के रहेछ हाम्रो धर्म र संस्कृति ? | Education Patra

के रहेछ हाम्रो धर्म र संस्कृति ?


हुन त म धर्म र संस्कृति सम्बन्धी पढे लेखेको कुनै डिग्री हासिल गरेको विद्यार्थी नै हुँ नत यसबारे गहिरो अध्ययन गरेर ज्ञान आर्जन गरेको विद्धान नै हु । तर पनि धर्म संस्कृतिलाई आत्मसात् गरेको यसबारे केही समय देखि निकै चासो राख्दै आएको छु ।

र विभिन्न विद्वान् हरूका बिचारहरू पढ्दै आएको छु विशेष गरी हाम्रो धर्म सँग जसरी विभिन्न संस्कार, संस्कृति, परम्परा भित्रका रीतिरिवाज र मान्यताहरू जोडिएका छन् र तिनीहरूको विविधता बारे ममा सदा कौतुहलता भने रहिरहने गर्थ्यो। हाम्रो समाजमा अहिले धर्म भन्दा संस्कृतिलाई बढी महत्त्व दिइएको देखिन्। धर्म सम्बन्धी अनुष्ठानहरू घट्दै गएका छन् भने हाम्रा संस्कृति तथा परम्पराहरू केही परिष्कृत हुँदै मौलाउँदै गएका छन्।

मलाई जहिले पनि कौतुहलता हुने गर्थ्यौ हाम्रो धर्म भित्र संस्कृति अडेको छ कि संस्कृति भित्र धर्म, केही संस्कृति बिदहरु भन्नुहुन्छ मानव जातीको जन्म देखि मृत्यु सम्मका हरेक क्रियाकलापहरू हाम्रा संस्कार र संस्कृति हुन् भने जन्मे पश्चात् उसले ग्रहण गर्ने नैतिक विधि धर्म हो।यसरी हेर्दा संस्कृति भित्रै धर्म रहेको हो कि भन्ने बुझ्न सकिन्छ तर धर्मका ज्ञाताहरू भन्नु हुन्छ संस्कृतिको आधार नै धर्म हो यसैको जगमा नै हाम्रो संस्कृति उभिएको हुन्छ र शास्त्रहरूबाटै संस्कारहरू जन्मिएका हुन् त्यसैले धर्म बाटै संस्कार र संस्कृति आएको हो।

तर केही संस्कृति तथा धर्मशास्त्रका विद्वानहरूले भने आफ्नो बिचारलाई सन्तुलित रूपमा व्यक्त गर्नु भएको छ वहाँहरू भन्नु हुन्छ, धर्म र संस्कृतिलाई छुट्टाएर हेर्न मिल्दैन यी दुवै एक आपसका आधार हुन छुट्याउदा दुवैको अस्तित्व समाप्त हुन्छ यो अन्तिम तर्क नै मैले उपयुक्त तथा यथार्थ तर्क ठानेको छु। यसै सन्दर्भमा मैले केही समय अगाडी फेसबुक मार्फत विद्वानहरू समक्ष एउटा प्रश्न राखेको थिए “धर्म भित्र संस्कृति छ, कि संस्कृति भित्र धर्म ?”

यसमा यस सम्बन्धी धेरै ज्ञाता तथा विद्वानहरूले आआफ्ना तर्कहरू राख्नु भएको थियो ती सबै मेरा विद्वान इष्टमित्रहरू तथा यस विषय सँग सम्बन्धित विषयका अग्रज अनुज ज्ञाताबाट व्याख्या तथा तर्क गरे अनुसार सार संक्षेपमा धर्म मानव जीवनयापनको नैतिक विधि हो भने संस्कृति मानव जीवनयापनको निरन्तर व्यवहार हो भन्नेमा यथार्थता देखिन्छ। त्यसै गरी संस्कृति भित्रै धर्म अडेको हुन्छ भने धर्मले संस्कृतिलाई जीवन्त पारेको हुन्छ र यी दुवैको अन्योन्याश्रित सम्बन्ध रहने कुरामा पनि आधार देखिन्छ।

विस्तृत रूपमा धर्म र संस्कृतिको अध्ययन निकै गहिरो रहेको पनि बुझ्न सकिन्छ । साथै हिन्दु धर्म भित्र पनि फरक फरक संस्कृति चाड पर्व परम्परा रहेको देखिन्छ भने आधुनिक युगले साँघुरिएको विश्वमा फरक फरक धर्म मान्नेले पनि एउटै संस्कृति चाड पर्व र परम्परा मान्दै आएको देखिएका प्रशस्त उदाहरणहरू रहेका छन्। अहिले मलाई हाम्रो धर्म र संस्कृति बारे अलि कति चासो पनि बढ्दै गएको छ र यसबारे बुझ्ने प्रयास पनि गर्दै छु।वास्तवमा धर्म भनेको कुनै पनि वस्तुको कहिल्यै नफेरिने उसको अन्तर्निहित गुण हो उसको आफ्नै स्वभाव हो आगोको धर्म तातो हुनु हो, घामको धर्म उज्यालो दिनु दिनु हो, हावाको धर्म सुकाउनु हो, बीउको धर्म उम्रिनु भनेजस्तै मनिसको धर्म मानवता हो त्यसलाई मानवीय सद्गुण पनि भनिन्छ धर्मले नै मान्छेलाई मानव बनाउन छ।

जस अनुसार धैर्य रहनु, सहनशील हुनु, अरूको उपकार गर्नु, आफ्नो मनलाई नियन्त्रण गर्नु, चोरी नगर्नु, शुद्ध पवित्र रहनु, इन्द्रियलाई आफ्नो अधीनमा राख्नु, बुद्धि विवेकको उपयोग गर्नु, ज्ञानी हुनु, सत्य बोल्नु, नरिसाउनु, कसैको हिंसा नगर्नु, सात्त्विक आहार विहार गर्नु यी र यस्ता मानवीय सद्गुणहरू नै मानवीय धर्म हुन्। संसारका जति पनि धर्मले दिने शिक्षा भनेकै मानवता हो र ईश्वर प्रति भरोसा र विश्वास हो। हिन्दु धर्ममा भगवानका धेरै स्वरूपहरूको व्याख्या गरे पनि वास्तवमा भगवानको परब्रह्म ईश्वरीय स्वरूप एउटै मानेको छ। त्यसैले धर्म धारणा गर्ने कुरा हो। ईश्वर मान्ने कुरा हो, विश्वास भए मान्ने हो विश्वास नभए नमान्न पनि सकिन्छ, तर धर्म पालन गर्ने कुरा हो ।महाभारतमा- “धारणात्धर्म मित्याहु धर्माे धारयते प्रजा ” भनेर- धर्म कर्तव्य हो, अनुशासन हो, धर्म पहिचान हो, अस्तित्व हो भनिएकाेछ ।

धर्मलाई आडम्बर होइन जीवनको आधार बनाउनु पर्छ। राष्ट्रवादको जन्म पनि धर्म र संस्कृतिको मिलनबाट हुन्छ । राष्ट्र शरीर हो भने धर्म त्यसको आत्मा हो। राष्ट्रधर्म र संस्कृतिको अभावमा कुनै पनि राष्ट्रको उन्नति र प्रगति हुन सक्दैन। हाम्रो हिन्दु धर्मलाई सनातन धर्म भनिएको छ जुन परापूर्व कालदेखि चलिआएको त्यही मानवीय सद्गुण रूपी धर्म हो । यो सनातन धर्म कसैले चलाएको नयाँ धर्म होइन । त्यसैले यस धर्मका प्रवर्तक कोही व्यक्ति हुँदैनन् । साक्षात् ईश्वर नै यस धर्मका प्रवर्तक हुनुहुन्छ । सनातन धर्म विश्वको सबै भन्दा पुरानो तर वैज्ञानिक धर्म मानिन्छ । विश्वको सबैभन्दा पुरानो ग्रन्थ वेद हो ।

वेदको आधारमा व्याख्या गरिने भएको हुनाले सनातन धर्मलाई वैदिक सनातन धर्म पनि भनिन्छ। वैदिक कालमा सनातन–धर्मको कुनै अर्को निश्चित नाम थिएन । कोही यसलाई वैदिक धर्म भन्थे, कोही आर्य धर्म भन्थे । उति बेला मानिस जोसँग बढ्ता डराउँथे अथवा जुन चीज बढी शक्तिशाली ठान्थे, उसैलाई खुसी पार्ने उद्देश्यले उसैको पूजा गर्थे । सूर्य, अग्नि, जल, वायु, नाग आदिको पूजा आजको समाजसम्म पनि तन्किएर आइरहेको छ । पूजाको अर्को विकल्प पनि थियो– वैदिक साहित्यमा वर्णित देवी देवताको पूजा गर्ने । वेदमा पनि सूर्य, अग्नि, वायु, जल, वराह, सिंह आदिको उल्लेख थियो र छ । यही नै हाम्रो प्रमुख ईश्वर हो भन्ने थिएन।अलग-अलग समाजका अलग–अलग पूजनीय थिए र तिनको पूजनलाई सनातनी भनिन्थ्यो। धेरै पछि आएर सनातन–धर्मलाई हिन्दु धर्म भन्न थालिएको हो ।

करिब दुई हजार वर्ष देखि चल्दै आएको क्रिस्चयन धर्म र त्यो भन्दा पँछाडी आएका अन्य धर्मको प्रचार बढ्दै गए पछि ती धर्म भन्दा कयौँ गुना पहिले देखि चलिआएको सनातनी धर्मको पनि नामकरण गर्नु पर्ने अवस्था आएको हो । अहिले आएर दुवै एक–अर्काका पर्याय बनिसकेका छन्। हिन्दु धर्मको नामकरणका बारेमा धेरै धारणा रहेका छन् । तीमध्ये प्रमुख तीन वटा धारणा यस प्रकार छन्;

१) हिन्दु शब्द फारसी भाषाबाट आएको हो । सिन्धु नदीका किनारमा बस्ने मानिसलाई फारसीहरू ले हिन्दु भन्ने गर्थे । सिन्धुदेखि उत्तर–पूर्वका मानिस हिन्दुका नामबाट परिचित भएका हुन् । जसरी सप्ताह फारसीमा हप्ता बन्यो, उसरी नै सिन्धु फारसीमा हिन्दु बनेको हुनुपर्छ ।

२) हिन्दु शब्द चन्द्रमालाई बुझाउने इन्तु शब्दबाट बनेको हो । चिनियाँ भाषामा चन्द्रमालाई इन्तु भनिन्छ । यताका मानिसको ज्योतिष शास्त्र चन्द्रमाबाट प्रभावित भएको देखेकाले चिनियाँले यताका मानिसलाई इन्तु नामले सम्बोधन गरेका हुन सक्छन्, जो कालान्तरमा हिन्दु शब्दमा रूपान्तरित भएको हुनुपर्छ ।

३) वृहस्पति आगममा रहेको एउटा श्लोकले हिमालयदेखि इन्दु सरोवरसम्मको भू–भाग हिन्दुहरूको वासस्थान रहेको बुझाउँछ । त्यहाँ भनिएको छ, “हिमालयात् समारभ्य यावत् इन्दु सरोवरम् । तंदेवनिर्मितं देशं हिन्दुस्थानं प्रचक्षते ।।”हाम्रो सनातन हिन्दु धर्म यति बृहद र व्यापक छ कि को हुन हिन्दु भन्न पनि व्याख्या र विश्लेषण नै गर्नुपर्ने हुन्छ। यसकि हेर्दा कोही बुद्धिस्ट हिन्दु होइनन् भन्छन् भने कोही शिख भनेका अहिन्दु हुन् भन्छन् ।कसैले किराँतीलाई हिन्दु मान्दैनन् भने कसैले जैनहरूलाई हिन्दु मान्दैनन् । फेरि कतिपय सनातनी सन्त महन्तहरूले समेत आफूलाई हिन्दु भन्न नरुचाएका प्रशस्तै उदाहरण भेटिन्छन् । यदि यी सबै हिन्दु होइनन् भने हिन्दु भनेका को हुन् त ? वैष्णवहरू हिन्दु हुन् कि होइनन् ? जैनलाई हिन्दु मान्ने कि नमान्ने ? फेरि असङ्ख्य देवी–देवता मान्ने पनि छन्न, देवी–देवता कोही पनि नमान्ने पनि छन् अर्थात् आस्तिक पनि छन् र नास्तिक पनि छन् ।

आस्तिकहरूको प्रतिनिधित्व गर्ने अनेक उपधर्म र सम्प्रदायहरू र तिनका दर्शन यहाँ विद्यमान छन् भने नास्तिकहरूको प्रतिनिधित्व गर्ने चार्वाक पन्थ पनि हिन्दु धर्मकै एउटा दर्शनका रूपमा चिनिँदै आएको छ । भनेपछि, हिन्दु भनेर कसरी चिन्ने ? छोटकरीमा भन्नुपर्दा जसले ओमकार मान्छ, त्यो नै हिन्दु हो । यसरी हेर्दा “ओम् मानेपेमे हूँ (ॐ मणिपद्मे हूँ)” भन्ने बुद्धिस्टहरू पनि हिन्दु हुन् । ओम् ह्रीं णमो अरिहताणं… भन्ने जैनहरू पनि हिन्दु हुन् । शिख धर्मको त प्रवर्तन भएकै हिन्दु धर्मको संरक्षणका लागि हो । शिख धर्मका प्रथम गुरु, गुरुनानकले रामको वन्दना गरेको इतिहास छ । शिख धर्मका दसौँ गुरु, गुरु गोविन्द सिंहले कवितामै लेख्नु भएको छ, “सकल जगत में खालसा पंथ गाजे, जगे धर्म हिन्दु सकल भंड भाजे”। वास्तवमा जो इसाई होइनन्, जो इस्लाम होइनन् र जो यहुदी होइनन् ती सबै हिन्दु हुन् । जुन कुरा भारतको स्वतन्त्रता पछि पहिलो संविधान निर्माणको क्रममा हिन्दुहरूको बारेमा स्पष्ट पार्दै लेखिएको थियो भन्ने समेत उल्लेख गरिएको छ।

बुद्धका विचारलाई जीवनदर्शन मान्नेहरू बौद्ध हुन्, विष्णुलाई आराध्य देव मान्नेहरू वैष्णव हुन्, शिवलाई प्रमुख ठान्नेहरू शैव हुन्, भगवती अथवा दुर्गालाई सर्वोच्च मान्नेहरू शाक्त हुन् तर यी सबै हिन्दु अनुयायी हुन।

जसरी हरेक धर्महरूका प्रवर्तकहरू रहेका छन् हिन्दु धर्मका कोही प्रवर्तक छैनन् हाम्रा धर्म ग्रन्थहरूमा पनि हिन्दु धर्म लेखिएको छैन। स्वयं भगवानबाट निक्लिएका जुन मन्त्रहरूलाई ब्रह्माजीले सुन्नु भयो ती वेद हुन र त्यो नै हाम्रो मूल धर्म ग्रन्थ हो र यस्ता वेद चार छन् र यसलाई श्रुति पनि भनिन्छ र वेदको सारलाई उपनिषद भनिन्छ भने महाभारतको सार वाट उत्पत्ति भएको गीता भनिन्छ। त्यसै गरी भगवानबाट ऋषि महर्षिहरूले जुन मन्त्रहरू पाउनु भयो र त्यसलाई स्मरण गरेर लेख्नु भयो ती स्‍मृतिहरु हुन हाम्रा धर्म ग्रन्थहरूमा इतिहास, पुराण, रामायण, महाभारत पर्दछन्। मूलभूत रूपमा धर्म उत्पादन गर्ने शास्त्र श्रुति र स्मृति गरी दुई भागमा विभाजन गरिएको छ। यसरी हाम्रो धर्मशास्त्रको लक्षणमा समेत ”श्रुतिस्मृति सदाचार स्वस्य च पृयमात्मन सम्यक्संकल्पज कामो धर्मूलमिदस्मृतम्” भनेर उल्लेख गरिएको छ ।

शास्त्रहरूमा नै हाम्रो संस्कार को बारेमा उल्लेख गरिएको छ। शात्रले गर्भधारण देखि मृत्यु सम्मका मुख्य रूपमा जम्मा १६ वटा संस्कारको पालना गर्नु पर्ने भनी उल्लेख गरेको छ। ती हुन – गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, निष्क्रमण, अन्नप्राशन, चूडा, कर्णवेध, विद्यारम्भ, उपनयन, वेदारम्भ, केशान्त, समावर्तन, विवाह एवं अन्त्येष्टि । प्रत्येक हिन्दूले यी संस्कारको यथोक्त नियमपूर्वक पालना गर्नुपर्छ र यस्ता संस्कारहरूलाई वैदिक नियमद्वारा सम्पन्न गर्नु नै हिन्दुहरूको पहिचान भनी उल्लेख गरिएको छ।यी कतिपय संस्कारहरू अहिले पनि हाम्रो संस्कृतिको रूपमा निरन्तर रही रहेका छन् भने कति नाममा मात्र सीमित रहेका छन्। कतै विकृति पनि जन्मिएका छन् हाम्रा यी सनातनीय संस्कारमा कहीँ कतै कुनै जात र लिङ्ग भनी छुट्ट्याइएको छैन पछि आफू खुसी व्याख्या र विश्लेषण गरिएको हो।

यो सत्य हो मूल शास्त्रका अनुसार ऋषि मुनि कालमा सन्तान बढ्दै जाँदा विभिन्न नाम दिएर अभिषेक गरेर एक आपसमा कार्य विभाजन भने गरिएको हो ती शास्त्रहरूमा कहीँ कतै तल्लो माथिल्लो छुत अछुत भनेर उल्लेख गरिएको थिएन। कालान्तरमा पुरातन सोच र परम्परा अनुसार कथा पुराणहरूमा यस्ता विभिन्न जात जाती प्रथाहरूको विषयहरू उल्लेख गरिएको मात्र हो र अहिले क्रमशः यस्तो सोच परिवर्तन हुँदै गई रह्कोछ। तेसैले धर्मको सस्कृतिको बारे बिश्लेक्ष्ण गर्दा बिभिन काल खण्डमा भएका फरक फरक व्याख्या र बिश्लेक्ष्ण भन्दा शास्त्रको मुल ग्रन्थलाइ गहिरो अध्यान गर्दा यसको महत्वलाइ बुझ्न सकिन्छ।

यसरी धर्म र संस्कृतिको बारे अध्ययन गर्दा सनातन तथा वैदिक काल देखि वा कुनै एउटा निश्चित काल देखिन मान्दै आएका हाम्रा संस्कार परम्परा रीतिरिवाजहरू तथा मानव जीवन निर्बाहकालागी मानवीय गुणबाट परिष्कृत पद्दतीहरु नै हाम्रो धर्मको सार तत्त्व हो भने यसको व्यवहारिक निरन्तरता तथा समय सापेक्ष मानवीय हितमा धर्मको रक्षार्थ मनाइने उत्सव पर्व तथा मान्यताहरू समेत हाम्रा संस्कृतिहरू हुन भन्ने बुझिन्छ। धर्म हाम्रो मुटु हो भने रक्त संन्चार हाम्रो संस्कृति हो। धर्मले संस्कृतिलाई चलााएमान बनाएको हुन्छ भने संस्कृतिले धर्मलाई जीवन्त राख्नमा मद्दत गरिरहेको हुन्छ।

बिनोद पोख्रेल ,तुल्सिपुर- १८ दाङ्ग, इनेपलिजबाट

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्