जनादेश नेपाल संवाददाता, काठमाण्डौं । काठमाडौं महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले महानगरपालिकाअन्तर्गतका ७१ वटा सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ ।
काठमाडौं महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई ट्राफिक नियमसम्बन्धी सचेतना दिने उद्देश्यले कक्षा सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनु भएको छ ।
विद्यालयको एसेम्बली समयमा दिइएको ट्राफिक सचेतनामा १४ हजार ५९० जना विद्यार्थी लाभान्वित भएका छन् ।
सचेतना कक्षामा पैदलयात्रा गर्दा अपनाउनुपर्ने सावधानी, बाटो काट्दा ध्यान पुर्याउनु पर्ने कुराहरू एवं सडक सुरक्षासम्बन्धी आधारभूत कुराहरू समावेश गरिएको थियो ।
कुल ८९ वटा सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने उद्देश्यले गत मंसिर १५ गतेदेखि सुरु गरिएको यस अभियानमा ७१ वटा विद्यालयमा कक्षा संचालन गरिएको थियो ।
बाँकी रहेका विद्यालयमा पनि निकट भविष्यमै कक्षा संचालन गर्ने योजना रहेको छ । विद्यार्थीहरले सिकेका सडक सुरक्षासम्बन्धी ज्ञान उनीहरुका साथीभाइ र अभिभावकसम्म फैलिने तथा विद्यार्थीहरु भावी सवारी चालकसमेत भएकाले बालबालिकामै सिकेका कुराले दुर्घटना न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रवक्ता भट्टले जानकारी दिनुभयो ।