निष्णु थिङ
हाम्रा विश्वविद्यालयमा कार्यरत शिक्षकमा प्राज्ञिक इमानदारीको चरम अभाव छ, त्यसैले त्यहाँका कक्षाकोठामा लोकतन्त्रको प्रत्याभूति हुन सकेको छैन
विश्वविद्यालय दुनियाँभर अहिलेसम्म उपलब्ध सबै ज्ञान मिमांशाको संश्लेषण गर्ने थलो हो । मानवजातिले हासिल गरेका सबै ज्ञानविज्ञानबारे बौद्धिक विश्लेषण र थप नयाँ ज्ञानको खोजीका लागि विश्वविद्यालयले काम गरिरहेको हुन्छ । सबैखाले ज्ञानको केन्द्र नै अचेल विश्वविद्यालय हुने गरेको छ । त्यस्तो ज्ञानको केन्द्रमा लोकतन्त्रको अवस्थाचाहिँ कस्तो छ ?
विशेषगरी, नेपालको सन्दर्भमा यसको विवेचना गर्न आवश्यक छ । भर्खरै आमनिर्वाचन सम्पन्न भयो, पाँच वर्षमा एकपटक मत दिनु मात्र लोकतन्त्र होइन । लोकतन्त्रलाई पाँच वर्षमा एकपटक गरिने मत लगानीको घेरामा सीमित गरिनु हुँदैन । लोकतन्त्र त फराकिलो र व्यापक छ । यसै सेरोफेरोमा नेपालका विश्वविद्यालयमा लोकतन्त्रको स्थितिबारे विमर्श गरौँ ।
प्रत्येक आमनिर्वाचनमा मत हाल्ने काम हुँदै गए पनि हाम्रो समाजमा लोकतन्त्र साँघुरिँदै गइरहेको छ । विश्वका सबैभन्दा ठूलो लोकतान्त्रिक भनिने देश भारतमा अहिले लोकतन्त्र भाजपाका लागि मात्रै छ । भाजपाको हिन्दू राष्ट्रवादी र कट्टरपन्थी विचारसित असहमति राख्ने वा विश्वस्त नहुने जोकोहीका लागि त्यहाँ लोकतन्त्र केवल ‘लिप सर्भिस’ हुँदै आएको छ । समाज र राज्यका सबै अवयवको तीव्र गतिमा अलोकतान्त्रीकरण र दलीयकरण भइरहेको छ । समाज र राष्ट्रमा लोकतन्त्र फस्टिँदै र फैलिँदै जरा गाड्न त विश्वविद्यालयका कक्षाकोठामा लोकतन्त्रको अभ्यास हुन जरुरी छ । जति धेरै मात्रामा लोकतन्त्रको अभ्यास विश्वविद्यालयका कक्षाकोठामा हुन पाउँछ समाजमा त्यसको हाँगाबिँगा त्यति नै फैलिन पाउँछन् ।
लोकतन्त्रको पहिलो सर्त हो, प्रश्न गर्न पाउनु र विनात्रास निर्धक्क प्रश्न गर्न पाउने वातावरण सिर्जना हुनु । प्रश्नको उत्तरमा चित्त नबुझे त्यसमा स्वस्थ बहस विमर्श गर्न पाउनु । हाम्रा विश्वविद्यालयका कक्षाकोठामा के वास्तवमा प्रश्नलाई स्वागत गरिन्छ ? के विद्यार्थीलाई प्रश्न गर्न प्रोत्साहित गरिन्छ कि निरुत्साहित गरिन्छ ? ज्ञानको मिमांशा गर्ने, नयाँ–नयाँ विषयमा अध्ययन, अनुसन्धान गर्ने र नयाँ–नयाँ ज्ञान उत्पादन गर्ने विश्वविद्यालयमै हो । प्रश्नले नै नयाँ–नयाँ आविष्कार र नवप्रवर्तनको ढोका खोल्ने गर्छन् ।
सर आइज्याक न्युटनले स्याउ बोटबाट तल किन भुइँमै खस्यो भन्ने प्रश्न आफैँले आफैँलाई नसोधेका भए के गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लाग्थ्यो ? त्यस्तै राइट ब्रदर्सले चराहरू कसरी उड्छन् ? के मानिस त्यसरी चराजस्तै उड्न सक्दैनन् ? भनेर नघोत्लिएका भए के हवाईजहाज त्यतिखेर बन्दो हो ? अथवा, स्टिभ जब्सले सूर्यमुखी फूलको गुणबारे प्रश्नसहित अध्ययन नगरेका भए एप्पल डिभाइसको आविष्कार हुन सक्दो हो त ? यस्तै प्रश्न नगरेका भए अहिलेको नवीन आविष्कार, सूचना प्रविधिमा विश्वले यति चाँडै फड्को मार्न सक्थ्यो होला त ? के मानव सभ्यता यहाँसम्म आउन सक्दो हो त ?
हाम्रा विश्वविद्यालयमा सामान्यतः प्रश्नलाई त्यति हार्दिकतासाथ लिइँदैन । शिक्षक र प्राध्यापकको पहिलो काम नै प्रश्न सोध्ने विद्यार्थीको सोच र प्रवृत्तिलाई प्रारम्भमै बन्ध्याकरण गर्नु हो कि जस्तो देखिन्छ । प्रश्न सोध्ने विद्यार्थीलाई बढ्ता जान्ने भएको भनेर अपमान गरिन्छ, हाम्रा विश्वविद्यालयमा । विद्यार्थीको नयाँ–नयाँ विषयबारे जान्ने उत्सुकता नै मर्ने गरी शिक्षकले कक्षाकोठामा आफ्ना सहपाठीका अगाडि होच्याउने, उडाउने काम गर्छन् । आफ्ना सहपाठीलाई त्यसरी सबैसामु अपमानित गरेका दृश्य प्रत्यक्ष देखेका विद्यार्थीले शिक्षकलाई प्रश्न गर्ने हिम्मतै गर्न सक्दैनन् । विद्यालयको आँगनमा गएकै दिनदेखि विद्यार्थीको प्रश्न गर्ने क्वालिटी (क्षमता) लाई शिक्षक र विद्यालयको वातावरणले निरुत्साहित गर्दै घनले हिर्काउँछ ।
त्यसरी शिशुकक्षादेखि विश्वविद्यालय तहसम्म घनले हिर्काउँदा हिर्काउँदा ती विद्यार्थी विश्वविद्यालयबाट प्रमाण–पत्र लिएर समाजमा आउँदा भुत्ते भएर निस्कन्छन् । सानैदेखि प्रश्न गर्न दुरुत्साहन गर्ने वातावरण र वर्षौंको घनको हिर्काइ सहँदै आएको व्यक्तिमा निहित सिर्जनशीलता बाँझोपनमा परिणत हुन जान्छ । हुन त फलामलाई निश्चित आकारमा ढालेर धारिलो बनाउन घनको हिर्काइ आवश्यक हुन्छ, तर हाम्रा विश्वविद्यालयमा विद्यार्थीको व्यक्तित्व नै ध्वस्त हुने गरी ‘ह्याम्मरिङ’ भइरहेको छ ।
विश्वविद्यालयको कक्षाकोठामा विद्यार्थीको व्यक्तित्व प्रस्फुटन गराउनभन्दा संकुचन गराउने कार्य हुँदै छ । विश्वविद्यालयबाट त्यस्तो बाँझो दिमाग लिएर समाजमा आएका विद्यार्थीले समाजलाई खासै नयाँ ज्ञान, प्रविधि र आविष्कार दिन सक्दैनन् । एक प्रकारले हाम्रा विश्वविद्यालयले वर्षौंदेखि आज्ञाकारी नोकरशाह उत्पादन गर्दै आएका छन् । एवंरीतले मेसिनरी पार्टपुर्जा उत्पादन गर्ने काम हाम्रा विश्वविद्यालयको मुख्य पेसा नै भएको छ ।
केही वर्षदेखि पुनः सेमेस्टर प्रणालीमा हाम्रा विश्वविद्यालय गएका छन् । सबै प्रणालीका आआफ्नै फाइदा र बेफाइदा हुन्छन् नै । हाम्रो सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालय पहिला किन सेमेस्टरबाट वार्षिकमा आयो र अहिले किन वार्षिकबाट एकाएक सेमेस्टरमा गयो ? त्यसमा पर्याप्त बहस भएन, हुन सकेन । सेमेस्टर प्रणालीमा लैजान दाताहरूको प्रत्यक्ष प्रभाव रहेकामा द्विविधा छैन ।
तुलनात्मक रूपमा प्रश्न गर्ने वातावरणको दृष्टिकोणले वार्षिकभन्दा सेमेस्टर प्रणाली प्रतिकूल देखिन्छ । सेमेस्टर प्रणालीमा आन्तरिक मूल्यांकनलाई विशेष महत्व दिइएको हुन्छ । कक्षाशिक्षकले निश्चित आन्तरिक मूल्यांकनमा विद्यार्थीलाई ग्रेडिङ गर्छन् वा अंक प्रदान गर्छन् । उदाहरणका लागि त्रिविमा आन्तरिक ४० प्रतिशत र बोर्ड ६०, पोखरा विविमा आन्तरिक ६० प्रतिशत र बोर्ड ४० प्रतिशतमा अंकभार विभाजन गरिएको हुन्छ ।
हाम्रा विश्वविद्यालयमा सामान्यतः विद्यार्थीका प्रश्नलाई हार्दिकतासाथ लिइन्न । शिक्षक र प्राध्यापकको पहिलो काम नै प्रश्न सोध्ने विद्यार्थीको सोच र प्रवृत्तिलाई ‘बन्ध्याकरण’ गर्नु हो कि जस्तो देखिन्छ । त्यहाँका कक्षाकोठामा प्रश्न सोध्ने विद्यार्थीलाई बढ्ता जान्ने भएको भनेर अपमानित गरिन्छ ।
आन्तरिक मूल्यांकनमा टर्म पेपर, पुस्तक समीक्षा, प्रस्तुतीकरण, मिड टर्म र इन्ड टर्म हुन्छन् । ती आन्तरिक परीक्षामा शिक्षकले कम ग्रेडिङ गर्छन् कि भन्ने त्रासले विद्यार्थीले कक्षामा प्रश्न गर्ने हिम्मत नै गर्दैनन् । कतिपय शिक्षकले त विद्यार्थीलाई पहिलो दिनदेखि नै डोमिनेट गर्छन् र मनोवैज्ञानिक रूपमा त्रसित र आतंकित बनाउँछन् । विद्यार्थीले प्रश्न गर्दा रिसाउने गर्छन् र प्रत्युत्तरमा कतिपयले तिखो जवाफ दिन्छन् ।
त्यसैले, शिक्षक रिसाउलान् र आफूलाई कम अंक वा ग्रेड दिइएला भन्ने डरले कक्षामा शिक्षकलाई प्रश्न गर्नुभन्दा उनको भक्त बन्नुमै आफ्नो कल्याण देख्छन् । त्यसकारण उनीहरू कक्षामा केवल असल भक्तजन, दर्शक र प्रशंसक बन्छन् । शिक्षकले जे पढाए पनि, जसरी पढाए पनि र जस्तो पढाए पनि उनैको जयजयकार गर्छन् । दक्षिण एसियामा प्राचीनकालदेखि गुरुकुल परम्परा रहँदै आएको छ । गुरुकुल परम्परामा गुरु नै सर्वेसर्वा हुने भएकाले गुरुलाई प्रश्न गर्ने कसैले हिम्मत गर्दैनन् । अनावश्यक रूपमा गुरुद्वारा दण्डित हुनुभन्दा असल चेला बन्ने ध्याउन्नमा विद्यार्थीहरू केन्द्रित हुन्छन् । विद्यार्थीले शिक्षकको ‘हनुमान्’ बन्नुमै आफ्नो कल्याण देख्छन् ।
डोरबहादुर विष्टले ‘विकास र भाग्यवाद’ पुस्तकमा नेपाली समाजको चाकरी गर्ने सामन्ती संस्कारलाई गहिरोसित विश्लेषण गरेका छन् । त्यस्तै, विश्वविद्यालयको कक्षामा पनि विद्यार्थीले शिक्षकलाई चाकरी या जिहजुरी गर्नैपर्ने जबर्जस्त वातावरण तयार पारेको छ । जसले प्रश्न सोध्छन्, तिनले आफ्नो अपमान गरेको शिक्षकले ठान्छन् । तिनले आफ्नो सम्मान नगरेको र चाकरी नगरेको ठान्ने प्रवृत्तिले गर्दा कक्षाकोठामा विद्यार्थीको लोकतन्त्र धरापमा छ । विद्यार्थी र शिक्षकको सम्बन्ध शासक र शासित (रुलर एन्ड रुल्ड) को जस्तो छ । हाम्रा शिक्षक र प्राध्यापकहरू विद्यार्थीमाथि गभर्नरजस्तो व्यवहार गर्छन् ।
यस्तो सम्बन्धको धरातलले गर्दा पनि कक्षाकोठामा लोकतन्त्रको अभ्यास विद्यार्थीले गर्न पाउँदैनन् । विद्यार्थीहरू निरीह हुन्छन्, कक्षाकोठामा निष्क्रिय बस्छन् । विद्यार्थी जति निष्क्रिय बस्छन्, त्यति नै सिकाइको गुणस्तर बढ्न सक्दैन । अहिले पनि विश्वविद्यालयमा लेक्चर विधिमै पढाइन्छ । यस विधिका कारण पनि विद्यार्थी प्यासिभ लिस्नर (निष्क्रिय स्रोता) बन्न बाध्य हुन्छन् ।
घन्टौँसम्म शिक्षकको लेक्चर सुनेर बस्नुपर्दा कक्षाकोठा पट्यारलाग्दो हुन्छ । एकोहोरो लेक्चर सुन्न बाध्य विद्यार्थी देख्दा यस्तो लाग्छ, विद्यार्थी कुनै बोरा हो र त्यसको मुख खोलेर सामान हाल्नु नै शिक्षकको प्रमुख धर्म हो । आजको सूचना र प्रविधिको जमानामा पनि शिक्षकको घन्टौँ लेक्चर सुन्नुपर्ने बाध्यताले गर्दा पनि विद्यार्थीमा ‘बाँझोपन’ वृद्धि भइरहेको छ । कुनै सिर्जनात्मकता र आलोचनात्मक चेत (क्रिटिकल थिंकिङ) को विकासमा यस्तो भाषण विधिले खासै योगदान गर्दैन । कक्षाकोठामा यस्तो निरस लेक्चर सुन्दा लाग्छ, ‘गुगल गुरु’भन्दा पनि भेट्रान गुरुले बोल्दै छन् ।
हाम्रो विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति दक्ष र सिर्जनशील नहुनुका कारण यस्तै विद्यार्थीले आफ्नो कक्षाकोठामा लोकतन्त्रको अभ्यास गर्न नपाउनाले हो । त्यही कारणले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरममा हाम्रा विद्यार्थीले प्रतिस्पर्धा गर्न सकेका छैनन् । हाम्रा विश्वविद्यालयमा कार्यरत शिक्षकमा प्राज्ञिक इमानदारीको चरम अभाव छ, त्यसैले त्यहाँका कक्षाकोठामा लोकतन्त्रको प्रत्याभूति हुन सकेको छैन । विद्यार्थीका हरेक प्रश्नको ज्ञान शिक्षकमा नहुन सक्छ । त्यस्तो अवस्थामा यो मेरो विज्ञताको क्षेत्र होइन भनेर इमानदारीपूर्वक स्विकारेर सम्बन्धित विषयका विज्ञसित सम्पर्क गर्न विद्यार्थीलाई प्रोत्साहित गर्नुभन्दा हकारपकार गर्ने कारणले गर्दा पनि विद्यार्थी आफ्नो लोकतान्त्रिक अभ्यास गर्न चाहँदैनन् ।
त्यस्ता कक्षाकोठाबाट उत्पादित जनशक्ति नै समाजका विभिन्न क्षेत्रमा आबद्ध हुन्छन् । समाज र देशको नेतृत्व पनि तिनैले गर्दै जाँदा त्यसको असर पनि क्रमशः समाज र देशमै देखा पर्दै जान्छ । तसर्थ, समाज र राष्ट्रमा लोकतन्त्रको बिरुवा हुर्कनका लागि विश्वविद्यालयका कक्षाकोठामा अभ्यास हुने लोकतन्त्रले महत्वपूर्ण स्थान राख्छ । उन्नत लोकतन्त्रका लागि विश्वविद्यालयका कक्षाकोठामा लोकतन्त्र सुनिश्चित हुन अति आवश्यक छ । त्यसका लागि शिक्षकहरू मात्रै लोकतान्त्रिक भए पुग्छ ।
(थिङ नीति अनुसन्धान प्रतिष्ठानमा विज्ञका रूपमा आबद्ध छन्)
नयाँपत्रिकाबाट