काठमाडौं । भारतको बिहारमा सन् २०१८ मा शिक्षक निरज मोदीले १२ वर्षीया विद्यार्थीलाई बलात्कार गरे । घटनाको १० दिनपछि उनीमाथि उजुरी पर्यो र मोदी २ महिना जेल बसेपछि रिहा भए ।
अदालतमा मुद्दा जारी रहँदा निरज मोदीको मृत्युको कागजात पेश भयो । घटनाको एकमात्र अभियुक्तको मृत्यु भएको भन्दै अदालतले पनि मुद्दा खारेज गरिदियो । तर पीडितकी आमाले अदालतलाई झुक्याइएको दाबी गर्दै सत्य पत्ता लगाएरै छाड्ने अठोट लिइन् र उनले पीडकलाई सजाय दिलाएर छोडिन् ।
गत वर्ष फेब्रुअरीको झिसमिसे बिहान गंगा नदीको घाटमा मृत्यु संस्कारका लागि भन्दै दुई व्यक्ति आइपुगे । घाटमा दाउरा संकलन गरिरहेका उनीहरूले शव भने बोकेका थिएनन् । जब उनीहरू चिता जलाउने ठाउँमा पुगे घटनाले नाटकीय रूप लियो ।
घाटमा दुई व्यक्तिले चिता तयार गरे । दुई मध्ये एक व्यक्ति चितामा सुते । अर्काले ती व्यक्तिको शरीरमाथि दाउरा थप्दै गए । चितामाथिको उनको तस्विर कैद गरियो ।
चितामा बस्ने व्यक्ति थिए भारतका ३९ वर्षीय निरज मोदी । आफ्ना ज्युँदो छोरालाई चितामा सुताएर तस्बिर कैद गर्ने व्यक्ति थिए राजाराम मोदी ।
निरजमाथि १२ वर्षीया आफ्नै विद्यार्थीलाई बलात्कारको अभियोग लागेको थियो । ऊखु खेतमा ती बालिकालाई करणी गरेका थिए । निराजले दृश्य कैद गरिएको भन्दै सार्वजनिक गर्ने धम्की पीडितलाई दिएका थिए ।
घटनाको जानकारी पाए लगत्तै पीडित बालिकाकी आमाले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले तुरून्तै निरजलाई हिरासतमा लियो । प्रहरी हिरासतमा रहेका निरज दुई महिनापछि धरौटीमा रिहा भए । निरज धरौटीमा छुटेपछि राजारामले यो कृत्य गरेका थिए ।
छोराको तस्बिर कैद गरेपछि घाटमा दाउरा खरिद गरेको रसिद लिएर १ सय किलोमिटरको यात्रा तय गर्दै वकिल लिएर अदालत पुगे । आफ्नै निवासमा छोराको मृत्यु भएको भन्दै उनले प्रमाण स्वरुप चिताको तस्बिर र घाटको रसिद पेश गरे । फेब्रुअरीमा प्राप्त कागजातको आधारमा अदालतले फैसला गर्यो, ‘घटनाको एक मात्र अभियुक्तको मृत्यु भएकाले यो मुद्दाउपरको कारबाही अघि बढ्दैन ।’
अदालतको फैसलालाई आधार मान्दै स्थानीय निकायले पनि निरजको मृत्यु दर्ता बनाइदियो । प्राप्त दसिका आधारमा अदालतले निरजको मृत्युलाई सत्य साबित गरिदियो । पीडितकी आमाले मात्रै यो विषय झुठो रहेको दाबी गरिरहिन् । ‘निरजको मृत्यु भएको सुन्नासाथ मलाई यो षडयन्त्र हो भन्ने लागिरह्यो,’ उनले भनिन्।
यसरी सुरू भयो थप अनुसन्धान
भारतमा प्रत्येक १० मृतक मध्ये ७ जनाको मृत्यु गाउँमा नै हुनेगरेको तथ्यांक छ । यी मध्ये अधिकांशको मृत्यु शहरमा नभएर गाउँको घरमै हुनेगरेको तथ्यांक छ । भारतको ५४ वर्ष पुरानो कानुनले जन्म र मृत्यु दर्ता अनिवार्य गरेको छ । मृत्यु दर्ता गर्दा मृत्युको कारण खुलाउनुपर्ने कानुनमा उल्लेख छैन ।
तर जब बिहारमा कसैको मृत्यु हुन्छ, परिवारका सदस्यले बायोमेट्रिक पहिचान नम्बर पञ्चायत वा गाउँ परिषद्लाई उपलब्ध गराउनुपर्छ । यसमा परिवारको सदस्यसँगै छिमेकका पाँच जनाको दस्तखत अनिवार्य हुन्छ ।
यो प्रक्रिया पूरा गरेपछि कागजात जाँचबुझ गरेर गाउँ परिषद्ले एक सातामा मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराउँछ । ‘हाम्रो गाउँको जनघनत्व निकै बाक्लो छ । तर हरेकले हरेकलाई पहिचान गर्छन् । गाउँमा कसैको मृत्युबारे कोही बेखबर हुने कुरै हुँदैन । सबैलाई सबैको विषयमा सूचना हुन्छ,’ पीडित पक्षका वकिल जयन करन गुप्ता भन्छन् ।
राजाराम मोदीले पनि छोराको बायोमेट्रिक पहिचान नम्बर गाउँपरिषद्लाई उपलब्ध गराउनका लागि पाँच जनाको हस्ताक्षर तयार गरे । उनले पेश गरेको कागजातमा मृत्युको कुनै कारण उल्लेख छैन । घाटमा दाउरा खरिद गरेको रसिदमा भने रोगका कारण मृत्यु भएको उल्लेख थियो ।
२७ फेब्रुअरीमा राजारामले छोराको मृत्यु भएको कागजात अदालतमा बुझाएका थिए । मे महिनामा अदालतले मुद्दा खारेज भएको सूचना दिएको जानकारी करनले पीडित पक्षलाई जानकारी गराए । ‘एउटा शिक्षकको मृत्यु हुँदा पूरै गाउँ कसरी बेखबर हुनसक्छ ? मृत्यु नै भएको हो भने मृत्यु पछिको संस्कार किन गरिएन र कसैले पनि निरजको मृत्युको चर्चा किन गरिरहेको छैन ?’ पीडितकी आमाले वकिललाई प्रश्न गरिन् ।
अदालतले निरजको मृत्यु भएको भन्दै मुद्दा खारेज गरिदिएपछि पीडितकी आमाले गाउँका प्रत्येक घरमा सोधखोज गरिन् । कसैले पनि निरजको मृत्यु भएको कुरा दाबी गर्न सकेनन् । त्यसपछि पीडितकी आमा अदालत पुगेर मुद्दामाथि अनुसन्धानको आदेश दिन अनुरोध गरिन् । तर न्यायाधीशहरूले निरज जीवित रहेको प्रमाण ल्याउन भने ।
मे महिनाको मध्येमा पीडितकी आमाले स्थानीय निकायका अधिकारीहरूविरुद्ध उजुरी दिइन् । फर्जी कागजातको आधारमा निरजको मृत्यु दर्ता गरेको दाबी सहित उनले अनुसन्धानको माग गरिन् ।
यो उजुरीपछि अनुसन्धानले तीव्रता पायो । प्रहरी प्रशासनले गाउँ परिषद्लाई उजुरीबारे जानकारी गरायो । त्यसपछि निरजको मृत्युको थप कागजात ल्याउन निर्देशन दियो । गाउँ परिषद्ले २ सय ५० घरधुरीमा सोधपुछ गर्यो । कसैले पनि निरजको मृत्युबारे सूचना दिन सकेनन् । कोही आफन्तको मृत्युपछि नजिककाहरूले शोकमा कपाल खौरिनुपर्ने चलन छ । तर निरजको मृत्यु भएको भनिए पनि कसैले कपाल खौरिएको पाइएन । ‘नातेदारहरूलाई पनि निरजको मृत्युबारे कुनै खबर भएको पाइएन,’ प्रहरीका अनुसन्धान अधिकृत रोहित कुमार पासवानले भने ।
गाउँमा सोधपुछपछि गाउँपरिषद्ले राजाराम मोदीलाई सोधपुछ गर्यो । उनले पनि छोराको मृत्युबारे थप तथ्य पेश गर्न सकेनन् । ‘राजारामले सन्तोषजनक जवाफ नै दिन सकेनन्,’ गाउँ परिषद्का सचिव धर्मेन्द्र कुमारले भने।
निरज मोदीको मृत्यु सत्य नरहेको र उनको मृत्यु दर्ताको प्रमाणपत्र फर्जी रहेको गाउँ परिषद्को अनुसन्धानले निष्कर्ष निकाल्यो । निरज स्वयंले आफ्नो मृत्युदर्ताका लागि पाँच जना विद्यार्थीका अभिभावकलाई झुक्याएर पहिले नै हस्ताक्षर गराएको पाइयो । विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि हस्ताक्षर चाहिने भन्दै उनले बायोमेट्रिक पहिचान नम्बर उल्लेख गर्न लगाएर पाँच जनाको हस्ताक्षर संकलन गरेको अनुसन्धानबाट पत्ता लाग्यो ।
२३ मेमा निरजको मृत्यु दर्ता खारेज भयो । प्रहरीले निरजको बुवालाई फर्जी कागजात पेश गरेकोमा गिरफ्तार गर्यो । ‘मेरो सेवा अवधिभर मैले अहिलेसम्म यस्तो घटनाको अनुसन्धान गरेको थिइनँ । जयरामले राम्रै चाल चालेका थिए । तर अपराधीले केही न केही कमजोरी गर्छ भन्ने चाल पाएका थिएनन्,’ प्रहरीका अनुसन्धान अधिकृत पासवानले भने ।
गत जुलाईमा अभियुक्तलाई कानुनी सजायबाट छुटकारा दिलाउन झुक्याउने काम भएको भन्दै अदालतले फेरि मुद्दा अघि बढायो । आमाले अदालतमा पुगेर निरन्तर निरजको गिरफ्तारीको आदेश दिन माग गरिरहिन् । कागजी रूपमा मृत्यु भएको नौ महिनापछि निरज मोदी स्वयं अदालतमा उपस्थित भए । अदालतमा उपस्थित भएर मोदीले इन्कारी बयान दिए ।
गत महिना मात्रै अदालतले निरज मोदीलाई दोषी ठहर गर्दै १४ वर्ष जेल सजायको फैसला सुनायो । पीडित पक्षलाई क्षतिपूर्ति स्वरूप ३ लाख रूपैयाँ उपलब्ध गराउन आदेश दियो । अहिले छोरोको फर्जी मृत्युप्रमाण पत्र पेश गर्ने राजाराम पनि सात वर्षका लागि जेलमा छन् । ‘सन् २०१८ मा त्यो पिपाशुले मेरी छोरीको अस्मिता लुटेको थियो । म न्यायका लागि तीन वर्ष धाएँ । तर अकस्मात उसको वकिलले उसको मृत्युको प्रमाण अदालतमा बुझाएर मुद्दा बन्द गरिदियो । यो कसरी हुनसक्छ ?’ पीडितकी आमाले भनिन् ।
पीडितकी आमाका अनुसार निरजको मृत्युका कागजात झूठा रहेको प्रमाणित गर्नका लागि धेरै खर्च लाग्ने वकिलले बताएका थिए । जेलबाट बाहिर निस्किएपछि फेरि बदला लिन सक्ने भन्दै त्रास पनि देखाए । ‘मैले जतिसुकै पैसा लागोस् सत्य पत्ता लगाएर छोड्छु भन्ने अठोट लिएँ,’ पीडितकी आमाले भनिन् ।
पीडित पक्ष निकै ग्रामीण इलाकामा बस्छन् । त्यहाँ रोजगारी पनि नभएकाले बुवा दक्षिणी प्रान्तमा कमाउनका लागि गएका छन् । त्यहाँबाट पठाएको पैसाले उनीहरूको गुजारा चलेको छ ।
सन् २०१९मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका शतप्रतिशत गाउँमा दिसापिसाबका लागि शौचालयको प्रबन्ध भएको दाबी गरेका थिए । तर अझै पनि विवशता उस्तै छ । बलात्कृत बालिका पनि शौचका लागि ऊखु बारी पुगेकी थिइन् । त्यही मौकामा निरज मोदी पछाडिबाट आएर बालिकाको मुख थुनेर जबरजस्ती करणी गरेका थिए । ‘त्यस घटनापछि मेरी छोरीको जीवन नै अन्धकारमय छ,’ पीडितकी आमा भन्छिन् ।
घटनाको १० दिनपछि मात्रै पीडितले आमालाई सुनाएकी थिइन् । त्यसलगत्तै आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित बालिकाले निरजले स्कुलमा पनि आफूलाई धेरै पिट्ने गरेको बयान प्रहरीलाई दिइन् ।
निरज गिरफ्तार भएपछि मात्रै बालिका स्कुल गएकी थिइन् । दुई महिनासम्म बालिका स्कुल गए पनि निरज धरौटीमा रिहा भएपछि जेल सजाय नसुनाउँदाको अवधिसम्म उनी स्कुल जान सकिनन् ।‘मेरी छोरीको विद्यार्थी जीवन समाप्त भइसक्यो । मलाई डर छ अब ऊ बाहिर पनि जान सक्दिनँ र उसको विवाह पनि हुनेछैन,’ पीडितकी आमाले भनिन् ।
पीडकलाई सजाय दिलाएर घर फर्किए पनि पीडितकी आमा पिरोलिएकी छन् । ‘मैले गाउँ परिषद् र न्यायिक अधिकारीहरूलाई सत्य पत्ता लगाउन दबाब दिइरहेँ । सत्य बाहिर आएपछि पीडकले सजाय पायो यसमा म खुशी छु,’ पीडितकी आमा भन्छिन्, ‘तर मेरो छोरीको जीवन त अन्धकारमय छ । अब उसको जीवनमा कहिले उज्यालो छाउला मलाई यो प्रश्नले सधैँ घोचिरहन्छ ।’
- बीबीसी हिन्दीबाट