चालू आर्थिक वर्षको आठ महिनामा सवा २६ अर्बका मोबाइल आयात | Education Patra

चालू आर्थिक वर्षको आठ महिनामा सवा २६ अर्बका मोबाइल आयात


जनादेश नेपाल, काठमाण्डौ ।

चालू आर्थिक वर्षको पहिलो आठ महिनामा सवा २६ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुन महिनासम्म २६ अर्ब ३० करोड ५४ लाख हजार रुपैयाँबराबरका झन्डै ५० लाख थान मोबाइल फोन भित्रिएका हुन् । कोरोना भाइरसको असरले स्कुल–कलेज बन्द भई अनलाइनमार्फत कक्षा सञ्चालन हुन थालेपछि मोबाइलको माग बढ्दै गएको हो ।

लकडाउनले गर्दा मोबाइलको प्रयोग बढ्दै गएकाले पनि आयात झन्डै दोब्बर भएको हो । आठ महिनाको अवधिमा सबैभन्दा धेरै चीनबाट १६ अर्ब ४२ करोड रुपैयाँबराबरका ४१ लाख २२ हजार सेट मोबाइल आयात भएको छ । यस्तै, भारतबाट आठ अर्ब ६० करोड रुपैयाँबराबरका ६ लाख ४९ हजार सेट आयात भएका छन् ।

भियतनामबाट पनि एक अर्ब पाँच करोड रुपैयाँको मोबाइल फोन आयात भएको छ । बेलायत, अमेरिका, यूएई, कतार, बहराइन, जापान, कोरियालगायत देशबाट पनि मोबाइल आयात भएको तथ्यांक छ ।

गत आर्थिक वर्षको पहिलो आठ महिनामा १४ अर्ब ३७ करोड रुपैयाँबराबरका झण्डै ३८ हजार थान मोबाइल सेट आयात भएको थियो । यो आर्थिक वर्षमा झण्डै दोब्बरले बढेर २६ अर्ब ३० करोड रुपैयाँको मोबाइल फोन सेट आयात भएको हो ।
यस्तै आठ महिनामै राउटर खरिदका लागि नेपालबाट झण्डै डेढ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागका अनुसार पाँच लाख आठ हजार थान राउटर खरिदका लागि एक अर्ब ३३ करोड ७० लाख रुपैयाँ बाहिरिएको हो ।

यस्तै आठ महिनामा ७३ हजार पाँच सय थान स्मार्टवाच नेपाल आयात भएको छ । यसको मूल्य १३ करोड १० लाख रुपैयाँ छ । कोरोना भाइरसका कारण देशव्यापी लकडाउन भएपछि अनलाइन क्लास र अनलाइन क्रियाकलाप बढेपछि नेपालमा मोबाइल आयात बढेको व्यवसायीको भनाइ छ ।

यसैबीच, आठ महिनाको अवधिमा ३९ अर्ब ७५ करोड १९ लाख ५३ हजार रुपैयाँबराबरको विद्युतीय उपकरण आयात भएको छ । अघिल्लो वर्षको तुलनामा यो परिमाण २७ प्रतिशत बढी हो । अघिल्लो वर्षको सो अवधिमा ४३ अर्ब ९१ करोड ४५ लाख ६ हजार रुपैयाँको आयात भएको थियो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्