रुकुम ।
जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट हेर्ने उद्देश्यले उनीहरू गत चैत १ गते विद्यालय गएनन् । स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ र १५ वर्षीया छात्रा परिवारलाई खबरै नगरी घरबाट निस्किएका थिए ।
सदरमुकाम पुग्नै लाग्दा दुवैलाई लिन मोटरसाइल आयो । उनीहरूलाई रुकुमकोट त पुर्याइयो तर सदरमुकाम घुम्ने, कमलदह अवलोकन गर्ने उनीहरूको योजना पूरा भएन ।
घुम्न निस्किएका उनीहरूलाई बन्धक बनाइयो । भूमे गाउँपालिकाबाट निस्किएका उनीहरूलाई लिन आधा बाटो पुगेका युवामाथि बन्धक बनाएको आरोप छ ।
पीडितका अनुसार २३ वर्षीय युवाले आफू बस्दै आएको जिल्ला अस्पतालको पुरानो भवनमा नौ दिनसम्म बालिकालाई बन्धक बनाएर निरन्तर करणी गरेको आरोप पीडितले लगाएका छन् । उक्त घटनामा अर्का एक १४ वर्षीय बालक पनि संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।
घुम्ने र घुम्नका लागि सहयोग गर्ने भनेर बालिकालाई बोलाएर ती युवाले अर्का बालकको सहयोगमा बन्धक बनाई करणी गरेको प्रहरीको दाबी छ । उनीहरूलाई बिहानै दिसापिसाबका लागि बाहिर लैजाने र फेरि भित्र लिएर थुन्ने गरेको बताइएको छ । हल्ला गरे, चिच्याए, कराएपछि मार्ने धम्की दिएर बन्धक बनाएको प्रहरीले बताएको छ ।
९ दिनसम्म दुई–दुई बालिकालाई बन्धक बनाइएको कुरा नजिकै रहेका आफूहरूले चाल नपाएको अस्पतालका कर्मचारीले बताए ।