– शर्मिला पाठक, काठमाडौँं ।
काठमाडौँ महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप कामपा शिक्षा विभागले कार्यान्वयनको तयारी थालेको हो ।
कोरोना भाइरसका कारण यस वर्ष आगामी जेठसम्म शैक्षिक सत्र सञ्चालन हुनेछ । कार्यान्वयनका लागि कामपाले अहिले विद्यालयमा स्थानीय पाठ्यपुस्तक पठाइसकेको छ भने शिक्षक पनि पठाउन थालेको छ । निजी विद्यालयका शिक्षकलाई पनि कामपाले उक्त पाठ्यसामग्री पठनपाठन गर्न सक्ने तालिम सञ्चालन गरिरहेको कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
“यस वर्षका लागि शैक्षिक सत्रको समय साढे दुई महिना मात्र बाँकी छ । यस समयमा जे–जति सकिन्छ पठनपाठन कार्य शुरु गर्ने हो”, प्रमुख सुवेदीले भन्नुभयो । यसका लागि पाठ्यक्रम सबै विद्यालयमा पुगिसकेको भन्दै उहाँले पाठ्यपुस्तक पनि तत्काल पठाइने जानकारी दिनुभयो । गत फागुन २८ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र कामपा प्रमुख विद्यासुन्दर शाक्यले सयुक्तरूपमा ‘येँ देय् म्हसीके’ (काठमाडौँ चिनौँ) नामक स्थानीय पाठ्यपुस्तक विमोचन गरिसक्नुभएको छ ।
नेपालको संविधानको भाग ३ मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफूमातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक विषय अध्ययन÷अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौँ महानगरपालिकाले सोही व्यवस्थाअन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो
।
कामपा प्रमुख शाक्यले काठमाडौँ नेवारहरुको बाहुल्य रहेको ठाउँ भएको र यहाँ ७७ वटै जिल्लाका नागरिक बसोबास गर्ने भएकाले सबैलाई यहाँको हावापानी, संस्कृति, परम्पराबारे जानकारी दिने उद्देश्यले यस किसिमको पाठ्यक्रम तयार गरिएको जानकारी दिनुभएको छ ।
पाठ्यक्रम लेखनमा शुरुदेखि सहभागी हुँदै आउनुभएका वरिष्ठ संस्कृतिविद् डा चुन्दा बज्राचार्यले पाठ्यपुस्तकमा काठमाडौँ महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, व्यक्ति आदिसम्बन्धी पाठ मात्र समावेश गरिएको बताउनुहुन्छ ।
त्यसैगरी नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । “बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठनपाठन गरिने छ । कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठनपाठन हुनेछ”, कामपा शिक्षा विभागका प्रमुख सुवेदीले भन्नुभयो, “कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत ५० सैद्धान्तिक पठनपाठन हुने व्यवस्था गरिएको छ ।” यस भाषा पठनपाठन गर्नका लागि कामपाले आफूमातहत रहेका सामुदायिक विद्यालयमा १७२ नयाँ शिक्षक नियुक्ति गर्ने छ ।
यसरी राखिने शिक्षकहरु सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहने छ । यही शैक्षिक सत्रदेखि अनिवार्यरूपमा लागू गर्न लागिएको यो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक÷एक वा विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीन जनासम्म शिक्षक राख्ने कामपाको तयारी छ । सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरेको भए पनि हाल सामुदायिक विद्यालयका लागि मात्रै अनिवार्यरूपमा लागू गरिने भएकाले शिक्षक पनि सोहीअनुरुप राखिने छ ।
कामपामा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरिएको हो । अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ । कामपाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । कामपाका सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन् । रासस