दलित सशक्तीकरणसम्बन्धी विधेयकमाथि छलफल | Education Patra

दलित सशक्तीकरणसम्बन्धी विधेयकमाथि छलफल


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका सदस्यले कानून बनाएर मात्र छुवाछूत, विभेद हट्न नसक्ने भन्दै व्यवहारमा पनि छुवाछूत हटाउनेतर्फ सबैको पहल हुनुपर्ने बताउनुभएको छ ।

प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ विधेयक माथि भएको छलफलमा भाग लिने सदस्यले दलितमाथि छुवाछूत र विभेद गर्ने, राज्यका निकायहरुमा दलितको अस्तित्व अस्वीकार गरी अपमान गर्नेजस्ता सोच र व्यवहार अझै हट्न नसक्दा सुदूरपश्चिम प्रदेश बदनाम भइरहेको बताउनुभयो ।

उहाँहरुले प्रदेशमा व्याप्त छुवाछूत र विभेदको समस्या समाधानका लागि दलित सशक्तीकरणसम्बन्धी विद्येयक ल्याएर प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।

छलफलमा प्रदेशसभा सदस्य शान्ति नेपाली, देवराज पाठक, बलदेव रेग्मी, दुर्गाकुमारी कामी, टेकबहादुर रैका र देवकी मल्लले भाग लिनुभएको थियो ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै छुवाछूत र जातीय विभेदका विरुद्ध कानूनअनुसार दण्डसजायको व्यवस्था गर्नका लागि यो विधेयक ल्याइएको स्पष्ट पार्नुभयो । उहाँले ‘दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’लाई सामाजिक समितिका दफावार छलफल गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । रासस

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्