एजेन्सी । डिजिटल प्रयोगमा भारतका ८४ करोड जनता इन्टरनेटसँग र एक अर्बभन्दा बढी जनसंख्या मोबाइल फोनसँग जोडिएका छन्
भारत बलियो अर्थतन्त्र र शक्तिमा त परिचित छ नै, सूचना र प्रविधिमा पनि भारतले अभूतपूर्व प्रगति गरिरहेको छ । हिजोआजको भारत अर्थतन्त्र, सैन्यशक्तिका साथै सूचना प्रविधिले पनि चिनिन थालेको छ । कुनै वेला विश्वमा सूचना प्रविधिमा पछाडि रहेको भनिएको भारत हिजोआज डिजिटल प्रविधि र त्यसको व्यावहारिक प्रयोगमार्फत विश्वका अग्रणी देशमा गनिन थालेको छ । सफल डिजिटल इन्डियाले देशको तस्बिर परिवर्तन गर्दै लगिरहेको छ ।
केही समयअघि माइक्रोसफ्टका प्रमुख सत्य नडेला भारत यात्रामा आएका थिए । यात्राका क्रममा उनले एक कार्यक्रममा भारतको डिजिटल स्वरूप बदलिएको बताए । ‘भारतले प्रविधिको सदुपयोग तीव्र गतिमा जसरी भारतलाई डिजिटल रूपमा सशक्त बनाएको छ, जसरी समाज र ज्ञानमा आधारित अर्थतन्त्रलाई बदल्ने कोसिस गरिरहेको छ, यो प्रयास मैले यसअघि देखेको थिइनँ,’ उनको भनाइ थियो ।
यस्तै, हालसालै भारत भ्रमणमा आएको जी–२० प्रतिनिधिको टोलीले भारतलाई ‘डिजिटल प्रविधिको अग्रणी’ भन्न भ्यायो । भारतमा भइरहेको डिजिटल परिवर्तनको सराहना गर्दै टोलीले राजस्थानको उदयपुरस्थित शिल्पग्राममा राजस्थानी हस्तकलाका वस्तु खरिद गर्न युपिआईको उपयोग गरेको थियो । प्रतिनिधि टोलीका एक सदस्य रासा खालि बिन अफतानले सबै देशले भारत र यसको उच्च प्रविधि सिक्न जरुरी भएको बताएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले सन् २०१५ जुलाई १ मा डिजिटल इन्डिया अभियान सार्वजनिक गरेका थिए । यस अभियानको प्रारम्भिक उद्देश्य भनेको ग्रामीण क्षेत्रलाई द्रुत गतिको इन्टरनेट सञ्जालसँग जोड्दै देशमा डिजिटल साक्षरता र प्रयोगमा व्यापक सुधार ल्याउनु थियो । यो अभियान विशेष रूपमा तीन क्षेत्रमा केन्द्रित थियो । एक, प्रत्येक नागरिकका लागि उपयोगिताका रूपमा डिजिटल पूर्वाधार ढाँचा, दुई, मागमा शासन र सेवा तथा तीन, डिजिटल सशक्तीकरण । खासगरी, डिजिटल इन्डियाका नौवटा स्तम्भ रहेका छन् ।
ती हुन्– ब्रोडब्यान्ड हाइवे, मोबाइल केनेक्टिभिटीसम्म आमनागरिकको पहुँच, सार्वजनिक इन्टरनेट पहुँच कार्यक्रम, ई–सरकार : प्रविधिमार्फत सरकारमा सुधार, ई–क्रान्ति : सेवाको इलेक्ट्रिक डेलिभरी, सबैका लागि सूचना, इलेक्ट्रोनिक्स निर्माण, जागिरका लागि आइटी र प्रारम्भिक बाली कार्यक्रम । यीमध्ये प्रत्येक क्षेत्र आफैँमा जटिल कार्यक्रम हुन् । यी विभिन्न मन्त्रालयसँग जोडिएका छन् । डिजिटल इन्डियाअन्तर्गत महत्वपूर्ण कदममा डिजिटल कर, ई–स्वास्थ्य अभियान, ई–शिक्षा अभियान, ई–क्रान्ति (सेवाको इलेक्ट्रोनिक डेलिभरी) भीम : युपिआई पोर्टल र ई–अस्पताल आदि सामेल छन् ।
कुनै वेला विश्वमा सूचना प्रविधिमा पछाडि रहेको भनिएको भारत हिजोआज डिजिटल प्रविधि र त्यसको व्यावहारिक प्रयोगमार्फत विश्वका अग्रणी देशमा गनिन थालेको छ । सफल डिजिटल इन्डियाले देशको तस्बिर परिवर्तन गर्दै लगिरहेको छ ।
डिजिटल इन्डिया क्रार्यक्रम भलै औपचारिक रूपमा सन् २०१५ सुरु भए पनि यसको जग भने पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीले सन् २००२ मै राखेका हुन् । वाजपेयी नेतृत्वको सरकारले नै भारतमा एक सशक्त सूचना र सञ्चार नेटवर्क बनाउने घोषणा गरेको थियो । आज डिजिटल प्रयोगको मञ्चमा भारत विश्वव्यापी रूपमा अग्रणी देश बनेको छ । भारतका ८४ करोड जनता इन्टरनेटसँग जोडिएको र एक अर्बभन्दा बढी जनसंख्या मोबाइल फोन प्रयोगकर्ता रहेको बताइएको छ । यसमा झन्डै ६० करोड मानिसले स्मार्टफोन प्रयोग गरिरहेका छन् ।
भारतको डिजिटल अर्थव्यवस्थाको वर्ष सन् २०२५ सम्म एक ट्रिलियन डलर पार गर्ने सम्भावना रहेको बताइएको छ । ई–सरकारसँग सम्बन्धित इलेक्ट्रोनिक कारोबारमा तीव्र वृद्धि भएको छ । भारत नेट कार्यक्रमअन्तर्गत करिब तीन लाख किलोमिटरको अप्टिकल फाइबर नेटले १.१५ लाखभन्दा बढी गाउँलाई एकआपसमा जोडेको छ ।
गाउँदेखि सहरसम्म, साना खुद्रा व्यापारीदेखि ठुल्ठूला व्यावसायिक संस्थान सबैले युपिआईको प्रयोग गरिरहेका छन् । सानोभन्दा सानो वस्तु खरिद–बिक्रीमा पनि क्युआर प्रयोग गरिरहेका छन् । यसले भारतलाई डिजिटल इन्डियामा बदलिरहेको छ ।
त्यसो त डिजिटल इन्डियाले सफलतापूर्वक इन्टरनेट कनेक्टिभिटीको विस्तार गरेको छ । साथै, ई–सरकार, ई–स्वास्थ्यजस्ता महत्वपूर्ण नीति लागू पनि गरिसकेको छ । यो अभियान डिजिटल साक्षरतालाई बढावा दिन र डिजिटल प्रविधिसम्म पुर्याउन चाहने अन्य देशका लागि सिकाइको मोडेलका रूपमा पनि काम लाग्न सक्छ ।