नेपाल टेलिकमको नाफा घटनुको कारण के? | Education Patra

नेपाल टेलिकमको नाफा घटनुको कारण के?


जनादेश नेपाल, काठमाण्डौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक (साउनदेखि असोज) मा २ अर्ब २२ करोड ५५ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको यही अवधिमा कम्पनीको खुद मुनाफा २ अर्ब २५ करोड  ९९ लाख ४ हजार रुपैयाँ थियो । यसपालि ३ करोड ४३ लाख ८० हजार अर्थात १.५२ प्रतिशतले नाफामा कमी आएको कम्पनीले जनाएको छ ।

टेलिकमले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कुल सञ्चालन आयमा समेत कमी आएको छ । गत आवको पहिलो त्रैमासिककमा कम्पनीको कुल सञ्चालन आय ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ९ अर्ब ७ करोड ७५ लाख ८५ हजार रहेको छ । यसपटक ६९ करोड ७७ लाख ९ हजार अर्थात ७.१४ प्रतिशतले सञ्चालन आयमा कमी भएको वित्तीय विवरणमा देखिन्छ ।

अन्तरआबद्धता सम्बन्धी निर्देशिकाअनुसार डोमेस्टिक अन्तरआबद्धता शुल्कमा कमी आएको र ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आय घटेको कम्पनीको भनाइ छ । ‘यसले गर्दा करिब १० करोडले कमी भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ओटीटी सेवाको बढ्दो प्रयोगका कारण भ्वाइस सेवाको समग्र आयमा कमी भएको हो ।’ कम्पनीको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ४६ पैसा छ । यसअघि २० प्रतिशत बाेनस सेयर तथा २० प्रतिशत नगद लाभांश दिएको कम्पनीले यस वर्षका लागि भने लाभांश घोषणा गर्न बाँकी छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५४० रुपैयाँ छ ।

मौसमको प्रतिकुल असरले गर्दा विद्युत् आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरू समयमा सञ्चालन हुन नसक्दा कार्य सञ्चालन आय घटेको बताइएको छ । साथै, आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनको कारण पनि राजस्वमा प्रभाव पर्न गएको कम्पनीले जनाएको छ । सरकारले लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि १० प्रतिशतमा झारिएको थियो । यसले गर्दा दूर सञ्चार सेवा प्रदायकले उपलब्ध गराइरहेको साधारण महसुल दर अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा अन्य सेवाहरूको महसुलमा लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घटेको बताइन्छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्