जनादेश नेपाल, काठमाण्डौ ।
विश्वभर कोरोना संक्रमित भएर निको हुनेको संख्या १० करोड नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार विश्वभार १२ करोड ४३ लाख २७ हजार संक्रमित भएकोमा ८० प्रतिसत बढी अर्थात १० करोड ३ लाख १० हजार बढी संक्रमणमुक्त भएका हुन् । संक्रमणबाट २७ लाख ३६ हजार बढीको ज्यान गइसकेको छ । १ सय ३४ मुलुकमा कोरोनाविरुद्ध खोप कार्यक्रम भइरहँदा पछिल्लो समयमा संक्रमण पुनः बढ्न थालेको छ । संक्रमण फेरी बढेपछि संक्रमणको नयाँ लहरको चिन्ता ब्यक्त गरिएको छ ।
भारत, पाकिस्तान, ब्राजिल, युरोपेली मुलुकमा संक्रमणको नयाँ लहर देखिएको छ । भारतको मुम्बईमा अन्य राज्यको तुलनामा तिब्र रुपले संक्रमण फैलिरहेको छ । महाराष्ट्र, पञ्जाब, तमिलनाडु, मध्यप्रदेशमा संक्रमण बढ्दो छ । संक्रमण फैलावट नियन्त्रण गर्न आंशिक लकडाउन र रात्रिकालिन कफ्र्यु जारी गरिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४० हजार ७ सय १५ संक्रमित थपिएका छन् भने १ सय ९९ जनाको ज्यान गएको छ ।
संक्रमणबाट भारतमा १ लाख ६० हजार भन्दा बढीको ज्यान गइसकेको छ । भारत संक्रमणको हिसाबले विश्वमा तेश्रो र मृतक संख्यामा चौथो स्थानमा छ । कोरोना संक्रमणबाट अमेरिकामा सवैभन्दा धेरै ५ लाख ५५ हजार ९ सय, ब्राजिलमा २ लाख ९५ हजार ६ सय, मेक्सिकोमा १ लाख ९८ हजार, बेलायतमा १ लाख २५ हजार, इटलीमा १ लाख ५ हजार र फ्रान्समा ९२ हजार ६ सय बढीको ज्यान गइसकेको छ ।
यसैबीच अहिलेसम्म १ सय ३४ मुलुकमा ४५ करोड ८० लाख बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । सवैभन्दा धेरै अमेरिकामा १२ करोड ६५ लाख बढी खोप बितरण भइसकेको छ । यद्यपी इजरायलमा जनसंख्याको ५७ प्रतिसतले खोप पाइसकेका छन् ।