तनहुँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको प्रथम राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन आध्यात्मिक राजधानी देवघाट धाममा आजबाट प्रारम्भ भएको छ ।
परिषद्को संस्कृत विद्यार्थी सम्मेलन धार्मिक एवम् आध्यात्मिक केन्द्र देवघाटधामस्थित महेश संस्कृत गुरूकुलमा विविध विधाका विशिष्ट व्यक्तित्वको समुपस्थितिमा समुद्घाटन भएको विद्यार्थी परिषद्ले जनाएको छ ।
सनातन संस्कृतिको जगमा रहेर राष्ट्रव्यापी रूपमा रहेको क्याम्पस विश्वविद्यालयका विद्यार्थीबिच काम गर्दै आइरहेको विद्यार्थी परिषद्ले गुरुकुल र संस्कृत विश्वविद्यालयमा पढ्दै गरेका विद्यार्थीको सहभागितामा प्रथम राष्ट्रिय संस्कृति विद्यार्थी सम्मेलन गरेको हो ।
कार्यक्रममा गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरिजी महाराज, महेश सन्यास आश्रमका संरक्षक मधुसुदनानन्द गिरी, नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारी, समाजसेवी एवं आध्यात्मिक व्यक्तित्व अशोक वैद्य, विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा.गोपीनाथ कण्डेल, विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपाने, सामाजिक प्राज्ञिक व्यक्तित्व एवं विभिन्न गुरूकुल तथा विश्वविद्यालयका क्याम्पसमा अध्ययनरत १०० जना विद्यार्थीको सहभागिता रहेको परिषद्का महासचिव छितराज न्यौपानेले जानकारी दिनुभयो ।
सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालय शास्री तहमा विश्वविद्यालय प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।