न सक्छ । यसै सिलसिलामा जेठ १६ गते सैनिक अदालतले सैनिक हवाई महानिर्देशनालयका
पूर्वमहानिर्देशक उपरथी (अवकाशप्राप्त) सुधीर श्रेष्ठले आर्थिक अनियमितता गरेको ठहर गरेको थियो । समरी जनरल सैनिक अदालतले सैनिक हवाई महानिर्देशनालयमा महानिर्देशक रहेका बेला श्रेष्ठले कानुनअनुसारको प्रक्रिया र दायित्व पूरा नगरी अनियमितता गरेको फैसला गरेको थियो । सैनिक ऐनबमोजिम श्रेष्ठसँग ५८ लाख ९५ हजार ५ सय ९० असुलउपर गर्ने र नसिहत दिने निर्णय समरी जनरल सैनिक अदालतले गरेको हो । श्रेष्ठ आर्थिक अनियमिततामा सैनिक समरी अदालतबाट कारबाही हुने सबैभन्दा माथिल्लो वरीयताका सैनिक अधिकृत हुन् । यसअघि सेनामा साना र तल्लो तहका सैनिक मात्र कारबाहीमा पर्ने गरेका थिए ।
पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा ‘सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरसमेत गरेको’ अभियोगमा सैनिक ऐन, २०६३ बमोजिम उनीहरूलाई दोषी ठहर गरिएको हो । सहायक रथी राणाले अनियमितता गरेको १ करोड ५२ लाख २७ हजार ३ सय २१ रुपैयाँ र महासेनानी सिलवालले १५ लाख ७९ हजार ४ सय ८० रुपैयाँ सेनाको खातामा दाखिला गर्नुपर्ने फैसला थियो ।
राणा र सिलवालले दुई वर्षअघि वीरेन्द्र शान्ति तालिम केन्द्र (संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानुअघि प्रशिक्षण गर्ने स्थान) काभ्रेको पाँचखालमा अनियमितता गरेको आरोप लागेको थियो । त्यस बेला महासेनानी रहेका राणा तालिम केन्द्रका प्रमुख थिए भने सिलवाल उनको मातहतमा काम गर्थे ।
यस्तै, फागुन २७ गते संगठनभित्रकै महिला सैनिक अधिकृतलाई यौन दुव्र्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर वाहिनी सिरहाका वाहिनीपति पंकज कार्कीलाई सैनिक अदालतले जागिरबाट बर्खास्त गरिदियो । उनीसँगै महिला अधिकृत पनि बर्खास्तीमा परिन् ।
सेनाले जेठ ९ गते महासेनानी भूपालमान अधिकारीसहित तीन सैनिक अधिकृत र अन्य दर्जाका दुई सैनिकले भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा अनियमितता गरेको ठहर गरेको थियो । जसमा महासेनानी अधिकारीसँग बिगो रकम एक करोड ८५ लाख ४० हजार १ सय ८ रुपैयाँ ११ पैसा असुलउपर गर्ने निर्णय भएको थियो । सैनिक अदालतले गत पुस २६ गते संयुक्त राष्ट्रसंघअन्तर्गत कंगोको शान्ति मिसनमा आन्तरिक कुटपिट घटनामा संलग्न नौ जनालाई कारबाही गर्यो । ‘संगठनलाई ठीक दिशामा अघि बढाउनका लागि दण्ड, सजाय र सम्मान हुने गरेको छ,’ सैनिक प्रवक्ता पौडेलले भने । कान्तिपुरबाट साभार