एजुकेशनपत्र, काठमाण्डौं । कांग्रेस सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा बोल्दै उनले नेपाली विश्व विद्यालयहरुमा स्वायत्तताको विषय ठूलो बनेको बताएका हुन् ।
विश्वविद्यालयहरु दलीयकरणको मारमा पर्दा शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको उनको भनाइ थियो ।
उनले उच्च गुणस्तरीय शिक्षा प्राप्त नहुँदा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु दक्षिण एशियाली विद्यार्थीहरुसँग पनि प्रतिस्पर्धामा पछि परिरहेको औंल्याए ।
उनले देशभित्र सरकार बाहेकका क्षेत्रबाट शिक्षा क्षेत्रमा आउने पुँजीलाई प्रोत्साहन गर्नुपर्ने बताए । ‘दक्षिण एसियालीस्तरको जब प्रतिस्पर्धाको अवस्था आउँछ, त्यो लक्ष्यमा नेपाली विद्यार्थीहरु, भुटानी विद्यार्थीहरु, अफगानीहरु, भारतीयहरुले त्यहाँ प्रतिस्पर्धा गर्ने सन्दर्भमा हाम्रो शैक्षिक गुणस्तरको नापतौल हुन्छ । त्यहाँ समस्याहरु देखिरहेका छन्,’उनले भने, ‘गुणस्तरमा कमजोरी भएकाले नेपाली विद्यार्थीहरु अन्य देशका विद्यार्थीहरुभन्दा केही पछि
पर्ने सममस्याहरु देखिएका छन् । त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ ।’
बैठकमा नेकपा (माओवादी केन्द्र)की सांसद गंगाकुमारी बेल्वासेले शिक्षामा सार्क राष्ट्रहरुमध्ये नेपाललाई आकर्षणको केन्द्र बनाउनुपर्ने बताइन् । उनले विद्यार्थीहरुमा सानैदेखि विदेश पढ्न जाने मानसिकता विकास भइरहेको भन्दै त्यसलाई रोक्नेगरी अघि बढ्नुपर्ने धारणा राखिन् ।