युवा रोजगारी र उधमशीलता | Education Patra

युवा रोजगारी र उधमशीलता


बालकृष्ण घिमिरे । युवा भन्नाले १६ देखि ४० वर्ष उमेर समूहको व्यक्तिलाई जनाउँछ । युवा विकासका अग्रदूत, परिवर्तनका संवाहक, देश निर्माणका प्रमुख स्रोत तथा राष्ट्रका धरोहर एवं अमूल्य सम्पत्ति हुन्। युवा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका कारक पनि हुन्। युवाको परिचालन, सहभागिता र नेतृत्व विकास विना कुनै पनि देशले विकासको अपेक्षित लक्ष्य हासिल गर्न सक्दैन ।

नेपालको कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवाशक्ति रहेको छ (“राष्ट्रिय युवा नीति, २०७२”) । विश्व युवा विकास सूचकाङ्क, २०१६ अनुसार नेपाल ७७ औँ स्थानमा र रोजगारी तथा अवसरमा ६० औँ स्थान रहेको छ ।

उद्यम र रोजगार फरक–फरक कार्य हो। तर हामीले परम्परागतरूपमा यी दुवै कार्य समान हो भन्ने किसिमले बुझ्छौं। झन् नेपालीहरुको मस्तिष्कमा व्यापर र उद्यम पर्यायबाची हो भन्ने छाप लागेको छ। अन्तर खोज्ने प्रयास गरेनौं। किन होला?

उद्यम भनेको नितान्त नौलो सोच सहितको नौलो किसिमको व्यापार गर्नु हो। परम्परागतरूपमा चलिआएको व्यापारको अनुकरण नगरेर नयाँ किसिमको व्यापार गर्नु र ग्राहकहरूलाई त्यस किसिमको व्यापारमा आबद्ध गराउनु हो।

त्यसकारण उद्यमीहरूले नयाँ नयाँ किसिमका व्यापारको खोजी गर्दछन् र त्यो नयाँ व्यापारमा संलग्न हुन सामान्य नागरिकलाई प्रेरित गर्दछन्। फेसबूक, माइक्रोसफ्ट, गुगल, उबर, भाइबर, एपल, एमेजन आदि उद्यम हुन्, व्यापार होइन। यी नितान्त नौला व्यापार हुन्। पहिले नगरिएका नविन कार्य हुन्। उद्यमशीलतालाई उत्पादनको महत्त्वपूर्ण साधनको रूपमा हेरिन्छ ।

रोजगार भनेको पेशालाई दर्साउँछ । रोजगारी भनेको आर्थिक गतिविधि हो, जस अन्तर्गत मानिसहरूले अरूका लागि काम गर्छन् र यसको सट्टामा पारिश्रमिक पाउँछन् । पारिश्रमिक तलब वा ज्यालाको रूपमा हुने गर्छ । रोजगारदाता सरकार, सरकारी उद्यम, गैर सरकारी सङ्घसंस्था वा कुनै पनि निजी सङ्गठन हुन सक्छ । रोजगारी स्थायी, अस्थायी, आंशिक वा आकस्मिक हुन सक्छ ।

व्यापार भनेको परम्परागतरूपमा चलिआएका वाणिज्य कार्यहरूको अनुपालन वा अनुसरण गर्नु हो। नयाँ वाणिज्य सोच ल्याउनुहोइन। कसेलै कुनै किसिमको होटल खोल्छ, रेस्टुरेन्ट सञ्चालन गर्छ, कलेज सञ्चालन गर्छ, यातातात सेवा प्रदान गरेर मुनाफा प्राप्त गर्दछ भने त्यो व्यापार हो, उद्यम होइन। यस किसिमको परम्परागत व्यापार सञ्चालन गर्दा सञ्चालकले आफ्नो रचनात्मक सोचको प्रयोग कुनै किसिमबाट पनि गरेको हुँदैन।

केवल कसैले गरेको कार्य को अनुकरण (नक्कल) मात्र गरेको हुन्छ। उसले नयाँ किसिमको सोच ल्याएर, त्यो सोचको प्रयोग व्यापारिक क्षेत्रमा गरेको हुँदैन। परम्परागत किसिमको व्यापार गर्ने व्यक्तिले कुनै पनि किसमको जोखिम उठाउन चाहँदैन र अरुले हिंडीरहेकै सजिलो बाटो नै हिंड्न चाहन्छ। तर उद्यमीले भने जोखिम वहन गर्दछ। र ‘मुनाफा भनेको जोखिम वहनको पुरस्कार हो’ भन्ने अर्थशास्त्रको परिभाषामा पूर्ण विश्वास गर्दछ।

पुरानो प्रसङ्गमा फर्कौं। केवल २३ वर्षको उमेरमा बिल गेट्स माइक्रोसफ्टका प्रमुख भइसकेका थिए। उनले नयाँ किसिमको व्यापार सृजना गरिसकेका थिए। यो उमेरमा हाम्रो समाजमा बहुसङ्ख्यक युवा अभिभावक (बाबुआमा) को खर्चमा पढिरहेका हुन्छन्। आफ्नै खुट्टामा उभिएर आत्मनिर्भर हुन सकेका हुँदैनन्। हाम्रो समाजले आत्म निर्भर हुन नै सिकाउँदैन। शिक्षा नीतिले पनि सिकाउँदैन। उमेर पुगेका युवाहरू पनि बाबुआमासँग एउटै बृहत् परिवारमा बस्छन्।

आफ्नो स्वतन्त्र अस्तित्व एवं परिवेश बनाउन प्रोत्साहित हुँदैनन्। कतिपय युवा बाबुआमाको सम्पत्तिमा गर्व गरेर, आफू केही काम नगर्ने पनि देखिएको छ। यस किसिमको मनोवृत्तिले कुनै पनि व्यक्तिलाई उद्यमी हुन दिंदैन। उद्यमी हुन स्वतन्त्र परिवेश, स्वतन्त्र चिन्तन जरुरी छ। सानै उमेरदेखि उद्यमीले सामाजिक वातावरण पाएको हुनाले युवाहरूमा पनि केही नयाँ काम (व्यापार) गरौं भन्ने सोचको विकास भएको हुन्छ। नयाँ सोच सहित नयाँ किसिमको कार्य गर्न प्रेरित भएका हुन्छन्।

हामीलाई उद्यमी बन्न नदिन हाम्रो समाज झनै बढी दोषी छ। हरेक व्यक्तिलाई चाहिने, बाँच्नका लागि आधार बनेको आम्दानी तथा रोजगार बारे हाम्रो समाजमा कमै कुरा हुन्छ। राजनीतिबारे बढी चर्चा हुन्छ। अनावश्यक चर्चा हुन्छ।

उद्यम विकास भनेको तुरुन्तै फाइदा हुने क्षेत्र होइन। यसमा लगानी लगाएर फाइदा लिन धेरै पर्खनुपर्छ। तर व्यपारमा लगानी गरेको छोटो समयमा नै प्रतिफल पाउन सकिन्छ। व्यपार र उद्यमको फरकलाई छोटकरीमा यसरी भन्न सकिन्छ व्यापार भनेको वस्तु किन्नु र केही नाफा लिएर बेच्नु हो यसलाई अङ्ग्रेजीमा ट्रेडिङ भन्ने गरिन्छ भने उद्यम भनेको कच्चा समान किनेर प्रशोधन गर्ने र नयाँ ‘प्रोडक्ट’ बनाएर बेच्ने अवस्थामा पुर्याउनु हो। उद्यमले प्रतिफल दिन लामो प्रक्रिया पूरा गर्नुपर्छ भने समय पनि धेरै लाग्छ।

देशमा उद्यमको विकास हुँदा त्यसले रोजगारीको सृजना गर्छ, बेरोजगारी घटाउँछ, व्यक्तिको आय बढाउँछ, राज्यले उद्यमबाट कर उठाउने हुँदा राज्यको आम्दानी बढ्छ, व्यवस्थापकीय क्षमताको विकास हुन्छ र जोखिम लिने आँट पलाउछ, आयात घट्छ र निर्यात बढाउने सम्भावना बढ्छ, राज्यको व्यापार बढ्छ, व्यक्ति-व्यक्तिमा र दक्षताको विकास हुन्छ। अनुसन्धान र खोजको विकास भएर नयाँ नयाँ प्रविधि पहिल्याउन सकिन्छ। यी र यस्ता अनेक फाइदा हुन्छन् यदि देशमा उद्यमको विकास भएमा।

दीर्घकालीन रूपमा आर्थिक समानता, सामाजिक न्यायको सुनिश्चितता गर्न, परिवर्तनको लाभ वर्तमान पुस्ताले नै प्राप्त गर्ने, नागरिकको जीवनको गुणस्तर वृद्धि गरी विकास र समृद्धि हासिल गर्ने कुरा प्राथमिकतामा राखिनुपर्छ । तीव्र आर्थिक वृद्धिले व्यक्तिमा पूँजीको अत्याधिक केन्द्रीकरण हुन सक्ने हुँदा सरकारले वितरण र पुनर्वितरणका विवेकशील नीतिहरू लागू गर्नुपर्छ ।

साना तथा मझौला उद्यमहरूलाई प्रोत्साहित गर्ने नीतिगत, कानुनी, प्रकृयागत र व्यावहारिक रूपमा सहजीकरण गर्नु आवश्यक देखिन्छ ।

उद्यमशील व्यक्ति सृजनशील हुन्छ अथवा भनौँ सृजनशील भएर नै उद्यमशील हुन सकिन्छ । एउटा सफल उद्यमी भनेको एउटा कलाकार सरह हो, जसरी एउटा सफल कलाकारले आफ्नो कलाकारितामा दिनानुदिन निखार ल्याउने कोसिस गर्दछ, त्यसैगरी एउटा सफल उद्यमीले पनि दैनिकरूपमा आफ्नो व्यवसायको प्रगतिमा निखार ल्याउने प्रयास गर्दछ। आफ्ना सेवाग्राहीहरूको सल्लाहलाई उसले सकारात्मक रूपमा लिने गर्छ र सोही अनुरूप आफ्नो वस्तु अथवा सेवाको गुणस्तरमा सुधार ल्याउँछ। बेरोजगार मानिसलाई कसरी समय कटाउने भन्ने हुन्छ तर उद्यमी व्यवसायीले समय हमेसा छोटो भएको महसुस गर्दछ।

उद्यमी व्यवसायीलाई समयको महत्व थाहा हुन्छ । ऊ समयलाई माया गर्दछ, आफ्नो व्यवसायलाई माया गर्दछ। यसरी मिहिनेतपूर्वक व्यवसाय सञ्चालन गरेर आफ्नो देशको नियम कानून अनुसार राज्यलाई करसमेत तिर्ने गर्दछ। ऊ समाजमा शान्ति स्थापना भएको र आफ्नो व्यवसाय निर्वाधरूपमा सञ्चालन भएको देख्न चाहन्छ । एउटा सफल व्यवसायी देशमा राजनीतिक स्थिरता, शान्ति, सुव्यवस्था र विधिको शासन चलेको हेर्न चाहन्छ। उसलाई देशको अगाध माया हुन्छ ।

शासन प्रणाली र विकासमा सार्थक सहभागिताको अवसर, क्षमता विकास, स्वरोजगार, रोजगार र आय आर्जनमा सहभागिता गराउनु, बैङ्क तथा वित्तीय संस्थाहरूको बढ्दो सञ्जालहरूबाट आर्थिक साधन, स्रोतहरूमा पहुँच, प्रविधिमा भएको विकासले प्रविधिको हस्तान्तरण र प्रयोग, रोजगारमूलक, व्यावसायिक तथा सीप विकास शिक्षा र तालिमको वृद्धि, वैदेशिक रोजगारीबाट प्राप्त शीप, अनुभव र पूँजीको उत्पादनशील क्षेत्रमा प्रयोग गर्दै आन्तरिक रोजगारीमा युवाहरूलाई अग्रसर गराउनु तीनै तहका सरकारको दायित्व हो।

नेपालको संविधान २०७२ मा मौलिक हकको रूपमा रोजगारीको हक र श्रमको हक पनि रहेको छ। यी मौलिक हकको कार्यान्वयन गर्न तथा रोजगारी प्रदान गर्न नेपाल सरकारले रोजगार तथा स्वरोजगार सम्बन्धी विभिन्न कार्यक्रमहरू युवाहरू कै लागि भनेर सञ्चालन गर्दै आएको छ।

अबको समयमा हामीले देश, समाज र परिवारलाई धनी बनाउन उद्यमीहरूको उत्पादन गर्न जोड दिन आवश्यक छ। देशको समाजिक परिवेश र शिक्षा नीतिलाई पनि उद्यमी उत्पादन गर्ने किसिमको तुल्याउन आवश्क छ। पूँजीको बृद्दि, आन्तरिक रोजगारीको प्रवर्धन, प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि, बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य र उत्पादकत्व वृद्धि गर्न श्रम बैंकको स्थापना गर्नु पर्दछ।

यसले युवाहरूलाई स्वरोजगार, व्यावसायिक, आत्मनिर्भर हुन, नवीन सोच र प्रविधि प्रयोग गर्न, पूँजी निर्माण र परिचालन गर्न, उद्यशील हुन, स्रोत साधनको अधिकतम प्रयोग गरी आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्न मद्दत गर्दछ। यसका लागि विगतमा गरिबी निवारण कोष तथा अन्य संस्थाद्वारा प्रवर्द्धित सामुदायिक संस्थाहरूमा छरिएर रहेको पूँजीलाई पूँजीकृत गर्न सकिन्छ। यस बैंकबाट युवाहरूले स्वरोजगार हुन अवसर प्राप्त गर्ने गरी विना धितो ऋण उपलब्ध गराउनु पर्दछ।

युवाहरूको जनसङ्ख्याको लाभलाई उच्चतम प्रयोग गरी “समृद्ध नेपाल र सुखी नेपाली” को दार्शनिक सोचको लक्ष्यलाई हासिल गर्न युवाका समस्याहरूलाई समाधान गर्नुपर्ने हुन्छ। राष्ट्रिय विकासमा युवाहरूको सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारहरूको पूर्ण उपयोग गर्ने वातावरण तयार गरी युवाको सर्वाङ्गीण विकास, सशक्तिकरण र युवा उद्यमशीलताका लागि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्ने संवैधानिक व्यवस्थाको कार्यान्वयनमा सबै पक्ष जबाफदेही, दायित्वबोध र जिम्मेवार हुनु पर्ने देखिन्छ।

कुनै पनि नेपाली नागरिकले बाध्यात्मक परिस्थितिले विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्न युवा शक्तिलाई स्वदेश मै स्वरोजगार तथा रोजगारको सिर्जना गरी समग्र राष्ट्रको विकासमा उनीहरूलाई शरीक गराउन सकियो भने मात्रै समतामूलक र समाजवाद उन्मुख समाज निर्माण गर्न सकिन्छ।

व्यक्तिगत, साझेदारी, सहकारी तथा सामूहिक प्रयासबाट उद्यमशीलता वा व्यवसायको विकास गर्न सकिन्छ । स्थानीय स्तरमा उपलब्ध, स्रोत, साधन, पूँजी तथा प्रविधिको उपयोगको साथै शीपमूलक तालीम र वित्तीय पहुँच विकास गरी उद्यमशीलता विकास गर्न सकिन्छ । पर्यावरणीय सहित उद्यमशीलता पनि अबको आवश्यकता हो । मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी, हृदयमा इमानदारी भएर अबको युवाहरूले उद्यमशीलतामा लाग्नु पर्छ । अघि बढौँ यो युग हाम्रो हो ।

बि.ई., काठमाडौं विश्वविद्यालय

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्