मनशाय पत्र लिएका मेडिकल कलेजलाई सम्बन्धन दिन माग | Education Patra

मनशाय पत्र लिएका मेडिकल कलेजलाई सम्बन्धन दिन माग


जनादेश नेपाल, काठमाण्डौ ।

“स्वदेशमा नै डाक्टर पढ्न पाउनुको छुट्टै आनन्द हुन्छ । समयसमयमा घर परिवारसँग भेटघाट हुन्छ । फेल हुुने सम्भावना हुन्न । विदेशमा डाक्टर पढ्न गएका कतिपय विद्यार्थी ‘होमसिक’ भएर घर फर्किने गर्दछन् । यसैले ‘एक प्रदेश, एक मेडिकल कलेज’ स्थापना हुनुपर्छ ।

मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा अस्पताल जस्ता मापदण्ड पूरा गरेका कलेजलाई सरकारले सम्बन्धन दिनुपर्छ । यस्ता कलेजले सम्बन्धन पाउनुपर्छ पनि ।”

त्रिभूवन विश्वविद्यालय, चिकित्सा विज्ञान अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा एमबिबिएस तहको अन्तिम वर्षको अध्ययन पूरा गर्न लाग्नुभएका विनय पगेनीले भन्नुभयो । विद्यार्थी नेतासमेत रहनुभएका उहाँले भन्नुभयो,“मेडिकल शिक्षामा नीजि लगानी आउने वित्तिकै मेडिकल शिक्षा बिग्रिने होइन । राज्यले अनुगमन गर्नुपर्छ । अब सम्बन्धनको विषय सडकबाट होइन, नीतिबाट हुनुपर्छ । मनशायपत्र लिइ मेडिकल कलेज सञ्चलानार्थ आवश्यक मापदण्ड तथा पूर्वाधार पूरा गरिसकेका काठमाडौँ बाहिरका कलेजलाई सम्बन्धन दिन अब ढिलाइ गरिनुहुन्न ।”

यहाँ आयोजित ‘चिकित्सा शिक्षासम्बन्धी संवाद कार्यक्रम’मा सहभागी सो क्याम्पसमा एबिबिएस तहमा अध्ययनरत छात्रले भूगोल, जनसङ्ख्या र आवश्यकताका आधारमा मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिन सरकारसँग माग गर्नुभयो । उहाँहरुले जनसङ्ख्या र बिरामी अनुपातमा चिकित्सक उत्पादनका लागि मेडिकल कलेजको अझै आवश्यकता भएकामा जोड दिँदै सम्बन्धन दिँदा गुणस्तर र शुल्कको स्पष्ट व्यवस्था गर्न सुझावसमेत दिनुभयो ।

सरकारले तय गरेका शुल्कमा डाक्टर पढाउँछु, भन्ने कलेजलाई सम्बन्धन दिन सरकारलाई किन आपत्ति प¥यो ? सोही क्याम्पसमा अध्ययनरत छात्र विशाल सिग्देलले प्रश्न गर्दै भन्नुभयो, “एकातर्फ स्वदेशका मेडिकल कलेजले सम्बन्धन नपाउने, अर्काेतर्फ डाक्टर पढ्न विदेश जानुपर्ने । पैसा हुने र नहुने दुवैका लागि डाक्टर पढ्न खुला हुनुपर्छ । “मेडिकल एजुकेशन ओपन’ हुनेबित्तिकै बिग्रिने होइन ।”

सोही क्याम्पसका अर्का छात्र ईश्वर थपलियाले अभिभावकले आफ्ना सम्पत्ति बैंकमा राखेर छोराछोरीलाई विदेशमा डाक्टर पढाउन पठाउन बाध्य भइरहेको अवस्थालाई अन्त्य गर्न जरुरी रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मेडिकल शिक्षाका लागि नेपाल केन्द्र बन्न सक्छ । यसैले मापदण्ड पूरा गरेका कलेजलाई सम्बन्धन दिइ हरेक प्रदेशमा मेडिकल कलेज खोल्नुपर्छ ।

यससम्बन्धी परम्परागत धारणालाई चिर्नुपर्छ ।” छात्र ऋषिकेश चौधरीले प्रदेश नं १ र २ मा मेडिकल कलेजको आवश्यकता रहेकामा जोड दिँदै शहरी क्षेत्रमा मेडिकल कलेजको सङ्ख्या बढाउन हुँदैन भन्नुभयो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्