जनादेश नेपाल, काठमाण्डौं । रोजगारीमा आबद्ध कुल नेपालीमध्ये ०.९ प्रतिशतले मात्रै सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेको र १० हजार जति जनशक्ति मात्रै यो क्षेत्रमा कार्यरत रहेको अध्ययनहरूले देखाएका छन् ।
यस्तोमा नेपालको सूचना प्रविधि क्षेत्रलाई कसरी फराकिलो बनाउँदै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ भन्नेबारे बुधबार काठमाडौंमा एक छलफल आयोजना गरियो । विश्व बैंक समूह, सेन्टर फर डिजिटल ट्रान्सफरमेसन र नेपाल इकोनमिक फोरमले आयोजना गरेको ‘अन क्रिएटिङ जब्स इन डिजिटल नेपाल’ शीर्षकको छलफलका वक्ताहरूले नेपालमा सूचना प्रविधि क्षेत्रका सबै सरोकारवालाहरूले आपसमा समन्वय र सहकार्य गर्दै काम गर्नुपर्ने धारणा राखे ।
‘हामीकहाँ अहिले संघ र प्रदेशस्तरका सूचना प्रविधि क्षेत्रका जनशक्ति र निकायबीच नै समन्वय छैन,’ यूएसएडको मार्केट सिस्टम्स एन्ड इन्टरप्राइज डेभलपमेन्ट निर्देशक कञ्चन गुरुङले भनिन्, ‘पोखरा, धनगढी, चितवनमा गएर हेर्यो भने त्यहाँ सूचना प्रविधि क्षेत्रमा धेरैथोक भइरहेको देखिन्छ । तर, त्यहाँका कम्पनी र जनशक्तिले कसैसँग सहकार्य र संवाद गर्न पाएका छैनन्, कसैसँग जोडिन पाएका छैनन् ।’ यी जनशक्तिलाई एकअर्कासँग जोड्न सके सूचना प्रविधि क्षेत्रको रूप फेरिने सम्भावना रहेको उनले बताइन् ।
सूचना प्रविधिसम्बन्धी काम गर्ने भेन्चर क्यापिटल संस्था लोटस होल्डिङ्स प्रालिका निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत अजित शाहले पनि सूचना प्रविधि क्षेत्रमा एकल प्रयासमा छरपस्ट किसिमले कामहरू भइरहेकाले यो क्षेत्रमा द्रुत प्रगति हुन नसकेको औंल्याए । उनले फिलिपिन्स, भारत, बंगलादेश र भियतनामको उदाहरण दिँदै सूचना प्रविधिको विकासमा त्यहाँका सरकारको हस्तक्षेप र नेतृत्वदायी भूमिकाबारे व्याख्या गरे । त्यसबाट नेपालले पाठ सिक्न सक्ने उनको भनाइ थियो । नेपालका आईटी जनशक्ति विदेशी कम्पनीमा काम गरिरहेको र यसबारे अझ प्रचार आवश्यक रहेको उनले बताए ।
विमेन लिडर्स इन इन्फरमेसन टेक्नोलोजी संस्थाकी सहसंस्थापक नसला जोशीले सूचना प्रविधिका विज्ञहरूबीच पनि समन्वय आवश्यक रहेको बताइन् । नेपाली जनशक्तिलाई विदेशी जनशक्तिसँग पनि जोड्नुपर्ने भनाइ उनले राखिन् । ‘कतिपय नेपालीहरू एप्पल, गुगलजस्ता ठूला कम्पनीमा काम गरिरहेका छन्, उनीहरू सधैंका लागि नेपाल नफर्केलान् तर यहाँ आएर आफ्ना ज्ञान, अनुभव बाँड्न अवश्य इच्छुक होलान्,’ उनले भनिन्, ‘हामी उनीहरूसँग पनि जोडिन आवश्यक छ ।’