एजुकेशनपत्र । कोरोना महामारीबीच माइक्रो चिपको माग ह्वात्तै बढ्यो, जसको आपूर्तिमा दुई वर्षपछिसम्म पनि सुधार हुन सकेको छैन ।
सन् २०२२, अक्टोबरमा विश्वकै ठूलो कार निर्माता कम्पनीले एउटा गम्भीर समस्या भोग्नुर्यो । स्विडेनको लग्जरी कार ब्रान्ड भोल्भोले एक हप्ता कम्पनी बन्द गर्ने घोषणा गर्यो । जापानको टोयोटा कार कम्पनीको अवस्था पनि यस्तै भयो । उसले उत्पादन लक्ष्य घटाउनुपर्यो । यसको कारण गाडीको माग कम भएर होइन, कार निर्माणमा प्रयोग हुने सेमिकन्डक्टर अर्थात् माइक्रो चिप हो ।
कोरोना महामारीबीच माइक्रो चिपको माग ह्वात्तै बढ्यो । बढ्दो मागलाई पूरा गर्न मुस्किल भयो । तर, त्यसको दुई वर्ष पनि सेमिकन्डक्टर आपूर्तिमा अझै सुधार हुन सकेको छैन । माइक्रो चिप बनाउने प्रमुख देश ताइवान हो । अहिले अमेरिका र चीनले पनि यसको उत्पादनमा अर्बौं डलर लगानी गरिरहेका छन् ।
दक्ष चिप : माइक्रो चिपको प्रयोग मोबाइल फोन र कम्प्युटर अपरेटिङ सिस्टमदेखि एड्भान्स कम्प्युटर र मेडिकल मेसिनमा पनि हुन्छ । एउटा सानो र पातलो सिलिकन चिपमा तारको संरचना हुन्छ । यस्तै, सेडिकन्डक्टर अर्थात् माइक्रो चिप विभिन प्रकारका हुन्छन् । डेटा संग्रह गर्ने मेमोरी चिपजस्तै लजिक चिप पनि हुन्छ, जुन कम्प्युटर प्रोसेसरमा काम लाग्छ । तेस्रो भनेको माइक्रो चिप हो । यो निकै शक्तिशाली हुन्छ । आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) मार्फत जटिल कम्प्युटर र सुपर कम्प्युटरमा यसैको प्रयोग हुन्छ । र, यो स्वचालित कारमा प्रयोग हुन्छ ।
हार्वर्ड केनेडी सेन्टरमा माइक्रो चिप्सँग जोडिएका वरिष्ठ शोधकर्ता तथा ताइवानका पूर्वसांसद जेसन सूका अनुसार एड्भान्स माइक्रो चिपको विकास ‘मोर्स ल’को सिद्धान्तमा चल्छ । अर्थात्, प्रत्येक दुई वर्षमा नयाँ जेनेरेसनको चिपको आकार छोटो हुँदै जान्छ भने दोब्बर शक्तिशाली पनि । जटिल र विशाल डेटा प्रोसेसिङमा यसको शक्ति दोब्बर हुँदै जान्छ भने आकार आधा कम हुँदै जान्छ ।
माइक्रो चिपको आकार न्यायोमिटरमा मापन हुन्छ । ताइवानमा बनिरहेको एड्भान्स माइक्रो चिप केवल तीन न्यानोमिटर हुन्छ । अढाई करोड एड्भान्स चिप एक इन्चबराबर भए झैँ यसको आकार यहीँबाट अनुमान लगाउन सकिन्छ । माइक्रो चिप शक्तिशाली त हुन्छ नै, त्यसको उत्पादन पनि निकै कठिन हुन्छ । यसलाई एड्भान्स ल्याबमा बनाइन्छ, जसलाई फ्याब भनिन्छ । जेसनका अनुसार हलिउडका फिल्मजस्तै यस्ता ल्याब अत्यधिक महँगो हुन्छ । यसको बजेट पनि उत्तिकै अधिक हुन्छ । एउटा फ्याब ल्याब बनाउन झन्डै २० अर्ब डलरका साथै समय पनि वर्षौं लाग्छ ।
विश्वमा माइक्रो चिप बजारको ४० प्रतिशत हिस्सा ताइवान सेमिकन्डक्टर उत्पादक कम्पनी अर्थात् टिएसएमसीसँग छ । गत वर्ष टिएसएमसीले पाँच हजारभन्दा बढी कम्पनीका लागि १२ हजारभन्दा बढी प्रकारका चिप्स बनाएको थियो ।
विश्वका प्रसिद्ध कम्पनीले मात्र यस्ता ल्याब बनाउँछन् । प्रशिक्षित र कुशल इन्जिनियरले त्यहाँ काम गर्छन् । यसको नक्कल पनि सजिलै गर्न सकिँदैन । फ्याब ल्याबको अर्को विशेषता भनेको यो कहिल्यै बन्द हुँदैन । ल्याबमा दुई–तीन सिफ्टमा इन्जिनियरले काम गरिरहेका हुन्छन् । यसमा लगातार परिवर्तन हुन्छ, निर्माण प्रक्रिया बदलिन्छ । माइक्रो चिपमा ताइवान सधैँ अग्रणी रहिरहनेछ ।
ताइवानको टेक्नोलोजी नियम : माइक्रो चिप सन् १९५० को दशकमा पहिलोपटक अमेरिकी एक कम्पनी टेक्सास इन्स्ट्रुमेन्ट्सका इन्जिनियर ज्याक क्युबीले बनाएका थिए । यसको प्रयोग पहिले पकेट क्याल्कुलेटरमा गरिन्थ्यो । पछि मोबाइल फोन र अन्य इलेक्ट्रोनिक उत्पादनमा हुन थाल्यो ।
टफ्स विश्वविद्यालयका प्रोफेसर क्रिस मिलरका अनुसार इलेक्ट्रोनिक उत्पादनमा ताइवान पछिल्लो पाँच दशकयता प्रमुख देश बनिरहेको छ । सन् १९७० को दशकमा मोरिस चेन नामक इन्जिनियरले ताइवानमा चिप बनाउने कम्पनी निर्माणका लागि त्यहाँको सरकारलाई आमन्त्रण गरी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी स्थापना गरे । त्यसयता कम्पनीको कारोबार बढ्दै गयो र आज विश्वमै सर्वाधिक बिक्री हुने ९० प्रतिशत एड्भान्स माइक्रो चिप यही कम्पनीमा बन्छ । विश्वमा माइक्रो चिप बजारको ४० प्रतिशत हिस्सा ताइवान सेमिकन्डक्टर मेनुफ्याक्चरिङ कम्पनी अर्थात् टिएसएमसीसँग छ । यो कम्पनीले एप्पलसँग पनि काम गर्छ ।
गत वर्ष टिएसएमसीले पाँच हजारभन्दा बढी कम्पनीका लागि १२ हजारभन्दा बढी प्रकारका चिप्स बनाएको थियो । चिप्समा ताइवानको लगभग एकाधिकारजस्तै छ । क्रिस भन्छन्, ‘यीमध्ये अधिकांश माइक्रो चिप्स चीनमा निर्यात हुन्छ । चीनमा यसको प्रयोग मोबाइल र विश्वभर सप्लाई हुने कैयौँ इलेक्ट्रोनिक चिजमा हुन्छ । विश्वका कैयौँ देश यसका ग्राहक छन् ।’
यो उद्योग ताइवानको शीर्ष स्थानमा पुग्नुअघि जापान र अमेरिकाको कम्पनी अगाडि थिए । उनीहरूले मेमोरी र लजिक चिप बनाउँथे । क्रिसका अनुसार अब चिप उद्योग दुई भागमा विभाजित छ । एउटा, चिप डिजाइन गर्ने र अर्को त्यसको उत्पादन गर्ने । पहिले जुन कम्पनीले डिजाइन गथ्र्यो, उसैले उत्पादन पनि गथ्र्यो । तर, अब एप्पल, एमडीजस्ता कम्पनीले डिजाइन मात्रै गर्छन् भने त्यसको उत्पादन अरू नै कम्पनीले गर्छन् । अब टिएसएमसी सर्वाधिक विशिष्ट चिप बनाउने ठूलो कम्पनी हो ।
चीनको रणनीति : विश्वमा माइक्रो चिपको सबभन्दा ठूलो उपभोक्ता भनेको चीन हो । टिएसएमसीका दुई माइक्रो चिप प्लान्ट चीनमै छन् । चीन माइक्रो चिपमा आत्मनिर्भर हुन चाहन्छ । उसले आफ्ना सेनाको आधुनिकीकरण र मानवअधिकारमाथि अंकुश लगाउने हतियार निर्माणमा चिप उद्योगमा ठूलो भूमिका चाहन्छ । चीनले स्वयं माइक्रो चिप बनाउन सन् २०१४ मा २२ अर्ब डलरको कोष स्थापनासमेत गरेको थियो ।
कुनै पनि चिजको माग र आपूर्तिलाई सन्तुलनमा राख्दा उतारचढाव आउँछ नै । तर, विश्वको आवश्यकता पूरा गर्ने चिप आपूर्तिका लागि आवश्यक कच्चा माल, प्रविधि, कौशलता र साधन उपलब्ध छन् । तर, आकारमा सानो यो प्रविधिका कारण ताइवान अमेरिका र चीनजस्ता महाशक्तिबीचमा फसेको छ । अमेरिकाको बराबरीमा आउन चीन यो प्रविधिमा अर्बौं डलर खर्च गरिरहेको छ भने अमेरिकाले त्यसलाई रोक्न उसैगरी अर्बौं डलर खर्चिरहेको छ ।
– बिबिसी