एजुकेशनपत्र, काठमाण्डौं । शिक्षिका माया आचार्यलाई कमजोर दृष्टि भएका आफ्ना दुई विद्यार्थीलाई कक्षामा सिकाइ प्रक्रियामा जोड्न निकै अप्ठ्यारो भएको थियो । १४ वर्षदेखि शिक्षण पेसामा रहे पनि उनको बुझाइ अपांगता भनेको शारीरिक अपांगता हो भन्ने मात्र लागेको थियो । उनले भनिन्, ‘अपांगताको प्रकार र शारीरिक अपांगताको विषयमा नै म जानकार रहिनछु ।’
जानकी माध्यमिक विद्यालयका शिक्षक जगन्नाथ अर्याल आफैँमा अपांगता भएका व्यक्ति हुन् । सवारी दुर्घटनामा परेर सानै उमेरदेखि उनको देब्रे हातले पूर्ण काम गर्न सक्दैन । तर, उनलाई पनि विद्यार्थीको कठिनाइ बुझ्न गाह्रो भएको रहेछ । उनले भने, ‘विद्यार्थीमा विभिन्न कार्यगत सीमितता हुने रहेछ, आँखाले देख्दाबाहेकका अरू विद्यार्थीको सीमितता नबुझ्दा विद्यार्थीलाई नै दोष दिँदै आएको रहेछु ।’
शिक्षिका आचार्य र शिक्षक अर्याल प्रतिनिधि पात्र मात्र हुन्। चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा अटिजम केयर चितवन सोसाइटीले सिकाइका लागि विश्वव्यापी ढाँचासम्बन्धी शिक्षक तालिम प्रदान गरेपछि यहाँका शिक्षकले सिकाइको विश्वव्यापी ढाँचा र यहाँका विद्यालयका विद्यार्थीको वर्तमान अवस्थाबारे बल्ल सिक्दै छन् ।
अपांगता समावेशी विकासका लागि समावेशी शिक्षा परियोजनाअन्तर्गत चितवनका दुई स्थानीय तहमा सञ्चालन भएको यस तालिममा भरतपुरका एक सय १९ र कालिकाका ३५ गरी एक सय ५४ वटा सामुदायिक विद्यालयमा शिक्षक आबद्ध भएको परियोजनाका संयोजक सुमन पौडेलले बताए । फरकफरक समूह बनाएर विभिन्न स्थानमा दुई चरणमा गरिएको तालिममा पाँच सय २० जना शिक्षक सहभागी थिए ।
उनीहरूले समावेशी शिक्षा भनेको के हो ?, अपांगताको प्रकारहरू, सिकाइमा कमजोर रहेका बालबालिकालाई कसरी सिकाइमा जोड्ने ?, विद्यार्थीका लागि शिक्षकले कक्षाकोठामा तयार पार्ने योजना, विश्वव्यापी ढाँचाअन्तर्गत रहेर हाम्रा स्कुलका भौतिक पूर्वाधार कसरी तयार पार्ने भन्ने विषयमा तालिम दिइएको थियो ।
तालिमपश्चात् शिक्षकले बालबालिकालाई नबुझेकै कारण पीडित बनाएको बताएका थिए । शिक्षिका सीमा सुवेदीले भनिन्, ‘हामीले किन भनेर खोजी पनि गरेका रहेनछौँ, यस्ता सन्देशमूलक तालिम पनि प्राप्त भएन । शिक्षकका लागि अति आवश्यक तालिम रहेछ । हिजोसम्म भएका हाम्रा कमजोरी यो तालिमपश्चात् सुधार हुनेछ।’
हेन्डिक्याप इन्टरनेसनलका प्रोजेक्ट सुपरभाइजर तथा तालिमका सहजकर्ता रमेश बरालले शिक्षकले पराम्परागत विधिबाट नै योजना बनाएर पढाउँदै आएकोमा विभिन्न प्रकारका विभिधता भएका बालबालिका हुन्छन् । र, केही बालबालिकालाई सिकाइ कठिनाइ हुन्छ । त्यही बालबालिकालाई ध्यान दिएर अबको योजना बनाउन हामीले तालिममा सिकाएका छौँ ।अब बन्ने योजनाले पक्कै यहाँको शिक्षामा धेरै परिवर्तन आउँछ । नेपालको लागि यो नमुना परियोजना पनि हो । अटिजम केयर चितवन सोसाइटीले सञ्चालन गरेको परियोजनालाई भरतपुर महानगरपालिका, कालिका नगरपालिकासँगै हेन्डिक्याप इन्टरनेसनल र युके एडले सहयोग गरेका छन् ।
दुई वर्षदेखि १७ वर्षसम्मका बालबालिकासँग काम गर्ने उद्देश्यले मार्चदेखि तीनवर्षे योजना बनाएर यो परियोजना सञ्चालनमा छ । पौडेलका अनुसार शिक्षाको क्षेत्रमा अपांगता भएका बालबालिकाका लागि हामीले काम गरेका छौँ । उनले भने, ‘हामीले ३० हजार बालबालिकामा प्रश्नोत्तरमार्फत कार्यगत सीमितता छ–छैन भनेर प्रारम्भिक पहिचान गरेका थियौँ । हामीलाई प्राप्त तथ्यांकअनुसार एक हजार ६ सय बालबालिकामा कार्यगत सीमितता देखियो । सो कार्यगत सीमिततालाई प्रमाणित गर्न हामीले स्वास्थ्य शिविर गरेका थियौँ ।’
जहाँ विद्यालयबाट एक हजार चार सय ५० बालबालिका र विद्यालयबाहिर समुदायबाट तीन सयभन्दा बढी बालबालिका आएका थिए । स्वास्थ्य शिविरबाट साढे ६ सय बालबालिकामा कार्यगत सीमितता देखिएपछि थप सेवाका लागि भरतपुर अस्पताल र भरतपुर आँखा अस्पताल पठाइएको छ । आफ्नै खर्चमा परियोजनाले उनीहरूको उपचार र सहायक सामग्री उपलब्ध गराउनेछ ।
यसअघि परियोजनाअन्तर्गत गुनासो सुन्ने शिक्षकलाई पनि तालिम दिइएको थियो । पौडेलका अनुसार गुनासो पेटिकासहित परियोजनाले आवश्यक उपकरण पनि दिएको छ। परियोजनाले राष्ट्रिय अपांग महासंघ आबद्ध संस्थाहरूको प्रतिनिधिहरूलाई राखेर पुसमा राष्ट्रिय कार्यशाला गोष्ठी पनि गरेको थियो ।
परियोजनाले घुम्ती शिक्षकमार्फत विद्यालयबाहिरका शिक्षकलाई परियोजनाले बालबालिकालाई शिक्षासँग जोड्दै आएको छ । परियोजनासँगै विद्यालयका भौतिक पूर्वाधारमा काम गने परियोजनाको योजना छ । अटिजम केयर चितवनका सचिव सुनिलचन्द्र शर्माले विद्यालय नपुगेका बालबालिकालाई विद्यालय पुर्याउने र विद्यालय पुगेकालाई समावेशी ढंगबाट शिक्षा प्रदान गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको हो । कार्यगत सीमितता भएका बालबालिका पहिचान गर्नु र उनीहरूलाई विश्वव्यापी ढाँचाको शिक्षा दिनु नै परियोजनाको लक्ष्य हो । नयाँपत्रिकाबाट