शिक्षालाई उद्यमशीलता विकाससंग जोडन उपराष्ट्रपति पुनको आग्रह | Education Patra

शिक्षालाई उद्यमशीलता विकाससंग जोडन उपराष्ट्रपति पुनको आग्रह


कावासोती। उपराष्ट्रपति नन्दकिशोर पुनले अहिलेको शिक्षा प्रणालीले उत्पादन गरेको जनशक्ति आफैँलाई बोझ हुने स्थिति बनेको बताउनुभएको छ। उहाँले शिक्षा क्षेत्रमा राज्यले अझै विकास गर्न नसकेको भन्दै उद्यमशीलतालाई जोड्ने गरी शिक्षालाई अघि बढाउनुपर्ने बताउनुभयो। शुक्रबार नवलपुरको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले यस्तो बताउनुभएको हो।

blog

कार्यक्रममा बोल्दै उहाँले सामुदायिक र निजी विद्यालयको विभेदका कारण पनि राज्यको शिक्षा सोचेजस्तो नभएको धारणा राख्नुभयो। उपराष्ट्रपति पुनले अब समयसापेक्ष सुधार गरी शिक्षामा गुणात्मक परिवर्तन आवश्यक रहेको बताउनुभयो। सामुदायिक विद्यालयको स्तरोन्नतिसँगै प्राविधिक शिक्षामा जोड दिन सके देशको शैक्षिक क्षेत्रको सुधार हुने उहाँले बताउनुभयो। उपराष्ट्रपति पुनले कुनै–कुनै सामुदायिक विद्यालय नमुनाका रूपमा रहेका छन् र अन्यलाई पनि त्यस्तै बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो।

उहाँले राज्यको ध्यान विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी दिनेतर्फ हुनुपर्ने बताउनुभएको छ। कतै विद्यालयमा विद्यार्थी कम, शिक्षक बढी र कतिपय विद्यालयमा विद्यार्थीको सङ्ख्या धेरै र शिक्षक कम भएर राम्रो पठनपाठनमा समस्या हुने गरेको बताउँदै विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कायम गराउन लाग्नुपर्नेमा जोड दिनुभयो।

नागरिकले सहज रूपमा शिक्षा लिन सकून् भन्ने उद्देश्यले राज्यले सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेको बताउनुभयो। सामान्यतया एउटा विद्यार्थीलाई प्रारम्भिक चरणदेखि कक्षा १२ सम्म कम्तीमा बाह्र वर्ष लगानी गरेपछि जनशक्ति तयार हुने बताउँदै यसैअनुसार योजना र लगानी गर्नुपर्ने उहाँले बताउनुभयो। उपराष्ट्रपति पुनले विद्यालयमा निर्माण गरी स्वर्ण स्तम्भ अनावरण, स्वर्ण स्मारिक विमोचन गर्नुभएको थियो। कार्यक्रममा विभिन्न विधामा योगदन पु-याउने अभिभावक, शिक्षक, पत्रकार र विद्यार्थीलाई सम्मान गरिएको थियो।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्