प्रहरीले सिमानामा सीसीटीभी क्यामरा जडान गरी निगरानी बढाउने | Education Patra

प्रहरीले सिमानामा सीसीटीभी क्यामरा जडान गरी निगरानी बढाउने


काठमाडौँ । सशस्त्र प्रहरीले नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सिमानामा सीसीटीभी क्यामरा जडान गरी निगरानी बढाउने महत्वाकाङ्क्षी योजनासहित भाबी कार्ययोजना सार्वजनिक गरेको छ।

२०५८ सालमा स्थापना भएको सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा, आतङ्कवादी क्रियाकलाप नियन्त्रण, ऐतिहासिक तथा महत्वपूर्ण संरचना र राजस्व कार्यालय सुरक्षालगायत विभिन्न १२ वटा जिम्मेवारी तोकिएको छ। सशस्त्र प्रहरीले यसै हप्ता प्रतिआतङ्कवाद एकाइ गठन गरी झापा, बारा, दाङ, बर्दिया र दार्चुलालगायतका जिल्लामा थप २१ वटा सीमा सुरक्षा बल (बीओपी) स्थापना गरेको छ। योसँगै बीओपीको सङ्ख्या २४९ पुगेको छ। सशस्त्र प्रहरी मुख्यालय हलचोकमा सोमबार पत्रकार सम्मेलन गरी सशस्त्रले सीमा सुरक्षा र विपत् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने घोषणा गरेको हो।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी योजना सार्वजनिक गर्दै भन्नुभयो, “सीमामा हुने अवाञ्छित गतिविधि रोक्न कडा निगरानी गरिनेछ। त्यसका लागि ठाउँठाउँमा सीसीटीभी जडान गर्नुका साथै गस्ती बढाइनेछ।” संरचनागत सुधारका कार्यअन्तर्गत सशस्त्रले सीमा सुरक्षा विभागको स्थापना गरी सीमाक्षेत्रमा हुने गतिविधि केन्द्रबाटै अनुगमन गर्ने व्यवस्था गरेको छ।

गत वर्ष सङ्गठनले गरेका प्रगति, भाबी योजना र सङ्गठन सुधारका कार्ययोजना सार्वजनिक गर्दै नीतिगत सुधारअन्तर्गत शान्ति मिसन छनोट निर्देशिका संशोधन गरी सेवा अवधिका आधारमा सहभागी गराउने प्रणाली विकास गरिएको छ। सङ्गठनलाई राजनीतिक हस्तक्षेप र अनावश्यक चलखेलबाट मुक्त बनाउने दाबी गरिएको छ। अनावश्यक चलखेल र शक्ति केन्द्रको प्रभावमा सरुवाबढुवा हुने कार्य रोक्न कमान्डको पूर्वानुमान सूची पहिले नै प्रकाशन गरी सोहीअनुसार कार्यान्वय गर्ने नीति अङ्गीकार गरिएको छ।

कूटनीतिक नियोग, विदेशी दातृनिकायमा अदृश्य रूपमा हुने भेटघाट रोक्न सशस्त्रले स्थायी आदेश नै जारी गरेको छ। सादा पोसाकमा खटिएका सशस्त्र प्रहरीको गतिविधि अपारदर्शी देखिएपछि सादा पोसाकमा खटाउने व्यवस्था नै खारेज गरिएको छ। संस्थागत सुधारअन्तर्गत सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन खटिने सशस्त्र प्रहरीलाई नापी विभागबाट स्ट्रिप नक्सासम्बन्धी विशेष तालिम दिने, सीमा विवाद समाधान गर्न सशस्त्र प्रहरी प्रमुख र भारतीय सीमा सुरक्षा बल एसएसबीका प्रमुखबीचको समन्वयात्मक वार्षिक बैठक नियमित गर्ने जनाइएको छ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्