उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन | Education Patra

उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन


जनादेश नेपाल, काठमाण्डौं । उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ। गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको ईपीएस कोरिया शाखाले जनाएको छ।

भाषा परीक्षामा आठ हजार सात सय ८५ जना उतीर्ण भएका छन्। सो भाषा परीक्षामा सहभागी हुन १८ हजार पाँच सय ९५ जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये १४ हजार ४३ जना परीक्षामा सहभागी भएका थिए। उत्पादनतर्फ पहिलो चरणको भाषा परीक्षाको नतिजा गत भदौमा सार्वजनिक भइसकेको छ।

पहिलो चरणमा सात हजार एक सय ४२ जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए। सन् २०२२ को उत्पादनतर्फको भाषा परीक्षा सम्पन्न भएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिनुभयो।

उत्पादनतर्फ सन् २०२३ का लागि भने केही ढिला मात्र परीक्षा सञ्चालन हुनेछ। सन् २०२२ का लागि पहिलो र दोस्रो चरणमा उत्तीर्ण भएर रोष्टरमा रहेका दुईतिहाइ व्यक्ति रोजगारीका लागि कोरिया गएपछि मात्र उत्पादनतर्फको परीक्षाको तालिका सार्वजनिक हुने उहाँले बताउनुभयो। २०२२ मा उत्पादनतर्फ १५ हजार नौ सय २७ जना भाषा परीक्षा उत्तीर्ण भएर रोष्टरमा छन्।

सन् २०२३ का लागि कृषितर्फको भाषा परीक्षा आगामी डिसेम्बर÷जनवरी महिनामा हुनेछ। सन् २०२२ का लागि कृषितर्फ उत्तीर्ण भएका तीन हजारमध्ये आधाभन्दाबढीको रोजगार सम्झौता आइसकेको छ।

“सन् २०२२ का लागि कृषि क्षेत्रतर्फ उत्तीर्ण भएका एक हजार ५०० जनाको रोजगार सम्झौता आइसकेको छ”, निर्देशक कटुवालले भन्नुभयो, “बाँकीको पनि रोजगार सम्झौता आउने चरणमा छ।” कृषितर्फ रोष्टरमा रहेका श्रमिकको सङ्ख्या सकिन लागेकाले सन् २०२३ का लागि कृषितर्फको भाषा परीक्षा छिट्टै हुन लागेको उहाँको भनाइ छ।

दक्षिण कोरिया नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा रहँदै आएको छ। नेपाल र कोरियाबीच सन् २००८ मा रोजगार अनुमति प्रणााली ईपीएस सम्झौता भएको थियो। ईपीएस सम्झौता भएयता भाषा परीक्षा उत्तीर्ण गरी करिब ७७ हजार नेपाली रोजगारीका लागि कोरिया पुगेका छन्। अहिले भाषा परीक्षा उत्तीर्ण ४० हजार नेपाली कोरियामा विभिन्न क्षेत्रमा काम गरिरहेका छन्। कोरियामा इपिएस प्रणालीबाट विदेशी कामदार भित्र्याउने सूचीमा नेपाल दोस्रो सूचीमा रहेको छ। पहिलो सूचीमा कम्बोडिया छ। रासस

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्