जनादेश नेपाल, काठमाण्डौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित भएका छन् । गच्छदार बुधबार बिहान १० बजे उपस्थित भएपछि चार घण्टासम्म उनको बयान लिइएको थियो । ललिता निवास जग्गाको मुद्दा लागेपछि गच्छदार फरार थिए ।
उनको बयान सकिएपछि साढे २ बजेदेखि थुनछेक बहस सुरु भएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्कीको इजलासमा सुनुवाइ भइरहेको प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए । प्रवक्ता पाण्डेका अनुसार बुधबार नै थुनछेक बहस सकिने छ ।
२२ माघ २०७६मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
अहिलेसम्म केही आरोपितहरु विशेष अदालतमा उपस्थित भएर धरौटी वा तारिखमा छुटेका छन् भने केही थुनामा छन् ।