धर्म, संस्कृति, बोली र व्यवहार | Education Patra

धर्म, संस्कृति, बोली र व्यवहार


डा. रामचन्द्र अधिकारी ।

धर्म–संस्कृति–धर्म प्रत्यक्ष देख्न र छुन नसकिने अभौतिक भावना, संस्कृति प्रत्यक्ष देख्न, सुन्न र छुन सकिने भौतिक विषयवस्तु। यद्यपि संस्कृतिभित्र पनि अभौतिक भावना लुकेको पाइन्छ। धर्म मानिसको मन चित्तसँग अन्तर्सम्बन्धित विषय हो। संस्कृति रंगीचंगी रूप र शब्दतरंगसँग जोडिएको गहना। धर्मले मानिसको मलीन मन र अशुद्ध चित्तको शोधन गर्छ। संस्कृतिबाट मानिसले प्रत्यक्ष मनोरञ्जन प्राप्त गर्छ। सांसारिक प्रपञ्चबाट दुःखी भएको मानिस जब ऊ कुनै सांस्कृतिक कार्यक्रममा पुग्छ, त्यहाँको मनोरम दृश्य देखेर ऊ एकाएक रमाउँछ। दुःख पीडा भुलेर खुसी हुन्छ।

धर्म, संस्कृति, बोली र व्यवहार

धर्मको गहिराइ जोकोहीले अनुभव गर्न सक्दैनन्। सतहमा देखिने संस्कृति भने सबैले देख्न, सुन्न र मनोरञ्जन लिन सक्ने सरल प्रकृतिको हुन्छ। धर्मले सकारात्मक सोच, दयादृष्टि, परोपकार, सेवाभाव, त्याग र बलिदानका निम्ति प्रेरणा दिन्छ। व्रत, अनुष्ठान, तप, साधनाजस्ता आन्तरिक कर्म धर्मपथमा अग्रसर हुन गरिने अभ्यास हुन्। भजन कीर्तन, नाच, गान, झाँकी प्रदर्शन जस्ता परम्परागत लोकरञ्जनका साधन स्मृति कीर्ति जगाइराख्ने माध्यम हुन्।

बोली व्यवहार चरम भौतिकवादी आधुनिक युग जहाँ केही मानिसले धर्मको मर्म भुल्दै गए पनि संस्कृतिका कर्म अझ तडकभडकका साथ प्रदर्शित हुने गरेको देखिन्छ। आफूलाई धर्मभीरु नभएको अधार्मिक क्रान्तिकारी साहसी महापुरुष ठान्ने अब्बल दर्जाका अग्रणी वामपन्थी नेताहरू जो वैदिक सनातन धर्मलाई रुढिवादी र अन्धविश्वासले भरिएको सामन्तको धर्म ठान्छन्। शिवजीलाई बौलाहा र पृथ्वीनारायण शाहलाई सन्काहा भन्दै तिरस्कार गर्छन्। सालिक ढाल्छन्। शिवालयमा रजस्वला भएकी दलित महिलालाई पिसाब गर्न लगाउँछन्। नागस्थानमा गाई काटेर भोग दिन प्रेरित गर्दछन्।

जब तिनै नेताहरूको लोभीपापी मनमा धन आर्जन गर्ने तीव्र लालसा पैदा हुन्छ, तब तिनले धार्मिक–पर्यटनका लागि मनमोहक स्थान छनोट गर्ने क्रममा काठमाडौं उपत्यकासहित उत्तरका हिमाल र पूर्व–पश्चिमका डाँडाकाँडा छर्लंग देखिने उपत्यकाको दक्षिणपश्चिम भेगमा रहेको चन्द्रागिरि डाँडाको चुचुरो छाने भन्ने सुनिन्थ्यो। त्यहाँ यातायातका लागि सुगम केबुलकारको व्यवस्था, बाल मनोरञ्जन, खेलकुद, वि श्रामस्थल, वन–बगैंचा, भ्युटावर, होटल, रिसोर्ट आदि स्वदेशी–विदेशी पर्यटक, धार्मिक भक्तजन, बाल वृद्धबनिता, जोगी, भोगी सबैका लागि आकर्षण र आस्थाको केन्द्र बनाउन खोजेको पाइयो।

निर्माणका क्रममा तिनले चन्द्रागिरिको शिखरमा आराध्यदेव पशुपतिनाथको मूर्ति–मन्दिरकै झल्को आउने गरी सुन्दर प्रतिमासहितको शिव मन्दिर निर्माण गरेको भेटियो। जहाँ पुजारी पूजा–प्रार्थना परिक्रमाको व्यवस्था आवश्यक पूजा सामग्री उपलब्धताको प्रबन्ध मिलाइएको पाइयो। अन्यत्र ढालिएको पृथ्वीनारायण शाहको औंला ठड्याइएको सानदार सालिक मन्दिरको इशान कोणमा निर्माण गरिएको देखियो। विगतमा त्यस्ता क्रान्तिकारी नेताको निर्देशनमा देशैभरि हत्या, हिंसा, लुटपाट र आतंकका दुःखद घटना भएका किन नहोऊन्, तर चन्द्रागिरिलाई धार्मिक–पर्यटकीय दृष्टिले सबैका लागि आकर्षक गन्तव्यस्थल निर्माण गरिएको पाउँदा त्यस्ता सत्कार्यका लागि तिनलाई साधुवाद दिँदा अन्यथा नहोला। मुलुकभर त्यस्ता हजारौं धार्मिक–पर्यटकीय गन्तव्यस्थल निर्माण गर्न सकिने प्रशस्त सम्भावना छन्। समयमै त्यसतर्फ सबैको ध्यान पुग्न सके मुलकको समृद्धिका लागि विदेशी दाता खोज्न र तिनका अगाडि हात पसार्नु पर्दैन।

अरूलाई परम्परावादी र आफूलाई प्रगतिशील ठान्ने वामपन्थीहरू व्रत, पूजा, दान, दक्षिणाजस्ता आफूले केही दिनुपर्ने धार्मिक कृत्यलाई रुढिवाद र अन्धविश्वास मान्छन्। तर तिनै वामपन्थीहरू धार्मिक कृत्यसँग जोडिएका देउसी, भैलो, भजन, कीर्तन, नाचगान जस्ता सांस्कृतिक कार्य जहाँ आफूले केही दिनुपर्दैन उल्टै लिन, खान र रमाइलो गर्न पाइन्छ, त्यस्ता कार्यलाई प्रगतिशील भन्दै तँछाडमछाडका साथ भेला हुने गरेका दृश्यहरू देखिन्छन्। मनग्यै धन आर्जनका माध्यम बनाउन पाए भगवान्का मूर्ति र पूजा प्रार्थना जस्ता धार्मिक कृत्य प्रगतिशील हुने र पृथ्वीनारायण शाह पनि जनप्रिय प्रगतिवादी राजा ठहरिने देखियो। बोलीमा क्रान्ति, व्यवहारमा भ्रान्ति वामपन्थीहरूमा बढी पाइन्छ। तर यो रोग सबै पार्टी र पक्षमा नभएको होइन। बोली र व्यवहारमा एकरूपता हुन सके समाजमा थप सद्भाव र विश्वास बढ्ने थियो।

अन्यत्र आस्थावान् मनलाई भौतिक दबाब र त्रासबाट मन परिवर्तन गराएर आफूअनुकूल बनाउने कम्युनिस्टहरूको पुरानो फर्मुला हो। सौम्य देवमूर्तिको दर्शन, पूजा, प्रार्थना र सत्संगका माध्यमले नास्तिक मनभित्रको आसुरी भावलाई क्रमशः रूपान्तरण गर्दै देवभावतर्फ अभ्यस्त गराउँदै लाने सनातन दर्शनको साधना सूत्र हो। तसर्थ हिजो उग्र वामपन्थी सोचबाट प्रभावित नास्तिक सोच र आसुरी भावलाई चन्द्रागिरिजस्ता आकर्षक धार्मिक–पर्यटकीय गन्तव्य निर्माणका माध्यमले धार्मिक भावनाको विकास र आर्थिक स्रोत दुवै सम्भव हुन सक्ने सुमार्गमा लाग्नुमा सबैको कल्याण छ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्