जनादेश नेपाल, काठमाण्डौ ।
कोरोना संक्रमणको जोखिम बढेसँगै लुम्बिनी प्रदेश सरकारले सर्वसाधारणलाई न्यूनतम स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । संघीय सरकारले जारी गरेको निर्देशिका पालनामा जोड दिँदै नाकाबाट भइरहेको आउजाउमा कडाइ गरिने भएको छ ।
भीड हुने कार्यक्रमलाई निरुत्साहित गर्ने पनि प्रदेश सरकारले जनाएको छ । यसका लागि जिल्ला प्रशासन र स्थानीय सरकारसित रोकथाम तयारीबारे छलफल गरिने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए ।
‘अहिले मिडियामार्फत सचेतना फैलाइरहेका छौं,’ उनले भने, ‘छिट्टै पालिकासँग बैठक बस्ने, पुन: क्वारेन्टाइन सञ्चालन तयारी थाल्न आग्रह गर्नेबारे सल्लाह भइरहेको छ ।’ कोरोना रोकथामका लागि गठित कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग छलफल गरेर आगामी रणनीति तय गरिने उनले बताए । पहिलेको तुलनामा सचेत र व्यवस्थित तरिकाले कोरोनाको सामना गर्ने गरी अध्ययन र काम भइरहेको उनको भनाइ छ । ‘नागरिकलाई जतिसुकै आग्रह गर्दा पनि मास्क लगाउन आनाकानी गरिरहेकाले संक्रमण विस्तार नहोला भन्न सकिन्न,’ उनले भने ।
रूपन्देहीको मुख्य बेलहिया–सुनौली नाकामा पर्यटक आवागमन बन्द गरिए पनि विभिन्न प्रयोजनमा सीमा वारपार गर्नेको संख्या दैनिक बढिरहेको छ ।
सीमामा हुने खुला आगमनले भारतमा तीव्र फैलिरहेको कोरोना संक्रमण सहजै मुलुक प्रवेश गर्ने भएकाले नाकामा हेल्थ डेस्क राखेर ज्वरो नाप्ने काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । ‘ज्वरो आएको खण्डमा एन्टिजेन्ट जाँचमार्फत मलेरिया वा अन्य कारण हो भनी पत्ता लगाउने सुविधा सुरु गरिसकेका छौं,’ उनले भने, ‘मुलुकबाहिरदेखि आउने नागरिकलाई स्वास्थ्य अवस्था ठीक भए पनि कम्तीमा १० दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान प्रत्येक पालिकामा लागू गरेका छौं ।’
जिल्लामा रहेका सबै अस्पताललाई उपकरणसहित तयारी अवस्थामा रहन र प्रशासनको भूमिकाका विषयमा छलफलबाट तय भएअनुसार काम भइरहेको घिमिरेले बताए ।