जनादेश नेपाल, काठमाण्डौ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुनेगरी कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनु पर्ने बताएकी छिन् ।
सोमबार ‘खाद्यका लागि कृषि अभियान’ले गरेको ‘कृषि विकासका समसामयिक सवालहरु’ छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठूलो लगानी जरुरी भएकोले देशका किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्र्याउनुपर्ने बताएकी हुन् । कृषिको विकासका लागि आवश्यक लगानी सरकारको सामर्थ्य नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।
किसानलाई निरुत्साहित नगर्ने गरी विदेशी लगानी भित्र्याउनुपर्ने भन्दै मन्त्री अर्यालले भनिन्, ‘हामीलाई नोक्सान हुने क्षेत्रमा होइन । हाम्रा किसानहरुलाई निरुत्साहित बनाउनेगरी होइन । हाम्रा किसानहरु, व्यवसायीहरुलाई पनि उत्साहित बनाउने अनि हामीलाई नोक्सान हुने क्षेत्रमा पनि नदिने । हामीलाई नोक्सान नहुने, हाम्रा व्यवसायी किसानहरुलाई पनि प्रोत्साहित गरिरहन पाइने, संरक्षण गर्न पनि पाइने, हामीले लगानी गर्न नसकेका यावत् क्षेत्रहरु छन् । तस् क्षेत्रमा हामीले कृषि लगानी गर्ने र हाम्रो कृषि क्षेत्रको विकास गर्ने ।’
मन्त्री अर्यालले कोभिड–१९ का कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई हजारौँको संख्यामा रोजगारी सिजर्ना सिर्जना गर्ने पनि बताइन् । उनले भनिन्, ‘कोभिड–१९ का कारणले वैदेशिक रोजगारीबाट विस्थापित भएर स्वदेश फर्केका युवाहरु हजारौँ युवाहरुलाई रोजगारीको कार्यक्रम लिएर अगाडि बढेका छौँ । फार्मको रुपमा, ठूला ठूला फार्महरु व्यवसायिक हिसाबले लैजानेगरी हजारौँ जना युवाहरुलाई हामी रोजगारी दिनेगरी, उहाँहरुको पनि लगानी राज्यको पनि लगानी गर्नेगरी अगाडि बढेका छौँ ।’