काठमाडौँ । शंखमूलस्थित स्मार्ट फेसन वेयरकी सञ्चालक मनीषा थापाले आफ्नो पसलमा दुई वर्षदेखि क्यूआर कोड राखेकी छन् । तर पछिल्ला केही महिनादेखि मात्रै क्यूआर कोडमार्फत हुने भुक्तानी बढ्दै गएको उनको अनुभव छ । कपडा किनेपछि नगद तिर्ने वा क्यूआर कोड प्रणालीमार्फत पैसा तिर्ने दुवै सेवा रहेको उनको भनाइ छ ।
‘हिजोआज प्रतिदिन २० देखि ३० जनाले क्यूआर स्क्यान गरेर नै पैसा तिर्छन्,’ उनले भनिन्, ‘झन्डै ६/७ महिनादेखि क्यूआरमार्फत पैसा तिर्ने बढेका हुन् ।’ पसलमा नगदभन्दा क्यूआर कोडमार्फत पैसा तिर्ने ग्राहकको संख्या बढेको उनले बताइन् ।
‘नगदभन्दा क्यूआर कोडमार्फत कारोबार गर्दा सजिलो भयो । नगद कारोबार हुँदा ५ रुपैयाँदेखि पाँच सय रुपैयाँसम्मको खुला पैसा राख्नुपर्थ्यो, कहिलेकाहीं खुला पैसा नहुँदा नजिकको पसलमा साट्न जानुपर्थ्यो,’ उनले भनिन्, ‘क्यूआर कोडमार्फत जति पैसा हो, त्यति नै तिर्न सजिलो छ, हामीले पनि नगद बोकेर बैंकमा गइरहनुपर्ने बाध्यता हट्यो ।’ होलसेलमा जाँदा जोखिम मोलेर नगद पैसा बोकेर जानु नपर्ने अवस्थासमेत आएको उनले सुनाइन् । ‘क्यूआर गरेर हालेको पैसा सिधै खातामा जान्छ, त्यही पैसा मोबाइल बैंकिङमार्फत अन्य ठाउँमा हाल्न पनि भयो,’ थापाले भनिन्, ‘नगद चाहिए एटीएममार्फत निकाल्न नि पाइयो ।’
पछिल्लो समय तरकारी, किराना पसलदेखि सपिङ मल, सुपरमार्केटसम्म क्यूआर कोड राख्न थालिएको छ । स्कुल, कलेज, अस्पताल, फार्मेसीलगायत जुनसुकै क्षेत्रमा बिल तिर्न, टिकट काट्न क्यूआरमार्फत वा अन्य वालेटमार्फत भुक्तानी गर्न सकिने व्यवस्था छ । शंखमूलस्थित मोबाइल मर्मत सेन्टरका महेन्द्र चौधरीले पनि क्यूआर कोड राख्न थालेको ३ वर्षभन्दा बढी भयो । पसलमा खरिद गरेका सामान, फोन मर्मत गरेको बिलसँगै नगद निकाल्नसमेत क्यूआर कोडमार्फत भुक्तानी सजिलो भएको छ । मोबाइल बैंकिङ तथा विभिन्न वालेटमा भएको पैसा नगद निकाल्नसमेत क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहक बढेको उनले जनाए । ‘पसलमा मोबाइल, ल्यापटप मर्मत गरेको बिल तथा अन्य बिलहरूको भुक्तानी क्यूआरमार्फत नै हुन्छ,’ उनले भने, ‘नगद निकाल्न पनि क्यूआर नै प्रयोग हुन्छ ।’ पछिल्लो समय क्यूआर कोड प्रणालीमार्फत हुने भुक्तानी बढ्दै गएको सरकारी तथ्यांकले समेत देखाएको छ ।
उपभोक्ताले मोबाइलमार्फत नै क्यूआर कोड ‘स्क्यान’ गरेर बिल भुक्तानी गर्न सकिने हुँदासमेत कारोबार र रकम बढेको हो । राष्ट्र बैंकको मंसिरको तथ्यांक हेर्दासमेत क्यूआर कोडमार्फत हुने भुक्तानी बढ्दै गएको देखिएको छ ।
गत वर्षको पुसको तुलनामा यस वर्षका पुसमा १६१.०२ प्रतिशतले क्यूआर कोडमार्फत हुने भुक्तानी बढेको छ । चालु आर्थिक वर्षको पुसमा मात्रै क्यूआरमा आधारित भुक्तानी १७ अर्ब ३ करोड २० लाख रुपैयाँ छ । पुसमा ५६ लाख १८ हजार ८ सय २६ वटा कारोबार क्यूआरमार्फत भएको छ ।
गत वर्षको मंसिरमा १६ लाख ४९ हजार ३९७ वटा कारोबार हुँदा ६ अर्ब ५२ करोड ५० लाख रुपैयाँ क्यूआरमार्फत भुक्तानी भएको थियो । चालु आर्थिक वर्षको मंसिरमा ५१ लाख ९ हजार ६३१ वटा कारोबार हुँदा १९ अर्ब ३४ करोड ६० लाख रुपैयाँ क्यूआरमार्फत भएको छ । मंसिर महिनाको तुलनामा पुसमा क्यूआरमार्फत हुने भुक्तानी घटेको हो । साना र खुद्रा भुक्तानीका लागि सहज हुने हुँदा क्यूआर कोडमा आधारित भुक्तानीको परिमाण बढ्दै गएको हो ।
नेपाल राष्ट्र बैंकको प्रतिवेदनले समेत पछिल्लो समय विद्युतीय भुक्तानी बढ्दै गएको देखाएको छ । बैंकसम्म पुग्नु नपर्ने, आफू रहेको स्थानबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिनेलगायत विविध शीर्षकमा यस्तो भुक्तानी बढेको हो । मंसिरमा १ खर्ब ६० अर्ब ३ करोड ६० लाख रुपैयाँ मोबाइल बैंकिङमार्फत भुक्तानी हुँदा पुसमा १ खर्ब ६७ अर्ब ८० करोड ७० लाख भएको छ । गत वर्षको पुसमा मोबाइल बैंकिङमार्फत ९४ अर्ब ४० करोड ७० लाख रुपैयाँ मात्रै भुक्तानी भएको थियो । तर विद्युतीय भुक्तानीअन्तर्गत नै हुने इन्टरनेट बैंकिङको कारोबार र भुक्तानी भने घटेको छ । गत वर्षको पुसमा १३ अर्ब ४९ करोड ६० लाख रुपैयाँ भुक्तानी हुँदा चालु आर्थिक वर्षको पुसमा १२ अर्ब २९ करोड १० लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ ।
राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक कारोबार गर्न पाइने रकमको सीमासमेत बढाएको छ । मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने सुविधा कायम गरेको छ । यसअघि दैनिक २ लाख रुपैयाँसम्मको मात्रै सीमा थियो ।
वालेटबाट बैंक खातामा वा बैंक खाताबाट वालेटमा कारोबार गर्न पाइने रकमको सीमा पनि बढेको छ । अब वालेटबाट बैंक खातामा वा बैंक खाताबाट वालेटमा दैनिक २ लाख रुपैयाँसम्म कारोबार (ट्रान्सफर) गर्न सकिनेछ । यसअघि यस्तो सीमा जम्मा १ लाख रुपैयाँसम्म थियो । यस्तो कारोबार प्रतिमहिनाका लागि भने पुरानै सीमा १० लाख कायम गरिएको छ । डिजिटल पेमेन्टप्रति उपभोक्ताको रुचिसमेत बढ्दै गएकाले कारोबार वृद्धि भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए । ‘कोरोना महामारीपछि मुलुकमा डिजिटल पेमेन्ट बढ्दै गएको हो,’ उनले भने, ‘पैसा छुन नहुने, मान्छे मान्छेले छुन नहुने अवस्थामा डिजिटल पेमेन्ट बढेको हो ।’ नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार ७० प्रतिशत मानिससँग स्मार्टफोन हुँदा डिजिटल भुक्तानी बढ्न थालेको पौडेलको भनाइ छ । राष्ट्र बैंकको नीतिगत व्यवस्थाले पनि विद्युतीय भुक्तानीलाई थप प्रोत्साहन गरिरहेको उनले बताए । कान्तिपुरबाट