– प्रेमनारायण भुसाल,
भाइबहिनीहरू तिमीहरूलाई नि थाहा नै छ । विद्यालय बालबालिकाको सिक्ने ठाउँ हो । बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय शिक्षाको धेरै महत्त्व छ । हाम्रो घर वरपरको वातावरणजस्तै विद्यालयको वातावरण पनि बालमैत्री हुनुपर्छ । बढ्दो उमेरका बालबालिकामा सिकाइसँगै वरपरको वातावरण कस्तो छ भन्ने कुराले झन् धेरै महत्त्व राख्छ । आवश्यक छ । त्यसैले हाम्रो विद्यालयको वातावरण बालमैत्री छ कि छैन ? बालमैत्री विद्यालय हुनका लागि के के कुराहरू आवश्यक छन् भन्ने विषयमा यो लेख पढौँ है त ।
बालमैत्री विद्यालय कसरी थाहा पाउने ?
विद्यालयमा बालबालिका रमाउँदै समूहमा काम गर्न सिकुन् भन्ने उद्देश्य राखिएको हुन्छ । यसका लागि विद्यालयको वातावरण रुचिकर र बाल मनोभावनाको कदर हुने किसिमको हुनुपर्छ । युनिसेफले बालमैत्री स्कुल हुनका लागि चारवटा विषयलाई महत्व दिएको छ ।
१. बच्चाको मानसिक विकासका लागि खुसी र स्वतन्त्र वातावरणलाई जोड दिएको छ । जबरजस्ती कक्षाकोठाको नियन्त्रित वातावरणमा बस्नुप¥यो भने न त बच्चा खुसी हुन सक्दछ न त उसको सिकाइ नै प्रभावकारी बन्दछ । त्यसैले विद्यालयमा खुसियाली वातवारण हुनुप-यो ।
२. विद्यालयको शैक्षिक वातावरण सुरक्षित, स्वस्थ र संवद्र्धनात्मक हुनुपर्दछ । बालबालिकाको उमेरअनुसार नयाँ विषय सिकाइको वातावरण छैन भने त्यस विद्यालयलाई बालमैत्री मान्न सकिँदैन । बालबालिकालाई पढाउने वा सिकाउने सन्दर्भमा उमेरअनुकूलका उपयुक्त बौद्धिक खुराक दिनु पनि बालमैत्री विद्यालयको महत्वपूर्ण पक्ष हो ।
३. कक्षामा तालिमप्राप्त शिक्षक र पर्याप्त शैक्षिक सामग्री पनि हुनुपर्छ । कुनै समय थियो, कक्षाकोठामा जाँदा शिक्षकका हातमा लट्ठी हुन्थ्यो । शिक्षकसँग विद्यार्थीहरू डराएनन् भने अनुशासन कायम नभएको भन्ने मानिन्थो । यसैले आधुनिक शिक्षाको मान्यताले बालबालिकामा अन्तरनिहित प्रतिभालाई विकास गर्नका लागि विभिन्न तरिकाबाट प्रोत्साहित गर्ने कुरालाई महìव दिएको छ ।
४. विद्यालयमा बाल अधिकारको प्रत्याभूति र बालबच्चाका मागको सुनुवाइ हुने वातावरण हुनुपर्छ । युनिसेफले बालमैत्री वातावारण हुनका लागि तया गरेका विषयहरू हरेक विद्यालयमा आवश्यक छ । भाइबहिनीहरू, तिमीहरूले पनि विद्यालयमा अध्ययन गरिरहँदा धेरै कुरामा विचार पु-याउन सक्छौँ । एउटा विद्यालयमा बालबालिकाले पूर्ण रूपमा बालमैत्री वातावरणको अनुभव गर्न पाउनका लागि विद्यालयको भौतिक
अवस्था, बालबालिकाको सहभागिताको अवस्था, घरपरिवार अनि समुदायको सहभागिता र वातावरणजस्ता विषयलाई बालमैत्री विद्यालयका आधार मानिएको छ ।
बालमैत्री अवधारणा
स्वास्थ्य, शिक्षा र सुरक्षा बालमैत्री वातावारण आधारभूत सूचक हुन् । यिनको संरक्षण गर्दै उमेरअनुसारका सीप सिक्नका लागि पृष्ठभूमि निर्माण गर्नु बालमैत्री वातावरणको सिर्जना गर्नु हो । विशेषतः विद्यालय बालबालिकाको मनोभावना, रुचि र चाहनाअनुरूप लचक हुनुपर्दछ । अहिले पनि केही विद्यालयमा शिक्षकले दण्ड दिँदा बालबालिका अङ्गभङ्ग भएका समाचार यदाकदा सुनिने गर्दछन् । केही बालबालिका विद्यालयको भयपूर्ण वातावरण सामना गर्न नसकी विद्यालय छोड्ने अवस्थामा पनि पुगेका देखिन्छन् । आफ्ना भावनाको सम्बोधन हुन नसकेकाले मानसिक रूपमा विक्षिप्त बन्ने बालबालिकाको सङ्ख्या पनि ठूलै रहेको अनुमान गरिन्छ ।
भाइबहिनीहरू तिमीहरू विद्यालयमा शिक्षकसँग डराउने होइन, निर्धक्क भएर कुराकानी गर्नुपर्छ । नजानेका कुरा सोध्ने छलफल गरिहाल्ने गर्नुपर्छ । जिज्ञासु हुनुपर्छ । अनुशासनको पालना गर्नुपर्छ । यदि विद्यालयमा आफूमाथि कुनै पनि कुरा अलि असहज लाग्यो भने तत्कालै मनपर्ने शिक्षक तथा शिक्षिकासँग भन्न सक्छौ । गुनासो तथा उजुरी पेटिकामा आफ्नो कुरा राख्न सक्छौ ।
विद्यालयमा अध्ययन गरिहँदा अत्यन्तै खुसी र उल्लासमय वातावरणमा विविध ज्ञान र मनोरञ्जनसँगै शिक्षा लिन सकिन्छ । हामीले यो कुरा कहिल्यै बिर्सनु हुँदैन है ?
विद्यालयलाई पूर्ण रूपमा बालमैत्री बनाउनका लागि नेपाल सरकारले २०८७ सालसम्ममा सबै स्थानीय तहलाई बालमैत्री बनाउने लक्ष्य राखेको छ । विभिन्न ५१ वटा सूचक पूरा भएपछि पालिकाले आफूलाई बालमैत्री घोषणा गर्न पाउने व्यवस्था रहेको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ मा बालमैत्री विद्यालयका निर्देशक सिद्धान्तहरू राखिएको छ । भेदभाव गर्न नपाउने, बालबालिकाको सर्वोत्तम हितलाई जोड दिने र उनीहरूको सर्वाङ्गीण विकास हुने कार्यक्रम तय गर्ने विषयलाई निर्देशिकाले धेरै महत्व दिएको छ । समावेशीकरण र समुदायमा आधारित विकासको सिद्धान्तलाई आत्मसात् गरी विद्यालय र नगर क्षेत्रलाई हामी सबै मिलेर बालमैत्री बनाउन सकिन्छ । गोरखापत्रबाट