जनादेश नेपाल, कावासोती । पूर्वी नवलपरासीको कावासोती–३ मा अवस्थित सिद्धार्थ आवासीय माध्यमिक विद्यालयले १३ जाेडी जुम्ल्याहा विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयको ३३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर जुम्ल्याहा विद्यार्थी, अभिभावक र ज्येष्ठ अभिभावकलाई सम्मान गरिएको हो ।
कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै विद्यालयका प्रिन्सिपल भोजराज दाहालले समुदायमा जुम्ल्याहा बच्चा जन्माउने कुरा दुर्लभ रहेको बताउनुभयो । जुम्ल्याहा बच्चा जन्माउने अभिभावकलाई पनि सम्मान गर्नुपर्ने मनन गरी कार्यक्रम गरिएको उहाँको भनाइ छ ।
उहाँले एउटा विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थीले अध्ययन गर्नु पनि दुर्लभ नै रहेको बताउनुभयो । समाजमा जिउँदो इतिहासका रुपमा रहेका ज्येष्ठ नागरिकहरूलाई विद्यालयले स्मरण गर्ने काम गरेको बताउनुभयो ।
तीन पुस्तालाई एकैठाउँमा भेला गरेर एकअर्काको अनुभव साट्न र ज्येष्ठ सदस्यको महत्त्व बारेमा विद्यार्थीहरूलाई जानकारी दिनका लागि पनि कार्यक्रम राखिएको बताउनुभयो । प्रिन्सिपल दाहालका अनुसार वार्षिकोत्सवका अवसरमा विगतमा भइराखेका कार्यक्रमभन्दा नयाँ केही गरौँ भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
यसैगरी, प्रमुख अतिथि वडाध्यक्ष डोरमान गिरीले विद्यालयले गरेको कार्यक्रम अलौकिक कार्यक्रम रहेको बताउनुभयो । उहाँले पछिल्लो समय शिक्षासँगै संस्कार पनि त्यति नै आवश्यक रहेको जानकारी दिनुभयो । संस्कार प्रदान गर्न ज्येष्ठ नागरिकको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिनुभयो । उहाँले ज्येष्ठ नागरिकसँग भएका ज्ञान र सीपलाई पुस्तान्तरण गर्नसमेत आवश्यक रहेको बताउनुभयो ।