जनादेश नेपाल, काठमाण्डौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ ।
अनेरास्ववियुले शान्तिपूर्ण र मर्यादित वातावरणमा समयमै निर्वाचन गराउन माग गर्दै उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाएको हो ।
अनेरास्ववियूका अध्यक्ष सुनिता बरालको टोलीले त्रिभुवन विश्वविद्यालयका पुगेर आज (मङ्गलबार) बुझाएको ज्ञापनपत्र लिँदै उपकुलपति प्रा.डा. बास्कोटाले स्ववियु निर्वाचन गराउने कार्यतालिका छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले निर्वाचनका लागि तयार रहन समेत आग्रह गर्दै विद्यार्थी सङ्गठनसँगको छलफलपछि मिति तय गर्ने जानकारी गराउनुभयो । अध्यक्ष बरालले विश्वविद्यालय स्ववियूविहीन हुँदा विद्यार्थीका नाममा अराजकता चुलिँदै गएकाले निर्वाचन छिट्टै गर्नुपर्नेमा जोड दिनुभयो ।