कोरोना सङ्क्रमणको बढ्दो जोखिमः विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले | Education Patra

कोरोना सङ्क्रमणको बढ्दो जोखिमः विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले


नारायण अधिकारी, चितवन । पत्रकार राधेश्याम खतिवडाले कोरोनाको जोखिम बढेपछि आफूले छोरालाई बिहीबारबाट विद्यालय पठाउन छाडेको बताउनुभयो ।

कक्षा ९ मा पढ्ने उहाँका छोरा मात्र होइन, धेरै अभिभावकले आफ्ना सन्तानलाई घरमा नै राखेर पढाउन थालेका छन् । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका निवर्तमान अध्यक्षसमेत रहनुभएका खतिवडाले मानव स्वास्थ्यभन्दा ठूलो कुरा केही नहुने भएकाले भीडभाडमा बच्चालाई पठाउनु जोखिम भएको बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमण जोखिम बढेसँगै जिल्लाका संस्थागत विद्यालयमा विद्यार्थी घट्न थालेका छन् । लिटिल फ्लावर स्कूल नारायणगढका प्राचार्य रोबी केयुले एउटा कक्षामा तीन/चार जना विद्यार्थी कम आएको बताउनुभयो । उहाँले भन्नुभयो, “रुघा, खोकी र ज्वरो आएका विद्यार्थीलाई घरमा नै आराम गर्न भनेका छौँ ।”

सचेत अभिभावकले छोराछोरीलाई विद्यालय पठाउन छाडेसँगै ठूला संस्थागत विद्यालयमा विद्यार्थी घट्न थालेका छन् । नारायणी नमूना मावि भरतपुरका प्राचार्य पूर्णप्रसाद दवाडीले आफ्नो विद्यालयमा एक जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएको र केही शिक्षक बिरामी परेको बताउनुभयो । यस्तै अवस्था रही रहेमा विद्यालय सञ्चालन गर्न कठिन हुने उहाँको भनाइ छ ।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीले संस्थागत ्िवद्यालयमा विद्यार्थीको उपस्थिति घटेको भन्ने जानकारी प्राप्त भएको बताउनुभयो । सातवटै पालिकाका शिक्षा प्रमुखसँग छलफल गरेर के गर्ने भन्ने विषयको टुङ्गो लगाउने उहाँको भनाइ छ । मन्त्रालय र विभागमा आफूले समन्वय गरिरहेको भन्दै उहाँले सम्पूर्ण विद्यालयलाई सावधानी अपनाउन आवश्यक निर्देशन दिइएको जानकारी दिनुभयो । पछिल्लो समयमा बालबालिकामा समेत कोरोना सङ्क्रमण देखिन थालेपछि त्रास बढेको हो ।

जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १३ पुगेको छ । जसमध्ये ९८ सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये ११४ को मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले कम उमेरकालाई सङ्क्रमण देखिन थालेको बताउनुभयो । सबैले आ–आफ्नो ठाउँबाट स्वास्थ्य निर्देशिका कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ । जिल्लामा ३२३ सामुदायिक र २१६ संस्थागत गरी ५३९ विद्यालय छन् । ती विद्यालयमा एक लाख ५४ हजार विद्यार्थी अध्ययनरत छन् । रासस

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्