प्रदेशलाई पनि शिक्षाको अधिकार आवश्यक छ- मुख्यमन्त्री शालिकराम जमकट्टेल | Education Patra

प्रदेशलाई पनि शिक्षाको अधिकार आवश्यक छ- मुख्यमन्त्री शालिकराम जमकट्टेल


एजुकेशनपत्र ।  प्रदेश सरकारलाई शिक्षाका लागि अधिकार नरहेको बताउँदै शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट पनि योगदान दिन आफू इच्छुक रहेको वाग्मति प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बताएका छन्। बुधबार काठमाडौंको ज्ञानोदय माध्यमिक विद्यालयमा आयोजना गरिएको बिदाइ, सम्मान तथा आइसिटी ल्याबको उद्घाटनका क्रममा उनले सो कुरा बताएका हुन्।

मुख्यमन्त्री जमकट्टेलले नेपालको प्रमुख पेसाको रूपमा रहेको कृषि क्षेत्रको विकासका लागि शिक्षामै कृषिको विषयमा पठनपाठन हुन आवश्यक रहेको बताए। प्रदेश सरकारबाट यसका लागि आह्वान गर्दा प्रस्तावहरू नआएकोमा दुःख व्यक्त गर्दै उनले ज्ञानोदयलाई धादिङमा कृषि विद्यालय सञ्चालन गर्न आग्रह गरे। यसका लागि आफूले चाहिने सहयोग गर्ने वचन पनि व्यक्त गरे।

कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले आफ्नो घरछेउ रहेको विद्यालयले गरेको उन्नतिले आफू अत्यन्त हर्षित भएको बताउँदै विद्यार्थीलाई अनुशासित जीवन जिउन आग्रह गरे।

यसैगरी विशेष अतिथि काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विद्यार्थी जीवन चुनौतीपूर्ण हुने र विद्यालयमा बसुन्जेलसम्म विद्यालय राम्रो लाग्दैन तर विद्यालय छोडिसकेपछि शिक्षकका कुरा सुन्न पुनः विद्यालय जाऊँ भन्ने लाग्ने बताइन्। उनले शिक्षाका लागि पढ्ने मात्र होइन, आफ्नो रुचिका विषय पनि अध्ययन गरिरहनुपर्नेमा जोड दिइन्।

केन्द्रीय शिक्षक संघका सदस्य सुन्दर पन्तले ज्ञानोदय मावि नेपालका उत्कृष्ट विद्यालयहरूमध्ये उत्कृष्ट विद्यालय हुन सफल भए पनि नमुना विद्यालय घोषणा हुन नसक्नु दुःखद रहेको बताए। उनले शिक्षा ऐनमा भएका विकृति विसंगति हटाउन पनि शिक्षक र विद्यार्थीहरू लाग्नुपर्ने बताए।

यसैगरी अखिल नेपाल शिक्षक संघका अध्यक्ष शंकर अधिकारीले शुभकामना मन्तव्य राख्दै ज्ञानोदय माविले नेपालका सामुदायिक विद्यालयहरू पनि गुणस्तरीय रहेको प्रमाण प्रस्तुत गरिरहेको बताए। कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले नमुना विद्यालयका लागि जग्गाको कुरा प्रमुख रहेकाले विद्यालय उत्कृष्ट हुँदा पनि नमुना विद्यालय हुन नसक्ने प्रावधान सच्याउन आवश्यक रहेको बताए। उनले परीक्षामा पाइने ग्रेडभन्दा पनि व्यावहारिकता महत्वपूर्ण हुने धारणा राखे।

कार्यक्रममा काठमाडौं–१३ का वडासदस्य रामबाबु कोइराला, कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी, समाजसेवी सुमन साय्मि, यशोधरा छात्रवृत्तिका दाता यशोधरा पन्तलगायतले विद्यार्थीलाई प्रोत्साहन गरेका थिए। साथै विद्यालयका शिक्षिकाहरूलाई सम्मान गरिएको थियो भने २०७६, ७७ र ७८ सालमा +२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई यशोधरा छात्रवृत्ति तथा सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा ज्ञानोदयको स्मारिका ज्ञानोदय हेराल्डको पनि विमोचन गरिएको थियो।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्