विद्यालय शिक्षाका बिर्सिइएका मुद्दा | Education Patra

विद्यालय शिक्षाका बिर्सिइएका मुद्दा


मुलुक संघीय प्रणालीमा गएसँगै संविधानतः विद्यालय शिक्षा सञ्चालन स्थानीय सरकारको कार्यक्षेत्रभित्र आएको छ । कतिपय सवालमा संघले नै अह्रन–खटन गर्न खोजे पनि मूलतः विद्यालय अहिले पालिकाहरूले नै चलाइरहेका छन् । यसबीचमा तीन तहका सरकारमध्ये संघीयताको साख यिनै पालिकाहरूले राखे पनि विद्यालय शिक्षाको प्रगति भने समीक्षाकै कसीमा छ ।

School education is free but public schools are forced to raise fee

पछिल्ला दुई वर्ष कोभिड महामारीका कारण अवस्था प्रतिकूल भए पनि यस अवधिमा विद्यालयहरू कसरी चले भन्ने विषय अवश्य सिंहावलोकनीय छ । यसैबीच राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्षका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्लेको नेतृत्वमा गठित कार्यदलले विद्यालय शिक्षाको जिम्मा स्थानीय तहलाई दिएपछि अनुगमन शून्य भएको र शिक्षकलाई तालिमको व्यवस्थासमेत कमजोर बनेको औंल्याएको छ । ‘विद्यालय शिक्षामा स्रोतसाधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरिवेक्षणको व्यवस्थाका लागि सुझाव दिन गठित’ यस समितिको सुझाव मननीय देखिन्छ ।

मुलुकमा सार्वजनिक शिक्षामा आमूल सुधारको खाँचो छ । आफ्नो समुदायमा रहेका विद्यालयहरूप्रति सबैभन्दा बढी उत्तरदायी र चिन्तित स्थानीय तहहरू नै हुन सक्छन्, हुनुपर्छ पनि । यही मान्यताकै आधारमा संविधानले तिनको सञ्चालनको जिम्मा पालिकाहरूलाई दिएको हो । परन्तु सार्वजनिक विद्यालय शिक्षाको गुणस्तर तथा विद्यार्थीको सिकाइ स्तर जुन रूपमा कमजोर छ, त्यस अनुसार तदर्थ शैलीमा मात्रै विद्यालयहरू पालिकाको पोल्टामा आइहाल्दैमा सुधार भैहाल्ने देखिन्न । अहिले विद्यालयहरू जसरी चलिरहेका छन्, तिनमा बहुआयामिक हस्तक्षेप आवश्यक छ । यसका निम्ति पालिका एक्लैको भन्दा पनि संघीय सरकारकै सुव्यवस्थित नीतिगत सोच आवश्यक छ । पालिकाहरूले आफ्नै तवरमा कतिपय सुधारका पाइला चाल्न अवश्य सक्छन्, तर त्यसका निम्ति पनि केही आधारभूत थिति बस्न बाँकी रहेको कार्यदलले औंल्याएको छ ।

यसअघि विद्यालय निरीक्षकहरूको दरबन्दी नै थियो; त्यससँगै स्रोतकेन्द्र र स्रोतव्यक्तिको अवधारणामा अनुगमन, निरीक्षण पद्धति बसालिएको थियो । शिक्षकहरूमध्येबाटै स्रोतव्यक्ति छनोट गरी निश्चित स्रोतकेन्द्रभित्रका विद्यालयहरू हेर्न लगाउने परिपाटी थियो । नयाँ संविधान अनुसार विद्यालय रेखदेखको अधिकार स्थानीय सरकारलाई आएसँगै साबिकका १ हजार ५३ स्रोतकेन्द्र, २९ शैक्षिक तालिम केन्द्र र ४६ वटा अगुवा स्रोतकेन्द्र खारेजीमा परेका छन् । परिणामस्वरूप विद्यालय शिक्षाको सुपरिवेक्षण प्रणाली अवरुद्ध बनेको कार्यदलको निष्कर्ष छ । ‘स्थानीय तहमा निरीक्षणका लागि दक्ष जनशक्तिसहित उपयुक्त संरचना र मोडालिटी’ नभएको उसको ठहर छ । पालिकाहरूले विद्यालय अनुगमनमा कति ध्यान दिए, त्यो आफ्नो ठाउँमा छ, तर उचित संरचना र जनशक्ति नै नभएपछि इच्छाशक्ति मात्रै पर्याप्त नहुन सक्छ । फेरि सबै पालिका पदाधिकारीसित इच्छाशक्ति नै पनि नहुन सक्छ । संरचना बनाइएपछि प्रणालीले डोर्‍याउँछ, थिति बस्छ । तसर्थ, कार्यदलको सुझावलाई ध्यानमा राख्दै अबका दिनमा विद्यालय शिक्षाको अनुगमन तौरतरिका कस्तो हुने भन्ने उचित निर्क्योलमा पुग्नुपर्छ । कार्यदलले स्थानीय तहले नियुक्त गर्ने सुपरिवेक्षकको राष्ट्रिय मापदण्ड तोक्नुपर्ने जनाएको छ, तर यस्ता संयन्त्र कार्यकर्ता भर्तीस्थल नबनून् भन्नेमा सतर्कता अपनाइनुपर्छ ।

जहाँसम्म तालिमको सवाल छ, यसमा विगतको अनुभवको आलोकमा पनि विचार पुर्‍याइनुपर्छ । विगतमा शिक्षक तालिममा लगानी बालुवामा पानीसरह भएको थियो । शिक्षकहरू तालिममा सिकेका कुरा कक्षाकोठामा रूपान्तरण गर्दैनथे, या तालिममा जेजति शैक्षिक सामग्री प्रयोग हुन्थ्यो, त्यो विद्यालयमा जुट्न सक्दैनथ्यो । यसको अर्थ तालिम बेकार भन्ने होइन; जुनसुकै पेसामा आधारभूत, उन्नत, पुनर्ताजगी लगायत तालिम आवश्यक पर्छन्; सिक्ने–सिकाउने पेसा शिक्षकका लागि त यो झनै आवश्यक पर्छ । खालि यत्ति हो कि, कक्षाकोठामा प्रयोगमा ल्याउन सक्ने तालिम कसरी दिने भन्नेमा अब सचेत रहनुपर्छ । यसै गरी विद्यालयमा सुशासनको न्यूनतम सूचक र मापदण्ड लागू गरी अनुगमनको व्यवस्था मिलाउनुपर्ने कार्यदलको सुझाव पनि कार्यान्वयनमा लैजानु वाञ्छनीय देखिन्छ ।

यस अतिरिक्त, न्यूनतम शिक्षक दरबन्दी पुर्‍याउनुपर्ने र अब्बल विद्यार्थीले शिक्षण पेसा रोज्ने व्यवस्था गर्नुपर्ने कार्यदलका सुझाव उत्तिकै मननयोग्य छन् । अहिले सामुदायिक विद्यालयमा करिब ५७ हजार शिक्षक दरबन्दी अपुग छ । गणित, विज्ञान र अंग्रेजी शिक्षकको अभाव सबैभन्दा बढी छ । कक्षा ११ र १२ मा एउटै स्थायी शिक्षक दरबन्दी छैन । एकातिर आवश्यक शिक्षक अपुग हुनु र अर्कातिर राम्रा जनशक्ति यो पेसामा आकर्षित नहुनु आजको शिक्षाको दारुण चित्र हो, यो पक्षमा सरकारले उचित ध्यान पुर्‍याउनैपर्छ ।

नेपालमा ठूलो राजनीतिक सहमति जुट्नुपर्ने र शैक्षिक क्षेत्रको सबैभन्दा पेचिलो मुद्दामध्येको अर्को विषयमा पनि कार्यदल बोलेको छ, त्यो हो— शिक्षामा निजी क्षेत्रको लगानी । कार्यदलले यस्तो लगानीलाई सेवामूलक स्वरूपमा रूपान्तरण गर्न भनेको छ । उच्चस्तरीय शिक्षा आयोग–२०७५ ले पनि सरकारलाई शिक्षाको लगानी गैरनाफामूलक बनाउनुपर्ने सुझाव दिएको थियो, जुन प्रतिवेदन सरकारले सार्वजनिकसम्म गरेको छैन । यो मुद्दाबाट सधैं भागिरहने छुट सरकारलाई छैन, तथापि विषय आफैंमा जटिल भएकाले संवैधानिक मर्म र सार्वजनिक शिक्षाको सुदृढीकरणका आलोकमा थप अध्ययन, विमर्श र राजनीतिक दल र सरोकारवालाबीचको व्यापक सहमतिका आधारमा मात्र यसबारे ठोस निर्णयमा पुग्नु उचित हुन्छ ।

वास्तवमा विद्यालय शिक्षा सुधारका निम्ति गर्नुपर्ने काम धेरै छन् । तीमध्ये कति त सानो नीतिगत पहल र न्यूनतम स्रोत–साधन जुटाउँदा पनि गर्न सकिन्छ । यही प्रतिवेदनका आधारमा पनि विद्यालयमा पर्याप्त शिक्षकै नहुँदा र अनुगमन, निरीक्षण र तालिमबिनै चल्नुपर्दा कत्ति पनि अघि बढ्न सकिन्न भन्नेमा सम्बन्धित सबै प्रस्ट हुनुपर्छ । यी सवालहरू हल गर्ने तौरतरिका के हुन सक्छन् भन्नेमा चाहिँ विस्तृत विमर्श आवश्यक हुन सक्छ, जसबारे सरकारले ध्यान पुर्‍याउनुपर्छ । कान्तिपुरबाट साभार ।

 

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्