सरकारले लक्ष्यअनुसार खर्च गर्न नसक्दा पुँजीगत खर्च ३० प्रतिशतमा सिमित | Education Patra

सरकारले लक्ष्यअनुसार खर्च गर्न नसक्दा पुँजीगत खर्च ३० प्रतिशतमा सिमित


जनादेश नेपाल, काठमाण्डौं । सरकारले लक्ष्यअनुसार खर्च गर्न नसक्दा सरकारी ढुकुटी भरिभराउ भएको छ । राजस्व संकलन सन्तोषजनक भए पनि खर्चमा अपेक्षित प्रगति नहुँदा ढुकुटीमा पैसा थुप्रिएको हो ।

चालू आर्थिक वर्षको बैंकिङ कारोबारका आधारमा हालसम्म सरकारको ढुकुटीमा साढे २ खर्ब रुपैयाँ थुप्रिएको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए । ‘आठ महिनामा सरकारी खातामा २ खर्ब ४४ अर्ब रुपैयाँ मौज्दात देखिन्छ, अहिले यो रकम बढेको छ’ उनले भने, ‘सरकारको खर्चभन्दा प्राप्ती बढी भएकाले ढुकुटीमा पैसा थुप्रिएको हो ।’ अझ अघिल्लो वर्षको मौज्दातलाई समेत जोड्ने हो भने सरकारको ढुकुटीमा ३ खर्ब रुपैयाँ हाराहारी रकम मौज्दात पुग्ने उनले बताए ।

चालू आर्थिक वर्षको नौ महिनामा सरकारले कुल ६ खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यको ६७.५९ प्रतिशत हो । सरकारले यो वर्ष कुल १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । यस अवधिमा सरकारको राजस्व, विदेशी अनुदान तथा अन्य आम्दानीसमेत जोड्दा कुल प्राप्ती ७ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ पुगेको देखिन्छ ।

त्यस्तै, सरकारले आन्तरिक र बाह्य गरी कुल १ खर्ब ९२ अर्ब ४१ करोड सार्वजनिक ऋण लिएको छ । ऋणसमेत जोड्दा सरकारको कुल प्राप्ती ९ खर्ब २१ अर्ब ९४ करोड रुपैयाँ भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ । जबकि यस अवधिमा सरकारको खर्च भने ६ खर्ब ९४ अर्ब ४५ करोड रुपैयाँ मात्रै देखिएको छ । कुल प्राप्ती र खर्चको मात्रै तुलना गर्दा पनि सरकारी खातामा २ खर्ब २७ अर्ब रुपैयाँ मौज्दात देखिन्छ ।

महालेखाका एक अधिकारीले भने सरकारी ढुकुटीमा खर्चयोग्य रकम १ खर्ब १० अर्ब रुपैयाँ रहेको बताए । ‘सरकारी खातामा देखिएको रकम साढे २ खर्ब हाराहारीमै होला, तर ती सबै रकम सरकारले खर्च गर्न पाउँदैन’ उनले भने, ‘खर्चयोग्य रकमचाहिँ १ खर्ब १० अर्बको हाराहारीमा छ ।’

चालू आर्थिक वर्षको सुरुदेखि नै कोभिड १९ का कारण विकास निर्माणका कार्यले गति लिन नसकी पूँजीगत खर्चमा अपेक्षित वृद्धि हुन नसकेको अर्थमन्त्रालयले जनाएको छ । यद्यपि, दोस्रो त्रैमासिकको अन्तिम महिनामा खर्च क्रमशः बढ्दै गएको अर्थ मन्त्रालयको भनाइ छ । तर, महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक हेर्दा अझै पनि पुँजीगत खर्चमा सुधार हुन सकेको देखिँदैन । चालू आवको ९ महिना सकिँदा पुँजीगत खर्च ३०.०३ प्रतिशत मात्रै पुगेको छ । सरकारले यो वर्षका लागि ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । त्यसमध्ये हालसम्म १ खर्ब ५ अर्ब ९९ करोड रुपैयाँ मात्रै खर्च हुन सकेको छ ।

आर्थिक वर्षको आधा अवधि सकिँदासमेत लक्ष्यअनुसार खर्च गर्न नसकेपछि सरकारले बजेट खर्चको अनुमान संशोधन गरेको थियो । पुँजीगत खर्चको अनुमान २० प्रतिशतले घटाएर २ खर्ब ८३ अर्ब ४ करोड रुपैयाँमा झारेको छ । संशोधित पुँजीगत बजेटको तुलनामा हालसम्म भएको खर्च भने ३७.४५ प्रतिशत पुगेको देखिन्छ । नयाँ पत्रिकाबाट

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्