सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन बाल बचतमा अनुदान | Education Patra

सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन बाल बचतमा अनुदान


फिक्कल । इलामको सूर्योदय नगरपालिकाले कक्षा १ देखि ८ सम्मका बालबालिकाको बचतमा अनुदान दिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको विद्यालय छोड्ने दर घटाउन र आधारभूत तहको अनिवार्य र निःशुल्क शिक्षा प्रभावकारी बनाउन यो अवधारणा बढाएको हो ।

कसरी सुधार्ने सरकारी बिद्यालय ? - निष्कर्ष न्यूज

नगर प्रमुख रणबहादुर राईले सामुदायिक विद्यालयप्रति विद्यार्थी आकर्षित गर्दै कक्षा ८ सम्मको पढाइमा निरन्तरता दिन यस अवधारणाले मद्दत पुर्‍याउने बताए । अवधारणाअन्तर्गत विद्यार्थीले थोरै रकम आफैँ बचत गरी खातामा जम्मा गर्नेछन् । त्यसमा केही रकम नगरले अनुदान दिनेछ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले भने, ‘जुन बैंकमा बालबालिकाको खाता खोलिएको हुन्छ, उक्त बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत खर्चिनुपर्ने रकम सोही खातामा लगाइदिने गरी नगरपालिकाले बैंकलाई आग्रह गर्नेछ ।’ नगरपालिका र बैंकमार्फत पाउने अनुदान विद्यार्थीले कक्षा ८ उत्तीर्ण गरेपछि मात्र प्राप्त गर्ने नगर प्रवक्ता ख्याम भुजेलले जानकारी दिए। विद्यार्थीले दिनहुँ रु पाँच, रु १० वा मासिक यथाशक्य रकम जम्मा गर्नेछन् ।

यस कार्यक्रमले बालबालिकामा बचत गर्ने बानीको विकास हुने, उच्च शिक्षा अध्ययनको बेला खर्च सघाउ पुग्नेछ । नगरप्रमुख राई भन्छन्, ‘बालबालिकाले धेरै लगानी गर्नुपर्दैन । यसमा नगरपालिकाले बोनस वा थप ब्याजदरका रूपमा अनुदान दिन्छ । तर ८ कक्षाअघि नै कोही विद्यार्थी निजी अथवा अन्य पालिका जान्छ भने त्यो अनुदान उसले पाउँदैन ।’

नगरपालिकाको २४ सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म चार हजार पाँच सय २१ बालबालिका छन् । कक्षा छोड्ने विद्यार्थीको दर तीन प्रतिशत रहेको शिक्षा शाखा प्रमुख भट्टराईले बताए । दीर्घकालीन उपलब्धिका रूपमा बालबालिका माथि लगानी बढाउँदै आएको ‘सूर्योदय’ प्रदेश नं १ को तेस्रो र जिल्लाको पहिलो बालमैत्री नगरपालिका हो । रासस ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्