जनादेश नेपाल, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका नेता भीम रावललाई सामाजिक सञ्जाल मार्फत जवाफ पर्काएका छन् । नेकपा एमालेका नेता रावलले परराष्ट्र मन्त्रालय स्वीकृती लिएर अमेरिकी राजदूतसँग भेटेको हो कि होइन भनेर सामाजिक सञ्जालमा सोधेका थिए ।
सामाजिक सञ्जालबाटै दिँदै मेयर बालेनले लेखेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’
‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन, मेयर साहले भनेका छन। उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौं,’ उनले लेखेका छन्, ‘एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’